परिपक्वता देखाउँदै, विश्वास जगाउँदै

<p>काठमाडौं । सकारात्मक सोच, सकारात्मक विचार, सकारात्मक कार्यशैली चन्द्र प्रसाद ढकालको जीवन हो, दैनिकी हो । नेपालको अर्थतन्त्र संकटमा पर्यो, देश श्रीलंका बन्ने भयो, सरकारले कर्मचारीलाई तलब पनि खुवाउन नसक्ने भयो, युवापुस्ता विदेश पलायन भए, देशमा व्यवसायिक वातावरण छैन वा यस्तै यस्तै थुप्रै निराशाको विचारहरु धेरैले व्यक्त गर्दैछन् । तर ढकाल देशभर व्यवसायीमाझ आशा जगाउँदै [&hellip;]</p>

काठमाडौं । सकारात्मक सोच, सकारात्मक विचार, सकारात्मक कार्यशैली चन्द्र प्रसाद ढकालको जीवन हो, दैनिकी हो । नेपालको अर्थतन्त्र संकटमा पर्यो, देश श्रीलंका बन्ने भयो, सरकारले कर्मचारीलाई तलब पनि खुवाउन नसक्ने भयो, युवापुस्ता विदेश पलायन भए, देशमा व्यवसायिक वातावरण छैन वा यस्तै यस्तै थुप्रै निराशाको विचारहरु धेरैले व्यक्त गर्दैछन् । तर ढकाल देशभर व्यवसायीमाझ आशा जगाउँदै हिँडेको पाइन्छ ।

‘कोभिड महामारी र रसिया-युक्रेन युद्धको कारण अर्थतन्त्रमा नै समस्या देखिएको थियो । त्यसको प्रभाव नेपालमा पनि परेकै हो’ उनी भन्छन्-‘अब नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आउनेछ ।’

अर्थतन्त्रमा सुधारको संकेत देखिसकेको उनको विश्लेषण छ । ‘रेमिट्यान्सको आप्रवाह बढेको छ, विदेशबाट आउने पर्यटकको संख्या पनि बढ्न थालेको छ, विदेशी मुद्राको संचिति बढ्दै गएको छ, बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अवस्थामा पनि सुधार देखिएको छ,’ उनी भन्छन्-‘आउने दिनमा अर्थतन्त्र योभन्दा धेरै बिग्रिन्छ भन्ने मलाई लाग्दैन, केही न केही सुधार भएको छ, अब क्रमशः सुधारको बाटोमा हामी जाँदैछौं ।’

‘कारसहित केही वस्तुको आयातमा सरकारले प्रतिबन्ध लगाउने काम गर्यो, त्यसले गर्दा अहिले राजश्वमा ठूलो असर गरेको छ,’ उनी भन्छन्- ‘मंसिरपछि सरकारले सबै वस्तुको आयात खुला गरेको छ, अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, खाने तेल, औद्योगिक उत्पादनहरुको मूल्य पनि घट्न थालेका छन्, अब आर्थिक कारोबारसँगै सरकारी राजश्व वृद्धि हुने आशा गर्न सकिन्छ ।’

बैंक विरोधी आन्दोलनप्रति असहमत

आगामी चैत मसान्तमा नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन हुँदैछ । निर्वाचनबाट नयाँ नेतृत्वको आकांक्षा राख्दै आएका महासंघका उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई बैंक तथा वित्तीय संस्था विरुद्धको व्यवसायीहरुको आन्दोलनमा सडकमा उत्रेका छन् । कर्जाको व्याज वृद्धिले ठूलो मारमा परेको व्यवसायीहरुको मत पाएर निर्वाचन जित्ने उनीहरुको रणनीति देखिन्छ ।

यसरी हुँदै आएका आन्दोलन र महासंघका उपाध्यक्षहरुको सहभागिता भए पनि मुल नेतृत्व यस्तो आन्दोलनको विपक्षमा छ । महासंघले गत मंसिरमा यस्तो आन्दोलन स्थगित गर्न महासंघका सदस्यहरुलाई सर्कुलर नै गरेको थियो । महासंघका वर्तमान अध्यक्ष शेखर गोल्छाले बैंकर्स र व्यवसायीबीच द्वन्द्व हुनु ठिक नभएको बताउँदै समस्याको समाधान सडकमा नभई टेबल टकबाट खोजिनुपर्ने बताउँदै आएका छन् । बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पनि बैंक विरोधी आन्दोलनको खुलेर आलोचना गर्दै आएका छन् ।

भिडमा तालीका लागि मात्र गैरजिम्मेवार ढंगले विषयवस्तु नउठाउन सबैलाई आग्रह गरे । उनले नवलपुरमा आयोजित एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायी समूहसँग भने,’म निजी क्षेत्रका साथीहरुलाई पनि भन्न चाहन्छु, तपाईंहरु वास्तविक र व्यवहारिक बन्नुस्, त्यसबाट बाहिर गएर भिडमा लोकप्रिय बन्ने प्रतिस्पर्धा नगरौँ, सस्तो लोकप्रियताका लागि यस्ता गैरजिम्मेवार कुराका पछाडि नलागौं, यसले कुनै दिन हामीले कल्पना नगरेको संकट निम्ताउन सक्छ ।’

बैंकबाट लिएको कर्जाको व्याज तथा कर्जा तिर्न पर्दैन भन्दै केही व्यक्तिले बोल्ने गरेको बताउँदै ढकालले यसबाट अर्थतन्त्रमा ठूलो समस्या निम्तिन सक्ने बताए । ‘अहिले पनि बैंकबाट लिएको कर्जा तिर्न पर्दैन भन्ने आवाज सडकबाट आउन थालेको छ, यो डरलाग्दो अवस्था हो, हामीले समयमै यसलाई सम्बोधन गर्न सकेनौ भने यसले मुलुकको अर्थतन्त्रमा ठूलो संकट निम्ताउन सक्छ,’ उनले भने ।

‘बैंकको निक्षेप भनेको त आम जनताको पैसा हो । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएपछि तिर्दिन भन्नु गलत कुरा हो,’ उनी प्रष्ट छन् । यदि बैंकमा रहेको जनताको पैसा तिर्नुपर्दैन भनेर लोकप्रियताका लागि हामीले भन्यौ भने र बैंकलाई मात्र गाली गर्न लाग्ने भने त्यसले सबैलाई नोक्सान पुर्याउने उनको भनाई छ ।

उनी आफै पनि सबैभन्दा ठूलो बैंक ग्लोवल आईएमई बैंकका अध्यक्ष हुन् । १६ वर्षअघि स्थापना भएको यो बैंकमा उनी निरन्तर अध्यक्ष छन् । उनले बैंकिङ समस्या पनि बुझेका छन् र व्यवसायीका समस्या पनि बुझेका छन् । ‘‘कर्जाको व्याज ९/१० प्रतिशत भन्दा माथि पुग्दा व्यवसायीको प्रतिस्पर्धी क्षमता घट्छ । अहिले १४/१५ प्रतिशत व्याज पुगेको छ । यो अवस्था भनेको हुनुपर्नेभन्दा ५० प्रतिशतले बढी हो’’ उनी भन्छन्-‘‘महासंघका साथीहरुले मलाई भन्नुहुन्छ, तपाईले नेतृत्व गरेको बैंकले व्याज घटाउनु पर्यो, त्यसपछि अरुले पनि घटाउँछन् । तर साथीहरुले भनेजस्तो मैले चाहेर पनि कर्जाको व्याजदर घट्दैन । व्याजदर त कर्जाको माग र आपूर्ति तथा राष्ट्र बैंकको मौद्रिक नीतिले तय गर्ने हो ।”

सरकारसँग आर्थिक सम्वाद

महासंघको वरिष्ठ उपाध्यक्ष ढकालले सार्वजनिक मञ्चमा बोल्दा ढकालले सरकारले आर्थिक एजेण्डा जोड दिनुपर्यो भनेर भन्न भूल्दैनन् । अर्थतन्त्रका देखिएका समस्या, व्यवसायिका समस्या समाधानका विषयमा प्रधानमन्त्री, उपप्रधान मन्त्री तथा अर्थमन्त्री र गभर्नरहरुसँगको निरन्तर सम्वाद भैरहेकको उनले बताए । ‘हाम्रा केही मागहरु सम्बोधन भएका छन्, सरकार नीति करेक्सनको बाटो लिइसकेको छ । हामी फेरि पनि निरन्तर लाग्ने नै छौँ, उनले भने ।

‘हरेक सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने र निजी क्षेत्रको विकास गर्ने भनेर भन्ने गरेको सुनिन्छ तर व्यवहारमा हामीले दलहरुले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको महसुस गर्न सकेको छैनौ, मुलुकका औद्योगिक विकास र आर्थिक मुद्दा लिएर सरकारका विभिन्न निकायमा पुग्दा यो निजी क्षेत्रको मात्र एजेण्डा हो भन्ने गरेको पाइन्छ,’ उनको भनाई छ । हरेक नयाँ नीति तथा नियमहरु बनाउँदा निजी क्षेत्र तथा सरोकारवालाहरुसँग व्यापक छलफल गर्नु पर्नेमा उनले जोड दिँदै आएका छन् ।

ढकालले नीति नियम बनाउँदा सम्बन्धित पक्ष वा सरोकारवालासँग छलफल नगरी बनाउने गरेकोले त्यस्ता नीति नियम कार्यान्वयनमा कठिनाइ हुने र खोजेको उद्देश्य पनि प्राप्त हुन नसकेको बताए । अव्यवहारिक नीतिका कारण नेपालभित्रको उत्पादन वृद्धि हुन नसकेको उनले बताए ।

कृषि क्षेत्रको उदाहरण दिँदै उनले भने-“हामी हरेक स्थानीय तहदेखि केन्द्रसम्म कृषिलाई प्राथमिकतामा राख्ने गरेका छौ, सरकारले हरेक वर्ष कृषिलाई प्राथमिकतामा राखेर नीति नियमहरु बनाउँछ , तर हामी १८ अर्ब रुपैयाँको चामल, ९ अर्ब रुपैयाँको तरकारी आयात गछौँ, यही उत्पादन हुनसक्ने धेरै वस्तुहरु बाहिरबाट आयात गरेर खान्छौ । यसले के स्पष्ट पार्छ भने यहाँ नीति र कार्यान्वयनमा तालमेल छैन, कृषि मात्र होइन, सबै क्षेत्रमा यही समस्या छ,’ उनले भने ।

सूचना प्रविधि, शिक्षा, स्वास्थ्य लगायत सेवाको क्षेत्रमा नेपालले धेरै गर्न सक्ने सम्भावना भएको तर त्यसको उपयोग हुन नसकेको उनी बताउँछन् । ‘नेपालले टक्नोलोजीको क्षेत्रमा विश्वका जुनसुकै देशसँगपनि प्रतिष्पर्धा गर्नसक्ने अवस्था छ, नेपाली आइटी इन्जिनियरहरुले तयार गरेको सफ्टेवेयरहरु विश्वको कुनैपनि विदेशी आईटी कम्पनीको तुलनामा कमजोर छैनन तर नेपाली टेक्नोलोजीलाई अहिले प्रायोरिटि नदिएको हो की भन्ने मलाई लाग्छ प्राथमिकता,’ उनले भने ।

सर्वसहमतिमा नेतृत्व

चन्द्र प्रसाद ढकाल २०८० बैशाख १ गतेदेखि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्दैछन् । चैत २९ र ३० गते महासंघको वार्षिक साधारणसभा र महाधिवेशन हुँदैछ । उक्त अधिबेशनमा वरिष्ठ उपाध्यक्षसहित ५ पदाधिकारी र ५९ सदस्यीय कार्यसमिति सदस्य चयन हुनेछ । त्यसमा पनि कम्तिमा पदाधिकारीलाई सर्वसहमतिमा चयन गर्ने प्रयासमा ढकाल लागेका छन् । उनी अहिलेसम्म कुनै पनि पक्षमा खुलेका छैनन ।

‘हामी राजनैतिक दलमा जस्तो चुनावी प्रकृयामा नजाऔँ, केही प्रदेशहरुले सर्वसम्मत नेतृत्व छान्दै राम्रो उदाहरण पनि प्रस्तुत गरेका छन्, केन्द्रका आकांक्षी साथीहरुलाई पनि सकेसम्म निर्विरोध रुपमा नेतृत्व चयन गर्नका लागि मैले आग्रह गर्दै आएको छु,’ ढकालले भने, यतिबेला महासंघको बरिष्ठ उपाध्यक्षको आकांक्षसहित उपाध्यक्ष अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा छन्, उपाध्यक्ष रामचन्द्र संघाईले पनि उम्मेदवारी दिने बताउँदै आएका छन्, तर चन्द्र ढकाल कुनै पनि पक्षमा खुलेर लागेका छैनन्,’ उनले भने ।

महासंघको एशोसिएट उपाध्यक्ष बन्दा ढकाल सर्वसहमत भएको थिए । बरिष्ठ उपाध्यक्षमा चुनावी प्रतिस्पर्धाबाट जितेर आए । बरिष्ठ उपाध्यक्ष तीन वर्षपछि स्वातः अध्यक्ष हुने व्यवस्था महासंघको विधानमा छ । स्वतः अध्यक्ष हुने व्यवस्थाका कारण वरिष्ठ उपाध्यक्ष आफ्नो जिम्मेवारीमा सक्रिय नभएको आरोप यसअघि शेखर गोल्छाले खेप्नु परेको थियो । त्यसैलाई आधार मानेर विधान संशोधन र अध्यक्ष पदको लागि प्रत्यक्ष निर्वाचन प्रणालीको माग पनि ठूलै स्वरमा भएको थियो ।

तर अहिले त्यस्तो आवाज निकै मत्थर भएको छ । बरिष्ठ उपाध्यक्ष भएपछि ढकालको सक्रियता घटेको छैन, बढेकै छ । महासंघको अध्यक्ष बन्दै गर्दा उनीप्रतिको व्यवसायीको विश्वास बढेकै देखिन्छ । महासंघको निर्वाचनको मिति नजिकदै गर्दा उनको तटस्थता नीतिले पनि उनीमा परिपक्वताको संकेत गरेको छ । जवकी यसअघिको हरेक निर्वाचनमा वहालवाला नेतृत्व वा वरिष्ठ उपाध्यक्ष आफ्ना निकट व्यक्तिलाई निर्वाचनमा जिताउन कस्सिएर लागेका हुन्थ्ये ।

व्यवसाय पनि सपार्दै

भाषण गर्ने, अरुलाई अर्ति उपदेश दिने, आफू नेता बन्न खोज्ने तर काम केही पनि नगर्नेको जमात ठूलै छ नेपालमा । तर ढकालले आफ्ना व्यवसाय पनि सपार्नेतिर उत्तिकै काम गरेको छन् ।

ढकाल कार्यकारी अध्यक्ष रहेको आइएमई समूहले आर्थिक संकटकै बीचमा नयाँ नयाँ व्यवसायमा लगानी विस्तार गरिरहेको छ । गत पुसमा मात्र ५ अर्ब रुपैयाँ पुँजी राखेर उद्योग विभागका वान क्यापिटल होल्डिङ्ग्स प्रालि कम्पनी दर्ता गरेको छ । उक्त कम्पनीले केबलकार, सडक, जलविद्युत र उत्पादनमूलक उद्योगमा लगानी गर्ने उदेश्य राखेको छ ।

आईएमई समूह मुख्य लगानी रहेको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज प्रा.लिले आगामी कात्तिकदेखि महोत्तरीमा फोटोकपी पेपर उत्पादन थाल्दैछ । यस उद्योगले दैनिक ७५ मेट्रिकटन पेपर उत्पादन गर्नेछ । उक्त समूहले गत कात्तिकदेखि काठमाडौंमा होटेल ले हिमालय सञ्चालनमा ल्याएको छ । आइएमई समूहले समालेको यो तेस्रो होटेल हो ।

सातै प्रदेशमा होटल र केबलबार लगायत पर्यटन पूर्वाकारमा लगानी गर्न योजना रहेको ढकाल बताउँछन् । आफूहरुले सातवटा प्रदेशमा सातवटा देखिने काम गर्ने उद्देश्यले काम गर्न खोजेको समेत उनले बताए । रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बसन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार सञ्चालनको अन्तिम तयारीमा छ । अन्य तीन स्थानमा पनि उनले केबुलकार र होटल निर्माण गरिरहेका छन् ।

रेमिट्यान्स व्यवसायबाट उदाएको आईएमई समूहले बैंकिङ, बीमा, पर्यटन, जलविद्युत्, व्यापार, सूचना प्रविधिमा लगानी विस्तार गर्दै आएको छ । राज्यले प्राथमिकतामा राखेको, उपभोक्ताको आवश्यकता पूर्ति गर्ने र व्यवसायिक हिसावले दीगो र नाफा मुलक क्षेत्रमा लगानी गर्दा व्यवसायमा सफलता हासिल गर्न सकिने उनको भनाई छ ।

Share News