काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुविरुद्ध देशभर नै आन्दोलन चर्केपछि राष्ट्र बैंकले समाधानका लागि छलफल अघि बढाएको छ । लघुवित्त विरुद्ध भएका क्रियाकलापहरुले अस्तित्वमाथि प्रश्न उठेपछि राष्ट्र बैंकले सबै पक्षलाई बोलाएर समाधानको बाटो खोज्न थालेको हो ।
राष्ट्र बैंकले बुधबार लघुवित्तकर्मी र लघुवित्तसँग विभिन्न सरोकारवालाहरुसँग ४ घण्टा वार्ता गरेका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरुसहितको टीमले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, सांसदहरु योगेन्द्र मण्डल, लिला श्रेष्ठ, पूर्व मन्त्री गोपाल दहित, लघुवित्त बैंकर्स संघका पदाधिकारी र बैंकर्स संघका पदाधिकारीहरुसँग लघुवित्तको विषयमा ४ घण्टा छलफल गरेका छन् ।
लघुवित्त वित्तीय संस्थाहरुका विरुद्ध आन्दोलन चर्केका बेला राष्ट्र बैंकले समाधानको बाटो खोज्न छलफल गरेको बैठकमा सहभागी एक सीईओले विकासन्युजलाई बताए । राष्ट्र बैंकले सरोकारावाला निकायहरुसँग लघुवित्त विरुद्धका गतिविधि न्यूनीकरण गर्न छलफल सुरु गरेको उनको भनाइ छ ।
‘लघुवित्त सम्बन्धी समसामयिक विषयमा छलफल भयो, ४ घण्टाको कार्यक्रममा लघुवित्त संस्थाहरु समस्यामा परे, यो नियन्त्रण बाहिर गयो, आगामी दिनमा कसरी जान सकिन्छ भन्ने विषयमा छलफल भयो,’ उनले भने, ‘लघुवित्तमा देखिएका समस्या चिन्ताको विषय हो, यसलाई हलुका रुपमा लिनु हुन्न, लघुवित्तको अस्तित्वमा नै आँच आउन थालेपछि राष्ट्र बैंकले सिरियस भएर छलफल गरेको हो, राष्ट्र बैंक र लघुवित्तको भूमिका के हुन सक्छ भनेर छलफल भयो ।’
कार्यक्रममा गभर्नर अधिकारीले सुनियोजित रुपमा लघुवित्तमाथि आक्रमण भएको धारणा राखेको छलफलमा सहभागी एक बैंकरले बताए । अधिकारीले लघुवित्त विरुद्धका भ्रमहरुलाई चिर्न आवश्यक रहेको बताए थिए ।
‘लघुवित्तले राम्रो काम गर्दै आएका छन्, काम गर्दै गर्दै केही कमजोरी पनि भएका हुन सक्छन् तर जसरी सुनियोजित रुपमा लघुवित्तमाथि आक्रमण भएको छ, यसले समग्र क्षेत्रमा आक्रमण गर्छ, लघुवित्त विरुद्धका भ्रमहरुलाई चिर्नुपर्छ, कतिपय कुराहरु असत्य छन, अहिलेका कतिपय जनप्रतिनिधिहरुले पनि यो विषयमा राम्रोसँग बुझेका छैनन्,’ गभर्नरले उदृत गर्दै ती बैंकरले भने गभर्नर अहिलेको परिस्थितिको विषयमा चिन्तित हुनुहुन्थ्यो ।’
यस्तै, उनले कर्जा लिएपछि तिर्नु पर्ने पनि धारणा राखेका थिए । कर्जा लिएपछि तिर्नु पर्छ, यसमा कुनै छुट हुँदैन, राष्ट्र बैंकले कर्जा लिएपछि तिर्नुपर्छ भनिरहेको छ, अहिले कर्जा नलिने मान्छेले आन्दोलन गरेका छन्, कर्जा लिनेहरुले चुक्ता गरिरहेका छन्, यस विषयमा राष्ट्र बैंक सजग छ,’ गभर्नरले छलफलमा भनेका थिए ।
यस्तै, कार्यक्रममा लघुवित्त नीति रिभ्यू गर्ने विषयमा पनि छलफल चलेको थियो ।