घरेलु उपकरणबाट कपडा बुनी मनग्य आम्दानी लिँदै जगतबहादुर सिंह

<p>कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ जुडाका जगतबहादुर सिंह कृषि प्राविधिक भए पनि पेसा भने फरक अपनाएका छन् । बुवाबाजेले पुर्खौंदेखि गर्दै आएको तानमा कपडा बुन्ने कार्यलाई उनले पनि निरन्तरता दिँदै आएका हुन् । अल्लो, ढाँका, बेम्बो र सुतीको धागोबाट कपडा बुनेर पोशाक तयार गरी बिक्री गर्ने कार्यमा सिंह लागेका छन् । &#8216;बाबुबाजेले दार्चुला छँदा तान हाते [&hellip;]</p>

 

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ जुडाका जगतबहादुर सिंह कृषि प्राविधिक भए पनि पेसा भने फरक अपनाएका छन् । बुवाबाजेले पुर्खौंदेखि गर्दै आएको तानमा कपडा बुन्ने कार्यलाई उनले पनि निरन्तरता दिँदै आएका हुन् ।

अल्लो, ढाँका, बेम्बो र सुतीको धागोबाट कपडा बुनेर पोशाक तयार गरी बिक्री गर्ने कार्यमा सिंह लागेका छन् । ‘बाबुबाजेले दार्चुला छँदा तान हाते लुममा कपडा बुनाई गरी बेच्ने कार्य गर्दै आएका थिए’, उनी भन्छन्, ‘तराई झरेपछि केही वर्ष यस कार्यले निरन्तरता पाउन सकेन, कृषि प्राविधिकको पढाइ सकी विभिन्न सङ्घसंस्थामा कार्य गरेँ तर त्यसबाट खासै सन्तुष्टि मिलेन, अहिले कृषिसँगै परम्परागत पेसालाई निरन्तरता दिने कार्यमा जुटेको छु ।’

आफैँले तयार गरेको हाते लुमबाट कपडा बुनाइको काम हुने गरेको छ । परिवारका छ जनाले कपडा बुनाइको काम गर्दै आएका छन् । दुई वर्षदेखि सञ्चालन हुँदै आएको जय लटिनाथ घरेलु कपडा उद्योगमा हाल उनले चार लाख लगानी गरी विस्तार गरेका छन् । ‘घरेलु उद्योगबाट उत्पादन गरिएका कपडा बजारमा सहजै बिक्री हुन थालेका छन्’, उनी भन्छन्, ‘उद्योगलाई आवश्यकपर्ने धागोलगायत कच्चापदार्थको अभाव छ, धनगढी, बुटवललगायत क्षेत्रबाट धागो ल्याउनुपर्ने बाध्यता छ ।’ बाह्य क्षेत्रबाट धागो र कच्चापदार्थ ल्याएर कपडा तयार गर्दा मूल्य उच्च हुने गरेको छ ।

यसैकारण पहाडी क्षेत्रबाट अल्लो ल्याएर घरमै प्रशोधन गर्ने उपकरण राखी धागो उत्पादन गर्ने सोच बनाएका सिंहको उद्योगबाट पुरुषका लागि कोट, पाइन्ट, सर्ट, महिलाका लागि दोपट्टा, कुर्ता, सुरुवाल, फ्रकलगायत कपडा उत्पादन हुने गरेको छ । व्यापारीले अर्डर गरेअनुसार तयारी पोशाकका लागि सिलाइ मेसिन राखेर एक जनालाई रोजगारी दिइएको छ । घरका छसहित सात जनाले उद्योगमा प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । उद्योगबाट हाल दुई लाख रुपैयाँ भन्दाबढीको कपडा उत्पादन भइसकेको छ ।

‘ग्राहकले उत्पादित कपडा निकै रुचाउन थालेका छन्’, सिंह भन्छन्, ‘ग्राहकको मागअनुसार सस्तो कपडा उत्पादन गर्न कच्चापदार्थ पाउन सकेका छैनौँ ।’ घरेलु उद्योगमा उत्पादन भएको कपडाबाट तयार गरिएको कोट पाँच हजार रुपैयाँ, पाइन्ट दुई हजार पाँच सय रुपैयाँ, सर्ट एक हजार दुई सय रुपैयाँमा बिक्री हुने गरेको छ । बिक्री मूल्यमा ३० प्रतिशत जति नाफा हुने गरेको छ ।

‘स्वदेशी कच्चापदार्थ र सीप प्रयोग गरी परम्परागत तरिकाले तयार गरिने कपडाको माग धेरै छ’, सिंहका बुवा विष्णुबहादुर भन्छन्, ‘घरमै तयार गरिएका पुरानै उपकरणको सहायताले कपडा बुन्दा ढिलो हुनाका साथै उत्पादन पनि थोरै हुनेगरेको छ ।’ आधुनिक तरिकाले कपडा बुन्ने उपकरणको व्यवस्था गर्न सकिए उत्पादन बढाउन सकिने उनको भनाइ छ । ‘स्थानीयस्तरमै पाइने अल्लो, भाँगो र कपासबाट धागो उत्पादन गर्न सकिन्छ, त्यसका लागि मेसिन चाहियो’, उनी भन्छन्, ‘तत्काल आधुनिक मेसिन खरिद गर्न लगानी छैन, पुरानै पद्धतीमा काम गर्दै आएका छौँ ।’

विभिन्न सरकारी निकायमा अनुदान र आधुनिक तरिकाले कार्य गर्न तालिमको व्यवस्था मिलाइदिन आग्रह गरिए पनि कुनै पनि निकायले चासो नदिएको उद्योग सञ्चालक सिंहको गुनासो छ ।

सिंह परिवारले परम्परागत रुपमा घरमै निर्माण गरिएको उपकरण प्रयोग गरी कपडा बुन्ने गरेको नगरपालिका क्षेत्रमै पहिलो भएको नगरपालिकाको उद्योग शाखा प्रमुख डिबी कुश्मी बताउँछन् ।

यस कार्यलाई प्रोत्साहित गर्नका लागि प्रस्तावसहित आए शाखाका तर्फबाट हुने सहयोग गर्न प्रतिबद्ध रहेको उनी बताउँछन् । ‘घरेलु उद्योगलाई आधुनिक बनाउन नयाँ प्रविधि हस्तान्तरणमा घरेलु तथा साना उद्योग कार्यालयबाट पनि कार्यक्रम सञ्चालन भइरहेका छन्’, उनी भन्छन्, ‘नगरपालिकाले पनि घरेलु उद्योगलाई प्रवद्र्धन गर्ने नीति लिएको छ ।’ घरेलु उद्योगबाट उत्पादित कपडाका तयारी पोशाक स्थानीय बजार झलारीसँगै महेन्द्रनगर र धनगढीसम्म बिक्री हुने गरेको छ ।

Share News