
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तिय संस्थाले दिएको समस्याबारे जानकारी लिन वेबसाइट र एप बनाएका छन् ।
प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान( २०७९ लाई अझै विज्ञान तथा प्रविधिमैत्री बनाउने उदेश्यले वेबसाइट र एप बनाएको बताएका छन् ।
नेपाल अभियान नाम दिइएको वेवसाइट र एपमा सबैले आ(आफ्ना बैंकिङ्ग र वित्तीय समस्याहरु सिधै पोष्ट गर्नसक्ने उनले बताए ।
बिहीबार मात्रै प्रसाईंले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । उनले आन्दोलनका क्रममा हरेक शनिवार दिनको १ बजे मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्बासीहरु, सर्वहारा वर्गहरु, फुटपाथमा व्यापार गर्नेहरु भेला पारेर माईतीघर मण्डलाबाट जुलुस ल्याई बानेश्वर चोकमा कोणसभा गर्ने बताएका छन् ।
उनले चैत्र १ देखि १९ गतेसम्म हेटौंडा, पोखरा, जनकपुर र वीरगञ्ज, दार्चुला, बैतडी, महेन्द्रनगर इटहरी, विराटनगर, धरान, दमकसम्म सामन्तीविरुद्धको आमसभा र कोणसभा गर्ने, २४ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने कार्यक्रम तय गरेको जनाएका छन् ।
यस्तै, व्यापारीहरुले पसल बन्द गर्ने, राँके जुलुस गर्ने, कर तिर्ने, मालपोतमा जग्गा पास नगर्ने, केही मान्छेहरु आफ्नै खर्चमा काठमाडौं आई यो अभियानलाई सफल बनाउने लगायत आन्दोलनका कार्यक्रम उनले सार्वजनिक गरेका छन् ।
प्रसाईंले २०४७ सालको संविधान लागू गर्नुपर्ने, संविधानलाई संशोधन गरी सबै पक्षलाई मान्य हुनेगरी अघि बढ्ने, बैंक, वित्तीय सहकारी र बीमा कम्पनीहरुलाई तुरुन्त राष्ट्रियकरण गरी निक्षेपकर्ताको निक्षेपकलाई ध्यानमा राख्दै निक्षेपकर्ताको ब्याज ६ प्रतिशतभन्दा माथि नहुने गरी लघुवित्त र सहकारीका ऋणीहरुको २० लाखभन्दा मुनिको ऋण मिनाहा गनुपर्ने लगायत माग समेत अघि सारेका छन् ।