काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेल्वे, आर्थिक समृद्धि, नेपाल–भारतबीच भएका सन्धि सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाली प्राविधिक जनशक्तिलाई नै रेल्वे सञ्चालनका लागि दक्ष बनाउने विषय सकारात्मक र महत्वपूर्ण भएको बताएका थिए । त्यसलाई आफूहरूले आत्मसात् गर्ने उनको भनाइ थियो । भेटका क्रममा रक्सौल–काठमाडौँ रेल्वे निर्माण सम्बन्धमा पनि प्रारम्भिक छलफल भएको छ ।
भारतीय विदेश सचिव क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषय राखेका थिए । जयनगर–कुर्था रेलको सञ्चालन भारतीय कम्पनी ‘केआरसिएल’ ले गर्दै आएको छ । त्यसको म्याद सकिन लागेकाले विदेश सचिव क्वात्राले नवीकरणको विषय उठाएका थिए ।
रेल्वे सञ्चालनका लागि नेपाली प्राविधिक जनशक्तिलाई तालिम दिएर दक्ष बनाउन सके उनीहरूले नै नेपालमा रेल्वे अप्रेसनको काम गर्नसक्ने सचिव क्वात्राले बताए । त्यसो गर्नसके नेपालको रेलवे सेवा दिगो, सुरक्षित र भरपर्दो हुने उनको भनाइ थियो ।
सचिव क्वात्राले उपप्रधानमन्त्री श्रेष्ठसँग अरुण तेस्रो आयोजनाको पहुँच मार्ग (एक्सेस रोड) छिटो निर्माण गरिदिने सम्बन्धमा पनि चासो राखेका छन् । जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले आफूहरूले त्यसलाई अघि बढाउने बताएका थिए ।
विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार यहाँ आएका हुन् । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टछुट्टै भेटवार्ता गरेका थिए ।