
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ पर्ने निगमले जनाएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ थियो ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । निगमले आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ र बाह्य तर्फको प्रति किलोलिटर ३० रुपैयाँ घटाएको छ । अब आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपैयाँ र बाह्य तर्फको इन्धनको मूल्य प्रतिकिलो लिटर १ हजार ४२० डलर तोकिएको छ ।
गत पुस २१ गते प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए । प्रचण्डले निर्देशन दिएको ३ दिनमा नै निगमले मूल्य घटाएको हो ।
प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमाजिक मूल्य समायोजन गरी मूल्य कटौती गर्न निर्देशन दिएका थिए । यसअघि निगमले गत पुस १ गते मूल्य घटाउने निर्णय गरेको थियो ।
