काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यायलले करिब ४ करोड रुपैयाँ बराबरको सामान लिलाम बिक्री गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको हालसम्म मोबाइल, मदिरा, सवारीसाधन, कपडा, खाद्य पदार्थ तथा इलेक्ट्रोनिक सामान लिलाम बिक्रीबाट ३ करोड ८९ लाख ८१ हजार ५५७ रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
कार्यालयलाई ३३२ थान मोबाइल लिलाम बिक्रीबाट १ करोड ७३ लाख २६ हजार ७०४ रुपैयाँ राजस्व प्राप्त भएको छ । यी मोबाइल विदेशबाट फर्किने यात्रुसँग जफत गरिएको हो ।
यस्तै २ हजार ५०५ थान मदिरा लिलाम बिक्रीबाट कार्यालयले १ करोड ५ लाख ८६ हजार ६९७ रुपैयाँ बराबर राजस्व सङ्कलन भएको जनाएको छ ।
सवारीसाधन, कपडा, खाद्य पदार्थ, इलेक्ट्रोनिकलगायतका मालवस्तु लिलाम बिक्रीबाट १ करोड १० लाख ६८ हजार १५६ रुपैयाँ सङ्कलन भएको विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत नारद पोखरेलले जानकारी दिए ।
उनका अनुसार कानूनअनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक व्यक्तिले एउटाभन्दा बढी थान मोबाइल तथा एक बोतलभन्दा बढी मदिरा ल्याउन पाइँदैन ।
कानूनले तोकेभन्दा बढी सङ्ख्यामा ल्याइएका सामग्री भए आर्थिक ऐनबमोजिम भन्सार महसुल तिर्नुपर्ने हुन्छ । कार्यालयले स्वदेशी तथा विदेशीबाट जफत गरिएको एप्पल कम्पनीका आइफोन, सामसुङलगायत महँगा मोबाइल फोन तथा मदिरा बिक्री गर्दै आएको छ ।