सन्तोषजनक देखिएन गुण एयरको वित्तीय अवस्था, उडान प्रतिबन्ध कायमै

<p>काठमाडौं । कर्मचारीलाई तबल नदिएपछि ग्राउण्डेड गरिएको गुण एयरका जहाज तत्काल नउड्ने भएका छन् । कर्मचारीलाई तलब समेत दिन नसक्ने भएपछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गत फागुन ८ गतेदेखि ग्राउण्डेड गरेको थियो । ग्राउण्डेड गरेपछि क्यानको टिमले गुण एयरको फाइनान्सिङ अटिड गरेको थियो । अडिटका आधारमा जहाज उडानको अनुमति दिने तयारी गरिएतापनि अडिट [&hellip;]</p>

काठमाडौं । कर्मचारीलाई तबल नदिएपछि ग्राउण्डेड गरिएको गुण एयरका जहाज तत्काल नउड्ने भएका छन् । कर्मचारीलाई तलब समेत दिन नसक्ने भएपछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गत फागुन ८ गतेदेखि ग्राउण्डेड गरेको थियो ।

ग्राउण्डेड गरेपछि क्यानको टिमले गुण एयरको फाइनान्सिङ अटिड गरेको थियो । अडिटका आधारमा जहाज उडानको अनुमति दिने तयारी गरिएतापनि अडिट रिपोर्ट सन्तोषजनक नभएको क्यानका प्रवक्ता जगन्नाथ निरौला बताउँछन् ।

‘हामीले फाइनान्सिङ अडिट गरेपछि त्यसकै आधरमा उडानको अनुमति दिने तयारी गरेका थियौँ, अडिट रिपोर्ट सन्तोषजनक पाइएनन, उडान प्रतिबन्ध लम्बियो’, उनले भने ।

गुणले बिग्रिएको आर्थिक अवस्था सुधार गर्ने, कर्मचारीको रोकिएको सेवासुविधा नियमित दिने, जहाज मर्मतसम्भार तथा क्यानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम भुक्तानी गर्ने आधार पेश गरेपछि उडान सुचारुको विषयमा थप अध्ययन हुने उनको भनाइ छ ।

अडिट गर्दा गुण एयरले तीन महिनादेखि कर्मचारीलाई तलब नदिएको क्यान स्रोतले जनाएको छ ।

‘लामो समयदेखि गुण एयरले कर्मचारीलाई सेवा सुविधा भुक्तानी नगरेको पाइएको छ, कर्मचारीसँगै क्यानलाई समेत ४ करोड रुपैयाँ बढी बक्यौता भुक्तानी भएको छैन, तत्काल जहाज उडानको अनुमति दिने कुनै आधार भेटिएन’, स्रोतले भन्यो ।

‘गत वर्षबाट गुण एयरको नामबाट उडान सुरु गर्दा नै हामीले वित्तीय अवस्थाको विषयमा विश्लेषण गरेका थियौँ, यति छिटो अवस्था बिग्रन्छ भन्ने हामीले अनुमान समेत गर्न सकेनौं’, क्यानको वित्त विभाग (फाइनान्स डिपार्टमेन्ट) स्रोतले भन्यो, गुणले आर्थिक अवस्था सुधार गर्ने आधार पेश नगर्दासम्म उडान नियमित हुन सक्दैन ।’

२०७८ को असोज १ गतेबाट रियलस्टेट व्यवसायी राजेन्द्र शाक्यले सिम्रक एयरको नाम फेरेर गुण बनाएका थिए ।

साढे ४ करोड बक्यौता

गुण एयरले क्यानलाई साढे ४ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । क्यानको वित्त विभागका अनुसार गुणले गत वर्षको माघदेखि विमानस्थल कार्यालयलाई बुझाउनु पर्ने रकम भुक्तानी नगरेको हो ।

एयरलाइन्सले कम्पनीले विमानस्थल कार्यालयलाई विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाइ परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क बुझाउनुपर्छ । उक्त शिर्षक अन्तर्गत गुणले ४ करोड ४४ लाख रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी छ ।

गुणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा २ करोड ८७ लाख, विराटनगरमा १९ लाख, नेपालगन्ञ विमानस्थल कार्यालयमा ५ लाख ६९ हजार रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । कर्मचारीलाई तलब समेत दिन नसकेको भन्दै क्यानले फागुन ८ गतेदेखि अनिश्चितकालका लागि गुणको उडान बन्द गरेको छ ।

२०७८ को असोजदेखि गुण एयरले नियमित उडान गर्दै आएको छ । सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएकोमा २०७८ को असोजदेखि गुण एयरको नामबाट उडान सुरु भएको थियो । गुण एयरले काठमाडौं–पोखरा, भरतपुर, भैरहवा, सिमरामा दैनिक उडान गर्दै आएको छ । गुणसँग यती एयरसँग किनेको पाँचवटा जेट स्ट्रीम र पुरानो श्रीम्रिक एयरलाइन्ससँग रहेको दुईवटा १८ सिट क्षमताको जहाज गरी सातवटा जहाज छन् ।

तीन महिनादेखि कर्मचारीलाई सेवासुविधा भुक्तानी नगरेको र वित्तीय अवस्था समेत सन्तोषजनक नभएको सार्वजिनक भैसक्दा गुण एयर भने बाहिर आएका कुरामा सत्यता नभएको बताउँदै आएको छ ।

गुण एयरका प्रवक्ता तथा मार्केटिङ्ग प्रमुख प्रज्वल थापा नियमित रुपमा सबै कर्मचारीहरुलाई तलब दिइएको बताउँछन् । उनले जहाज मर्मत तथा पाइटलको तालिम एकैपटक हुँदा उडान रोकिएको दाबी गरे । क्यानले जहाज ग्राउण्डेड गरेपछि पुराना जहाज बिक्रीको तयारी थालिएको गुणले जनाएको छ ।

२०७८ सालमा यती एयरलाइन्ससँग किनेको ५ वटा पाँचवटा जेट स्ट्रिम जहाज बिक्री गर्ने तयारी थालिएको जनाएको छ । ‘यतीसँग किनेका ५ सहित गुणसँग ७ वटा जहाज भएतापनि ४ वटाले मात्र उडान गर्ने गरेको थियो, उडान नगर्ने जहाज हामीले बिक्रीको तयारी थालेका थियौँ, तयारीकै बीचमा क्यानले उडानमा प्रतिबन्ध लगायो’, थापाले भने, ‘प्रतिबन्धकै बीच जहाज खरिद गर्न अमेरिकाको एक कम्पनीले जहाज लैजाने टुंगो लगभग लागिसक्यो, मूल्यांकनको काम बाँकी छ ।’

उनले पुराना जेट स्ट्रिम जहाज बिक्री गरेर ५० देखि ७० सिट क्षमताका मझौला जहाज ल्याएर गुणले पुनः उडान सुचारु गर्ने बताए ।

क्यानका प्रवक्ता निरौला भने गुण एयरले जहाज बिक्रीको औपचारिक रुपमा कुनै जानकारी नगराएको बताए । ‘हामीसँग गुणले जहाज बिक्रीको विषयमा कुनै जानकारी गराएको छैन, मैले पहि समाचार देखेर थाहा पाएको हो’, उनले भने, बिक्रीको आन्तरिक तयारी भएको होला, हामीकहाँ भुक्तानी गर्नुपर्ने बक्यौता रकम पूर्ण रुपमा भुक्तानी नभएसम्म जहाज बिक्रीको अनुमति दिदौनौँ ।’ जहाज खरिद तथा बिक्रीका लागि क्यानले अनुमति दिनुपर्छ ।

Share News