गणेश यादवका परिवारसँग ८ बुँदे सहमति, १० लाख राहतसहित सहिद घोषणा गर्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारसँग आठ बुँदे सहमति गरेका छन् ।

जिल्ला सुरक्षा समितिको बैठकपछि गृहमन्त्री गुरुङ शुक्रबार राति सिरहाको औरही गाउँपालिका-२, तुलसीयाहीस्थित मृतक यादवको घर पुगेका थिए । त्यहाँ मृतकका बुबा-आमा तथा आफन्तसँग भएको छलफलपछि आठबुँदे सहमति गरेका हुन् । 

सम्झौताअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । साथै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने सहमति भएको छ ।

यस्तै, मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने, मृतकको सम्झनामा स्थानीय तहसँग समन्वय गरी स्मृति पार्क तथा सालिक निर्माणका लागि पहल गर्ने सहमति भएको छ ।

सम्झौतामा मृतककी दाइ र बहिनीको निःशुल्क शिक्षाको व्यवस्था गर्ने, मृतकका बुबा र आमाको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने तथा परिवारका अन्य माग पनि यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ ।

सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा साउन १४ गते भएको प्रदर्शनका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो ।

Share News