काठमाडौं । कृषि विकास बैंकका अध्यक्ष रमेश दुवाडीको राजीनामा माग गरिएको छ । बैंकको अध्यक्ष हुनका लागि योग्यता र अनुभव नपुगेपछि उनको राजीनामा माग गरिएको हो । गत मंसिर २९ गते बैंकका अध्यक्षमा नियुक्त भएका उनको बोर्डकै अन्य सदस्य र अर्थमन्त्रालयले समेत राजीनामा माग गरेको स्रोतको भनाइ छ । बुधबार बसेको कृषि विकास बैंकको सञ्चालक समितिको बैठकले पनि उनको राजीनामा माग गरेको बताइएको छ ।
यसअघि बैंकको सञ्चालक समिति सदस्य रहेका उनलाई गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको थियो । तर, अहिले उनको शैक्षिक योग्यता र कार्यानुभवको विषयमा प्रश्न उठेपछि उनको राजीनामा माग गरिएको हो ।
‘पहिले सदस्य भएर काम गरिसक्नु भएको थियो, त्यतिबेला कुनै वास्ता नगरेर उनलाई बैंकको अध्यक्षमा नियुक्त गरियो, अहिले बोर्ड सञ्चालकहरुबाटै उनको शैक्षिक योग्यता र कार्यानुभवको विषयमा प्रश्न उठेको छ, राजीनामा पनि माग भएको छ तर उहाँले राजीनामा दिन मान्नु भएको छैन,’ स्रोतले भन्यो ।
बैंक तथा वित्तीय संस्था ऐन २०७३ (बाफिया) ले तोकेको भन्दा उनको शैक्षिक योग्यता न्यून रहेको स्रोतको दाबी छ । बाफियाका अनुसार बैंकको अध्यक्ष बन्नका लागि स्नातकोत्तर पास र कार्यकारी तहमा रहेर पाँच वर्ष काम गरेको हुुनु पर्छ । अर्थात् नेपाल सरकारको अधिकृत स्तरमा तीन वर्ष काम गरेको अनुभव हुनु पर्ने उल्लेख छ । दुवाडीले भने स्नातक तह मात्रै पास गरेका छन् ।
अध्यक्ष दुवाडीले भने आफुलाई सरकारले नै नियुक्त गरेको हुनाले त्यही नै आधिकारिक भएको बताए ।
सीईओको छनोट प्रक्रिया नै रोकियो
अध्यक्ष दुवाडीको विषयले नै बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को छनोट प्रक्रिया रोकिएको छ । बोर्डका अधिकांश सदस्यहरुले राजीनामा माग गरेपछि सीईओको छनोट प्रक्रिया रोकिएको हो ।
उनकाे राजीनामापछि मात्रै सीईओको छनोट प्रक्रिया अघि बढ्ने स्रोतको भनाइ छ ।
कृषि विकास बैंकका निवर्तमान सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएपछि बैंकले पुस २५ गते सीईओका लागि विज्ञापन आह्वान गरेको थियो । उक्त पदका लागि माघ १५ गतेसम्म आवेदन खुला थियो ।
माघ २२ गतेभित्र सबै प्रक्रिया टुङ्गयाएर सीईओ नियुक्त गर्ने बैंकको योजना थियो । तर, सो योजना अध्यक्षको कारणले रोकिएको बैंक स्रोतको भनाइ छ । बैंकको सीईओका लागि २२ जनाले आवेदन दिएका छन् । ती २२ जनाको शैक्षिक योग्यता तथा कार्याअनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनोट गरिनेछ ।
५ जनाबाट पुनः तीन जनालाई सीईओका लागि सिफारिस गरेर माघ २२ गतेसम्म सबै प्रक्रिया सक्ने योजना भएपनि अध्यक्षकै कारणले सबै काम रोकिएको स्रोतको भनाइ छ ।
‘अहिले सबैले अयोग्य अध्यक्षले छनोट गरेको सीईओ मान्य हुँदैन भनेर बोर्ड बैठकमै कुरा हुन्छ, अर्थमन्त्रालयबाट समेत राजीनामा माग हुँदा उहाँले राजीनामा दिन मान्नु भएको छैन, यो विषयको टुङ्गो लागेपछि सीईओ छनोटको प्रक्रिया अगाडि बढ्नेछ,’ स्रोतले भन्यो ।
अध्यक्ष दुवाडीले भने २२ जना उम्मेदवारको सबै कागजात हेर्नु पर्ने भएकोले समय लागेको बताए । उनले अब चाँडै नै सीईओको छनोट हुने बताए ।
राष्ट्र बैंक भन्छ : हामीले सपथ खुबाउने काम हो
बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंक हो । बैंक तथा वित्तीय संस्थाले गर्ने कमि कमजोरी तथा गल्तिलाई राष्ट्र बैंकले तत्काल सच्याउन लगाउँछ । अध्यक्ष वा सञ्चालकका लागि बोर्ड नै सकारात्मक भएपनि कुनै समस्या देखिएमा राष्ट्र बैंकले कैफियत जनाउँछ ।
तर, यो विषयमा भने राष्ट्र बैंक अनविज्ञ छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नै दुवाडीलाई अध्यक्षको सपथ खुवाएका थिए । अध्यक्षको योग्यताको विषयमा बाफियामा स्पष्ट व्यवस्था गरेको भएपनि यस विषयमा राष्ट्र बैंकले कुनै चासो देखाएको छैन ।
नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर बम बहादुर मिश्रले यस विषयमा राष्ट्र बैंकलाई कुनै जानकारी नभएको बताए । ‘हामीले नियुक्ती भएपछि सपथ खुवाउने काम हो, यस विषयमा हामीलाई कुनै जानकारी छैन,’ विकासन्युजसँग भने ।

क–कसले दिए आवदेन ?
कृषि विकास बैंकको सीईओका लागि २२ जनाले आवेदन दिएका छन् । सीईओका लागि सिभिल बैंकका पूर्व सीईओ गोविन्द गुरुङ, राष्ट्रिय सहकारी बैंकका सीईओ बद्रि कुमार गुरागाईं, सिडिएस एण्ड क्लियरिङ्गका सीईओ पूर्ण प्रसाद आचार्य र राष्ट्रिय वाणिज्य बैंकका पूर्व नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) कविराज अधिकारीले आवेदन दिएका छन् ।
यस्तै, कृषि विकास बैंकका निमित्त सीईओ समेत रहेका वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी र चिफ सर्भिस अफिसर यज्ञ प्रकाश न्यौपानेले पनि सीईओका लागि आवेदन दिएका छन् ।
बैंकको सीईओका लागि विष्णुदेव यादव, भानु कँडेल, ताराखर अधिकारी, प्रमेश कायस्थ, नरेश कुमार रोका, विश्व प्रकाश सुवेदी, कुमार केसी, रामराज उपाध्याय, अशोक कुमार पौडेल, रमेशराज जोशी,सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाईँ, अरुण कुमार ढुंगाना र प्रमोद वावु तिवारीले पनि आवेदन दिएका छन् ।