काठमाडौं । बैंक तथा वित्तीय संस्था र लघुवित्त संस्थाविरुद्ध देशव्यापी आन्दोलन चर्केपछि बैंकिङ्ग क्षेत्रका ४ वटा संघले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।
आर्थिक गतिविधिमा नै नकारात्मक असर पर्ने गरी आन्दोलन गरेको भन्दै बिहीबार प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संगठन नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन, वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले संयुक्त प्रेस वक्तव्य जारी गरेका हुन् ।
बैंक तथा वित्तीय संस्था र लघुवित्तबाट ऋण लिएर कर्जा तिर्दैन भन्नु अराजक गतिविधि भएको उनीहरुले बताएका छन् । साथै, संस्थाबाट ऋण लिएपछि कर्जा र ब्याज भुक्तानी गर्नुपर्ने ऋणीको दायित्व रहेको उनीहरुको भनाइ छ ।
‘ऋण लिएपछि कर्जाको साँवा र किस्ता तिर्नु पहिलो दायित्व हुन्छ, विभिन्न शर्तहरुको अधिनमा रही कर्जा लिएपछि तिर्दैन भन्नु अराजकता हो, यस प्रकारका क्रियाकलापहरु कसैको हितमा नहुने, असहज वातावरण सृजना गर्ने र आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्ने हुँदा यसप्रति सजग रहन आग्रह गर्दछौं,’ संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो समय केही व्यक्तिहरुले बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुविरुद्ध नकारात्मक टिप्पणी र आन्दोलनको घोषणा गरेका छन् । कर्मचारीहरुलाई हतोत्साही हुनेगरी धम्कीपूर्ण अभिव्यक्ति र अराजक गतिविधि गर्दै आएका छन् ।
‘कुनै पनि विरोधको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिने अराजक घट्नालाई समयमै नियन्त्रण गर्न राज्यको ध्यान जानुपर्छ,
नियामक निकायद्वारा जारी गरिएको नीति, निर्देशन तथा ऐनको अधिनमा रही बैंकिङ्ग सेवा प्रदान गर्दै आएका छन्, ग्राहकहरुको हकहिततर्फ सदैव सचेत रही कानून विपरित गतिविधिहरु नगर्न र केही समस्या भए सम्बन्धित संस्थासँग छलफल गरी अघि बढ्नु नै हितकारी हुनेछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विरोधको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिने अराजक घट्नालाई समयमै नियन्त्रण गर्न राज्यको ध्यान जानुपर्छ ।’
बैंक तथा वित्तीय संस्थाहरुले ४ करोड ८३ लाख भन्दा धेरै निक्षेप खाता मार्फत झण्डै ५४ खर्ब निक्षेप संकलन र १८ लाखभन्दा धेरै ऋणीहरुलाई ४८ खर्बभन्दा बढी कर्जा प्रवाह गरेको बताइएको छ ।
बैंकिङ्ग क्षेत्रले ५३ हजार बढीलाई प्रत्यक्ष रोजगारी दिएको र गत आर्थिक वर्ष ३४ अर्ब कर सरकारलाई तिरको बताइएको छ । साथै, कोरोना महामारीका बेलामा १० अर्ब बढी ब्याज छुट दिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।
साथै, देशको दुरदराजमा लघुवित्त संस्थाहरुले झण्डै ६० लाख निक्षेप खाता तथा ३२ लाख भन्दा धेरै ऋणीहरुलाई सेवा प्रदान गर्नुका साथै २३ हजार रोजगारी दिएका छन् ।