काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकहरुलाई नाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिनुपर्ने बताएकी छन् । बैंक तथा वित्तीय संस्था परिसंघको तेस्रो वार्षिक साधारण सभामा बोल्दै उनले लगानीको प्रतिफलसँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि जोड दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेकी हुन् ।
उनले सरकार र बैंकहरुबीच एकअर्काको परिपुरक बन्नुपर्ने पनि धारणा राखिन् । ‘बैंकहरुले नाफा आर्जनसँगै सामाजिक उत्तरदायित्वमा जोड दिनुपर्छ, बैंकहरुले भोग्नु परेका समस्यालाई समाधान गर्न सरकार तत्पर रहनुपर्छ, सरकार र बैंकहरु एक अर्कको परिपुरक बन्नु पर्छ,’ उनले भनिन् ।
नेपाली अर्थतन्त्र आयातमा निर्भर रहेको बेला स्वाबलम्बी अर्थतन्त्र हुनु पर्ने उनको भनाइ छ । उनले साना तथा लघु उद्यम ९एसएमई०लाई जोड दिनुपर्ने र बैंकहरुले कर्जा प्रवाहमा पनि प्राथमिकता दिनु पर्ने उनको धारणा छ ।
‘स्वावलम्बी एवम् आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नुपर्छ, राष्ट्रको पुँजी निर्माण र परिचालन गर्न बैंकको भूमिका महत्वपूर्ण छ, उद्यमशिलता विकासमा अझैं धेरै काम गर्नुपर्ने देखिन्छ, स्वदेशमै वस्तु उत्पादन गरी स्वदेशमा र निर्यात गर्न गर्न ध्यान दिनु पर्छ,’ उनले भनिन् । आर्थिक समृद्धिमका लागि रोजगारी पनि श्रृजना गर्नुपर्ने उनको भनाइ छ ।
–