कर्जाको किस्ता नियमित तिरिरहेका प्रसाईं किन भड्काउँदैछन् जनता ?

<p>काठमाडौं । ‘बैंकहरुलाई जता भेट्यो, त्यतै कालो मोसो दल्नु । यो तरिकाले बैंकहरु भोलिदेखि बन्द हुन्छन् । अब यी टाई लगाएका गुण्डाहरुले होसियार हुँदा हुन्छ,’ व्यवसायी दुर्गा प्रसाईंले बोलेको यो भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल छ । उक्त भिडियोको जवाफमा एक बैंकरले भने, ‘हामीले सुरक्षाका लागि गेटमा राखेका सेक्युरिटीहरुको हातमा दही जमेको छ ? [&hellip;]</p>

काठमाडौं । ‘बैंकहरुलाई जता भेट्यो, त्यतै कालो मोसो दल्नु । यो तरिकाले बैंकहरु भोलिदेखि बन्द हुन्छन् । अब यी टाई लगाएका गुण्डाहरुले होसियार हुँदा हुन्छ,’ व्यवसायी दुर्गा प्रसाईंले बोलेको यो भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

उक्त भिडियोको जवाफमा एक बैंकरले भने, ‘हामीले सुरक्षाका लागि गेटमा राखेका सेक्युरिटीहरुको हातमा दही जमेको छ ? प्रसाईंले कालो मोसो दल्दा हामीले के हेरेर बसौंला ? उनले थप प्रश्न गर्दै भने, ‘राज्य संयन्त्र के हेरिरहेको छ ? यस्ता उश्रृङ्खल अभिव्यक्ति दिएर समाजलाई भड्काउने पात्रहरुलाई सरकारले किन समात्दैन ?

पछिल्लो समय व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाविरुद्द दिइरहेका यी र यस्तै अभिव्यक्तीले उनलाई थप परिचित गर्न प्रशय मिलेको छ । कतिपयले उनको बोलीमा साथ दिएका छन् भने कतिपयले उनी उश्रृङ्खल बनेकोले तत्काल कानुनी दायरामा ल्याउनु पर्ने धारणा राखिरहेका छन् ।

कतिपय बैंकरहरुले उनको अभिव्यक्तिपछि बैंकको आईडी कार्ड झुण्ड्याएर बाहिर निस्कन पनि डर लागिरहेको बताएका छन् । गत फागुन ३ गते नेपाल बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका पूर्व अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले अहिले विभिन्न व्यक्तिहरुले बैंकरलाई धम्क्याउने अभिव्यक्ति दिइरहेकोले बैंकरलाई कार्ड लगाएर बाहिर निस्कन पनि डर लाग्ने गरेको गुनासो गरे ।

उनले कार्यक्रममा भनेका थिए, ‘हामी सबैतिरबाट च्यापिँदै गएका छौं, अहिले हाम्रा साथीहरु बजारमा टाई लगाएर जान पनि डर लाग्न थाल्यो भनिरहनु भएको छ, कतिपयले जता भेट्यो त्यतै कालोमोसो दल्ने भनिरहेका छन्, यो प्रवृतिको अन्त्य सबै मिलेर गर्नु पर्छ, अहिले देखिएको परिस्थितिको सामना गर्नको लागि हामी सबैले सहकार्य गर्नु पर्छ ।’

व्यवसायी दुर्गा प्रसाईंले केही दिन यता सार्वजनिक कार्यक्रम र विभिन्न युट्युब तथा टेलिभिजनहरुमा बैंक विरोध धारणा राखिरहेका छन् । उनले बैंकको नाफा र ब्याजदरको विषयमाथि प्रश्न गर्दै बैंकरहरु टाई लगाउने गुण्डा भएको र बैंक तथा वित्तीय संस्थाकै कारण उद्योगी व्यवसायी र सर्वसाधारणले पनि आत्महतया गर्नु पर्ने स्थिति सिर्जना भएको बताइरहेका छन् ।

उनले कसैले पनि बैंकको ब्याज नतिर्न पनि आव्हान गरिरहेका छन् । उनले बैंकमा राखेको पैसा निकाल्नु पर्ने, मालपोत तथा राजस्व पनि नतिर्ने र विदेशबाट रेमिट्यान्स पनि पठाउन नहुने बताइरहेका छन् । यो अभ्यासको अभियान आफैबाट सुरु हुने उनले बताउँदै आएका छन् ।

अरुलाई सार्वजनिक रुपमै ऋण नतिर्न भनिरहेका व्यवसायी प्रसाईंले भने नियमित बैंकको सावाँ ब्याज तिर्दै आएको खुलेको छ ।

उनले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब बढी ऋण लिएको सार्वजनिक कार्यक्रममै बताउने गरेका छन् । झापाको बिर्तामोडमा बीएन्डसी अस्पताल निर्माणका लागि उनले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब बढी ऋण लिएका थिए ।

प्रसाईंले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक/एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएको खुलेको छ । यी बैंकहरुले प्रसाईंले नियमित किस्ता तिरिरहेको बताएका छन् ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिृकत रत्नराज बज्राचार्यले प्रसाईंले किस्ता पछिल्लाे समय केही अनियमित भएकाे बताए । यसअघि नियमित भएपनि केही किस्ता भने रोकिएको उनकाे भनाइ छ । उनका अनुसार कुनै पनि व्यक्तिले समाज भड्काउने गतिविधि गर्नु राम्रो होइन ।

यस्तै, नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पनि उनले नबिल बैंकबाट लिएको कर्जाको नियमित किस्ता तिरिरहेको बताए ।

‘बैंकहरुले जनताको पैसा चलाएका हुन्छन्, भोलि बैंकलाई समस्या पर्यो भने ती सबै निक्षेपकर्तालाई समस्या आउँछ, ऋण लिएपछि तिर्दैन भन्न मिल्दैन, प्रसाईंले सार्वजनिक कार्यक्रममा नतिर्नु भनेपनि उनले भने नियमित किस्ता तिरिरहेका छन्,’ उनले विकासन्युजसँग भने ।

यस्तै, प्रसाईंले गुडविल फाइनान्सबाट पनि १० करोड रुपैयाँको हाराहारीमा ऋण लिएका छन् । गुडविल फाइनान्सका सीईओ सरोजकाजी तुलाधारले पनि उनको नियमित किस्ता आइरहेको बताए । उनका अनुसार गुडविल फाइनान्समा उनको गत महिनाको किस्ता भने आएको छैन ।

‘ऋण लिने दिने र उठाउने पनि एउटा साइकल हुन्छ, हामीले उनीहरुलाई पैसा तिर्न भनेर दबाब दियौं भने उनीहरुले पनि जहाँबाट पैसा उठाउनु पर्ने हो उनीहरुलाई पनि दबाब दिएर उठाउनु पथ्र्यो तर यहाँ त्यस्तो छैन, व्यक्तिले जुन प्रयोजनका लागि ऋण लिएको हो, त्यो प्रयोजनमा प्रयोग भएको पाईंदैँन,’ उनले भने, ‘पैसा तिर्दैनौं भन्नु यो एउटा फण्डा मात्रै हो ।’

यस विषयमा राष्ट्र बैंकले गम्भीर ध्यान आकर्षण भएको बताएको छ ।

Share News