काठमाडौं । सेन्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले सबैभन्दा कान्छो बैंकको रुपमा स्थापना भएकाे सेन्चुरी बैंक प्रभुसँगको मर्जरपछि टप फाइभमा पुगेको बताए ।
मंगलबार प्रभु र सेन्चुरी बैंकबीचको एकिकृत कारोबार सुरुवात गर्न गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले १२ वर्ष इतिहास बोकेको सेन्चुरी बैंकले लाखौ ग्राहकलाई सेवा दिँदै आएको बताए ।
यस्तै, अध्यक्ष श्रेष्ठले साहस गरेर प्रभु बैंकसँग मर्जरमा जाने निर्णय गरेको बताए । ‘कुनै काम गर्दा साहस लिनु पर्छ, साहास गरेर नै प्रभु बैंकसँग मर्जरमा जाने निर्णय गरेको हो, मर्जरमा जाने निर्णय नै उत्तम क्षण हो, एकीकृत कारोबार भएपछि सफल भएका छौ,’ उनले भने ।
उनले मर्जरपछि प्रभु बैंक एक्लैले मेगा प्रोजेक्ट गर्न सक्ने पनि बताए । ‘दुवै बैंक मर्ज भएपछि बिकासका लागि कोशेढुंगा सावित हुनेछ, सबैका लागि सरल बैंक सेवा दिन सफल हुनेछ,’ उनले भने ।
अध्यक्ष श्रेष्ठले प्रभु बैंकले मर्जरपछि आफ्नो नाम उज्वल राख्न सक्नुपर्ने पनि धारणा राखे ।