लोकतन्त्रका नाममा अराजकता स्वीकार्य हुँदैन : मन्त्री श्रेष्ठ

<p>काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले लोकतन्त्रका नाममा अराजकता स्वीकार्य नहुने बताएका छन् । बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयले ललितपुरमा आयोजना गरेको ‘विद्युतीय सामग्रीको स्वनियमन र सामाजिक उत्तरदायित्व’ विषयक अन्तरक्रियामा उनले लोकतन्त्रमा भ्रम सृजना गर्ने र अराजकतातर्फ लैजाने कार्य स्वीकार्य नहुने स्पष्ट पारे । ‘स्वतन्त्रता र स्वच्छन्दतालाई एउटै रुपमा हेर्न मिल्दैन, [&hellip;]</p>

काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले लोकतन्त्रका नाममा अराजकता स्वीकार्य नहुने बताएका छन् । बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयले ललितपुरमा आयोजना गरेको ‘विद्युतीय सामग्रीको स्वनियमन र सामाजिक उत्तरदायित्व’ विषयक अन्तरक्रियामा उनले लोकतन्त्रमा भ्रम सृजना गर्ने र अराजकतातर्फ लैजाने कार्य स्वीकार्य नहुने स्पष्ट पारे ।

‘स्वतन्त्रता र स्वच्छन्दतालाई एउटै रुपमा हेर्न मिल्दैन, स्वतन्त्रताका नाममा लोकतन्त्रमा अराजकता स्वीकार्य हुनुहुँदैन, यसका लागि विद्युतीय सामग्रीमार्फत प्रचारप्रचार हुने गतिविधिहरुको स्वनियमनका साथसाथै सरकारी र सरोकारवालाहरुको स्तरबाट नियमन र कारबाहीको चरणमा जानु आवश्यक हुन्छ,’ मन्त्री श्रेष्ठले भने, ‘डिजिटल मिडियामा देखिएको विकृति न्यूनीकरणका लागि कतैबाट ठोस पहल नभइरहेको अवस्था छ । यसका लागि कसैले पहल त गर्नैपर्छ भन्ने लागेर हामीले यो प्रयास गरेका हौँ ।’

अहिलेको लोकतान्त्रिक व्यवस्थामा डिजिटल मिडियालाई निषेध गर्न नसकिने बताउँदै उनले स्वतन्त्रताका नाममा भएका स्वच्छन्दतालाई भने नियन्त्रण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारी र पत्रकार उमेश श्रेष्ठले डिजिटल मिडियाका समस्या समाधानका उपायहरुका बारेमा कार्यपत्र पेस गरेका थिए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै वरिष्ठ पत्रकार ध्रवहरि अधिकारीले अनलाइन टिभी पत्रकार सङ्घद्वारा जारी भएको स्वनियमन निर्देशिकाबारे डिजिटल मिडिया सञ्चालकहरूलाई प्रशिक्षित गरेमा धेरै विकृति कम हुने विश्वास व्यक्त गरे । उनले सबै मिडियाले आन्तरिक लेखा परीक्षण गरेजस्तै कन्टेन्टको आन्तरिक परीक्षण गरिनुपर्ने बताए ।

बागमती प्रदेशका सञ्चार राजिष्ट्रार रेवती सापकोटाले विज्ञ तथा सरोकारवालाहरुको सल्लाहका आधारमा स्वनियमनका कार्यक्रमहरु बनाएर लागू गरिने जानकारी दिए । डिजिटल माध्यममा देखिएको विकृतिलाई बागमती प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको उनको भनाइ थियो ।

Share News