काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताएका छन् । पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने उनले बताए ।
पार्टीको भातृ संगठन युवा संघ, नेपाल काठमाडौं जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राजनीतिक पिक्चर नै क्लिएर नभएकाले पनि आफ्नो पार्टीको पोलिटव्यूरो बैठकले पनि सो सम्बन्धमा निर्णय नलिएको बताए ।
अरुकाे अनुहार हेरेर भन्दा पनि सरकारको नीति तथा कार्यक्रमलाई हेरेर, त्यहाँ रहेका राजनीतिक दलहरुको गतिविधिलाई हेरर पुस २६ गते नै सो निर्णय गर्न आफूहरु तयार रहेको अध्यक्ष नेपालले बताए ।
‘मान्छेको अनुहार हेरेर गर्ने हो भने प्रचण्डजीको अनुहार हेर्दा ल समर्थन गरिदिउँला भनौंला, तर, अनुहारले मात्रै हुँदैन, त्यहाँ अनेकहरु छन, के–के गर्छन ? थाहा छैन । अनि, अर्को पाटो हामी पनि त नेपालको राजनीतिमा छौं, हामीलाई केही पनि जानकारी छैन, अनि त्यत्तिकै अगाडि सरेर बोल्ने कुरामा के हो हतार ? हामीलाई के बित्दो छ र, २६ गते हो सरकारले विश्वासतको मत प्राप्त गर्ने कुरा, २६ गतेको दिनसम्म हामीले निर्णय गर्छाैं,’ उनले भने ।
अध्यक्ष नेपालले आफ्नो पार्टी सत्तामा जानका लागि मरिहत्तै गर्ने पक्षमा नरहेको पनि बताए ।उनले आफ्नो दलले राष्ट्रिय मान्यता प्राप्त गरेन भनेर नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।