काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले सुनियोजित रुपमा लघुवित्तविरु भ्रम फैलाइएको बताएका छन् । बुधबार लघुवित्तकर्मीहरुसँग छलफल गर्दै उनले अनेक विषयहरु उठाएर लघुवित्त विरुद्ध भ्रम फैलाउने काम भएको बताएका हुन् ।
नेपाल राष्ट्र बैंकले बुधबार लघुवित्त सम्बन्धि सरोकार राख्ने विभिन्न व्यक्ति तथा संस्थालाई बोलाएर चार घण्टा छलफल गरेको हो । सो छलफलमा गभर्नर अधिकारीले अहिलेको परिस्थितिलाई राष्ट्र बैंकले नजिकबाट नियालिरहेको बताउँदै कर्जा लिनेले तिर्नु पर्ने धारणा राखेका हुन् ।
अधिकारीले लघुवित्त विरुद्धका भ्रमहरुलाई चिर्न आवश्यक रहेको बताए । ‘लघुवित्तले राम्रो काम गर्दै आएका छन्, काम गर्दै गर्दा केही कमजोरी पनि भएका हुन सक्छन् तर जसरी सुनियोजित रुपमा लघुवित्तमाथि आक्रमण भएको छ, यसले समग्र क्षेत्रमा आक्रमण गर्छ, लघुवित्त विरुद्धका भ्रमहरुलाई चिर्नुपर्छ, कतिपय कुराहरु असत्य छन, अहिलेका कतिपय जनप्रतिनिधिहरुले पनि यो विषयमा राम्रोसँग बुझेका छैनन्,’ गभर्नरले उदृत गर्दै एक बैंकरले भने, ‘गभर्नर अहिलेको परिस्थितिको विषयमा चिन्तित हुनुहुन्थ्यो ।’
यस्तै, उनले कर्जा लिएपछि तिर्नु पर्ने पनि धारणा राखेका थिए । कर्जा लिएपछि तिर्नु पर्छ, यसमा कुनै छुट हुँदैन, राष्ट्र बैंकले कर्जा लिएपछि तिर्नुपर्छ भनिरहेको छ, अहिले कर्जा नलिने मान्छेले आन्दोलन गरेका छन्, कर्जा लिनेहरुले चुक्ता गरिरहेका छन्, यस विषयमा राष्ट्र बैंक सजग छ,’ गभर्नरले छलफलमा भनेका थिए ।
यस्तै, कार्यक्रममा लघुवित्त नीति रिभ्यू गर्ने विषयमा पनि छलफल चलेको थियो । छलफल कार्यक्रममा गभर्नर अधिकारीसहित डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, सांसदहरु योगेन्द्र मण्डल, लिला श्रेष्ठ, पूर्व मन्त्री गोपाल दहित, लघुवित्त बैंकर्स संघका पदाधिकारी र बैंकर्स संघका पदाधिकारीहरु छलफलमा थिए ।