काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले सुरक्षाकर्मीको तलब मासिक डेढ लाख हुनपर्ने राखेका छन् । मंगलबार राजसंस्था पुन : स्थापना गर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका प्रसाईंले यस्ताे माग राखेका हुन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यही फागुन २० गतेबाट राजसंस्था पुन: स्थापना गर्नका लागि भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
उनले आन्दोलनमा आफूहरुले २०४७ सालको संविधान लागू गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नुपर्ने, कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरुको मासिक तलब कम्तिमा १ लाख ५० हजार पु¥याउनुपर्नेलगायतका १५ बूँदे माग प्रस्तुत गर्ने समेत बताएका छन् ।
कैदी बन्दीहरुलाई जेलमुक्त गराई जेलहरुलाई श्रम शिविरमा रुपान्तरण गर्नुपर्ने, उच्च शिक्षा हासिल गर्न विदेश जानेहरुलाई यही पढने वातावरण बनाउनुपर्ने, बेरोजगार युवाहरुलाई बिना धितो ऋण उपलब्ध गराई रोजगारी सृजना गर्नुपर्ने लगायतका माग पनि सरकार समक्ष गरिने प्रसाईले बताए ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको दक्षिण गेट अगाडि प्रेम आचार्यले आत्मादाह गरेको स्थानमा आन्दोलनको कार्यक्रम सुरु गर्ने जानकारी दिँदै प्रसाईंले त्यसमा सहभागी हुन पनि सबैलाई आह्वान गरेका छन् ।
‘हाम्रा यी मागहरु पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ, यसमा सहमती जनाउन पूर्वराजा ज्ञानेन्द्र शाह पनि आउनु हुन्छ, यो लडाई भनेको राष्ट्रको लागि हो, राष्ट्रियताको लागि हो, व्यवस्था बदल्ने लडाई हो, हामीले धर्म खोजेको, राजा खोजेको हो,’ उनले भने ।
व्यवसायी प्रसाईंले आफूहरुको सो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए ।