
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा भएको सो भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
उनीहरुबीच एकीकृत समाजवादीबाट समर्थनसहित सरकारमा सहभागिता, विश्वासको मतलगायत विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । उनी विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा ७६ उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।