काठमाडौं । कृषि विकास बैंकका अध्यक्ष रमेश दुवाडीले राजीनामा दिएका छन् । उनले अर्थ मन्त्रालयमा आफ्नो राजीनामा दिएको स्रोतले बताएको छ । बैंकको अध्यक्ष बन्न योग्यता नपुगेपछि उनले राजीनामा दिएका हुन् ।
‘अध्यक्ष्यज्यूले मन्त्रालयमा गएर राजीनामा दिईसक्नु भयो तर, राजीनमा दिएको पत्र बैंकमा आएको छैन, उहाँको राजीनामा पत्र शुक्रबारसम्म बैंकमा आइपुग्छ,’ स्रोतले भन्यो, ‘उहाँको नियुक्ति मन्त्रालयले गरेको थियो तर, योग्यता नपुग्दा कानुनी प्रश्न आयो, त्यसैले उहाँले राजीनामा दिनुभयो ।’
उनीहसँग बैंकको अध्यक्ष बन्न योग्यता र अनुभव नपुगेपछि बोर्डकै अन्य सदस्य र अर्थमन्त्रालयले राजीनामा माग गरेको थियो । यसअघि उनी बैंकको सञ्चालक समिति सदस्य थिए । गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको थियो । तर, अहिले उनको शैक्षिक योग्यता र कार्यानुभवको विषयमा प्रश्न उठेपछि राजीनामा दिन बाध्य भएका हुन् ।
बैंक तथा वित्तीय संस्था ऐन २०७३ (बाफिया)ले तोकेको भन्दा उनको शैक्षिक योग्यता न्यून रहेको छ । बाफियाका अनुसार बैंकको अध्यक्ष बन्नका लागि स्नातकोत्तर पास र कार्यकारी तहमा रहेर पाँच वर्ष काम गरेको हुुनु पर्छ । अर्थात् नेपाल सरकारको अधिकृत स्तरमा तीन वर्ष काम गरेको अनुभव हुनु पर्ने उल्लेख छ । दुवाडीले भने स्नातक तह मात्रै पास गरेका छन् ।
दुवाडी २०७८ कात्तिक १२ गते अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै सञ्चालक समिति सदस्यमा नियुक्त भएका थिए । त्यसको एक वर्षपछि उनी बैंकको अध्यक्ष बनेका थिए । तर, अध्यक्ष बनेको २ महिनामा नै अध्यक्षबाट राजीनामा दिन बाध्य भएका हुन् ।
माघ २२ गतेभित्र सबै प्रक्रिया टुङ्गयाएर सीईओ नियुक्त गर्ने बैंकको योजना थियो । तर, सो योजना अध्यक्षको कारणले रोकिएको बैंक स्रोतको भनाइ छ । अध्यक्षले राजीनामा दिएपछि बैंकले सीईओका लागि ५ जनाको नाम पनि सर्टलिष्ट गरेको छ । बैंकको सीईओ छनोट समितिको बिहीबार बसेको बैठकले सीईओका लागि ५ जनाको नाम सिफारिस गरेको हो ।
बैंकको सीईओ पदका लागि सिभिल बैंकका पूर्व सीईओ गोविन्द गुरुङ, कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कायमुकायम नायव महाप्रबन्धक, यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका डीसीईओ विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्रि कुमार गुरागाँईको नाम सर्ट लिष्ट गरिएको बैंक स्रोतले बताएको छ ।