काठमाडौं । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशप्रसाद पोखरेलले सहकारी संस्थाहरुबाट सञ्चालकले लिएको सावाँ ब्याज नै असुल गर्न सकस हुने बताएका छन् । आइतबार नेफ्स्कुनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सीईओ पोखरेलले अन्य ऋणी सदस्यहरुको तुलनामा सञ्चालकहरुबाट ऋण असुल गर्न सकस पर्ने बताएका हुन् ।
‘सहकारीहरुमा सञ्चालकले कर्जा लिने अभ्यास पनि बढेको देखिन्छ, अन्य सदस्यहरुको तुलनामा सञ्चालकहरुबाट ऋण असुल गर्न समस्या भएको हामीले बुझेका छौं, यसलाई गलत सन्देशका रुपमा नबुझ्नु होला,’ उनले भने ।
उनले सहकारीमा सञ्चालक र उप–समितिले लिएको ऋण बढी भाखा नाघेको पनि बताए । त्यस्तो खालको ऋण उठाउन समस्या हुने उनको भनाइ छ ।
यस्तै, उनले सहकारीलाई अनुशासनमा राख्न कडाभन्दा कडा अनुगमन आवश्यक रहेको उनले बताए । उनले सहकारी संस्थाहरुको नियामक पनि कडा हुनु पर्ने धारणा राखे ।
‘प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन’ भन्ने सोचसहित सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी आगामी बुधबारदेखि हुने भएको छ ।
नेफ्स्कूनको आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा फागुन २४ र २५ काठमाडौंको द सोल्टी होटलमा हुँदैछ ।