काठमाडौं । कैलालीका उद्योगी व्यवुसायीहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध ‘नो डिपोजिट’ अभियान चलाएका छन् । बैंक तथा वित्तीय संस्थाको विरोध गर्दै कैलालीका उद्योगी व्यवसायीहरुले शाखा कार्यालयमा धर्ना दिनुका साथै नो डिपोजिट अभियान चलाएका हुन् ।
कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझाले बैंक तथा वित्तीय संस्थाको चर्काे ब्याजदर र राष्ट्र बैंकको अव्यवहारिक नीतिका विरुद्ध नो डिपोजिट अभियान चलाएको बताए ।
‘बैंकको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिविरुद्ध उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश, विभिन्न बस्तुगत संघहरु लगायत व्यवसायीहरुको आव्हानमा सांकेतिक बिरोध स्वरूप ‘नो डिपोजिट’को कार्यक्रम आयोजना गरिएको छ,’ उनले भने ।
धनगढीमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयमा नो डिपोजिटको ब्यानर टाँसिएको छ भने र नेपाल राष्ट्र बैंकको कार्यालय घेराउ गरिएको उपाध्यक्ष ओझाले बताए । सुदूरपश्चिम प्रदेशका उद्योगी व्यवसायीहरुले आफ्ना उद्योग व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।






