राष्ट्रिय लोकमार्गमा ‘हाइड्रोपावर’ निर्माण

<p>बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयवासीले हाइड्रोपावर निर्माण गरिरहेका छन् । लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रालिले सडक अतिक्रमण गरी पाइप बिच्छ्याइएको छ । सडकको कुनापट्टि पाइप बिछयाउँदा सडक साँघुरो बनेर दुर्घटनाको जोखिम बढेको जनाइएको छ  । हाइड्रोपावर निर्माण [&hellip;]</p>

 

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयवासीले हाइड्रोपावर निर्माण गरिरहेका छन् । लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रालिले सडक अतिक्रमण गरी पाइप बिच्छ्याइएको छ ।

सडकको कुनापट्टि पाइप बिछयाउँदा सडक साँघुरो बनेर दुर्घटनाको जोखिम बढेको जनाइएको छ  । हाइड्रोपावर निर्माण कम्पनीले सवारी आवतजावत नै ठप्प बनाएर सडकमा पाइप बिछ्याउने गरेको गाडी चालकहरूको भनाइ छ । लोकमार्ग कार्यालयसँग मापदण्ड बनाएर हाइड्रोपावर निर्माण गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले मापदण्डविपरीत काम गरेको पाइएको छ ।

मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारी भन्छन्, ‘सम्झौताअनुसार काम गर्न चार पटकसम्म पत्रचार गर्यौँ, तर उनीहरूले हाम्रो पत्रको कुनै जवाफ दिएका छैनन्, हामीहरूले सम्झौताविपरीतको काम रोकेर मापदण्डअनुसार काम गर्न पटक–पटक भन्यौँ, जिल्ला प्रशासनलाई पनि यो रोक्न पत्र पठाएका छौँ, कतिपय ठाउँमा मापदण्डअनुसार भएको छ भने भेरै ठाउँमा विपरीत छ ।’

हाइड्रोपावर प्रालिले लोकमार्गको पत्रचारलाई बेवास्ता गरी मापदण्डविपरीत काम धमाधम गरिरहेको छ । भण्डारीले हाइड्रोपावरको काम गर्नका लागि एउटा नक्सासमेत तयार पारेको भन्दै त्यसअनुसार नभए निर्माण भएका संरचना भत्काउन आफूहरू बाध्य हुने बताउँछन् ।

उनले भनिन्, ‘म फिल्डमै गएर किन यस्तो भयो भनेर बुझ्न खोजेँ, बुझ्न बोलाए तर उनीहरू आएनन्, यदि निर्माण कम्पनीले सम्झौताविपरीत काम गरिरह्यो भने, त्यो भत्काउनेसम्म हाम्रो अधिकार रहन्छ, उहाँहरूलाई सम्झौताअनुसार गर्ने स्थितिमै ल्याउँछौँ, एउटा नक्सासमेत तयार भएको छ, त्यो नक्साअनुसार पनि भएन भने हामी भत्काउँछौँ ।’

सात मिटर चौडाइ रहेको दुई लेनको सडकमा कुना भागबाट पाइप बिछ्याउँदा पाँच मिटर पनि पुग्दैन । हाइड्रोपावरको पाइपले कुनापट्टिको नालीसमेत पुरेको छ । हाइड्रोपावर प्रालिले पाइप बिछ्याएपछि सडक निकै साँघुरो भएको भण्डारी बताउछन् । मध्यपहाडी लोकमार्ग मिचेर हाइड्रोपावर बनाउँदा सडक दुर्घटनाको जोखिमसमेत बढेको उनको भनाइ छ ।

दरमखोला हाइड्रोपावर प्रालिका प्रमुख नीरज पुनले सडक विभागको अनुमति लिएर काम अगाडि बढाएको बताए । उनी आफूहरूले सम्झौताविपरीत काम नगरेको दाबी गर्छन् । उनले लोकमार्गको कार्यालय प्रमुख नयाँ आएका र उनले धेरै कुरा नबुझेको हुनसक्ने बताए ।

प्रमुख पुन भन्छन्, ‘सुरुमा जे सम्झौता भएको थियो सोहीअनुसार काम गरेका छौँ, सम्झौताविपरीत भएको जस्तो लाग्दैन, पहिलेका हाकिमसँग छलफल गरेर, एउटा सम्झौता गरेका थियौँ, सोहीअनुसारका काम गरेका हौँ, अहिले नयाँ हाकिम आएका होलान्, उनलाई सबै थाहा नभएको हुनसक्छ ।’

जिल्ला समन्वय समिति बागलुुङका प्रमुख अमर थापाले लोकमार्गका छेउछाउमा हाइड्रोपावरका संरचना बनाउँदा सडक नै जोखिममा पर्ने बताए । उनले भने, ‘लोकमार्ग छेउमा जुन हाइड्रोपावरको पाइप बिछ्याइएको छ, यो गलत भएको छ, भोलि जतिबेला पनि यो पाइप फुट्न सक्छ, त्यो अवस्थामा सडकको हालत के हुन्छ ?, त्यसले गर्दा यस्ता संरचना बनाउँदा सबै पक्षले ध्यान पुर्याउनुपर्छ ।’

उनले राज्यको सम्पत्ति जोखिममा पारेर संरचना बनाइन नहुने बताए । राष्ट्रिय गौरवको आयोजना अतिक्रमण गरी हाइड्रोपावरका लागि पाइप बिछ्याउने कार्य दुर्भाग्यपूर्ण भएको भन्दै यसमा संयमता अपनाउनुपर्ने बताए । पछि गएर ठूलो दुर्घटना हुनुभन्दा अहिले नै ठोस निर्ण गर्नुपर्ने प्रमुख थापा बताउछन् ।

दरमखोला हाइड्रो इनर्जीले आगामी असार मसान्तभित्र सक्ने गरी हाइड्रोपावरको कामलाई तीव्रता दिएको छ । यहाँबाट ९।६ मेगावाट विद्युत् निकालिने कम्पनीले जनाएको छ । यस ठाउँलगायत अन्य स्थानमा पनि विभिन्न व्यक्ति तथा निर्माण व्यवसायीले लोकमार्ग क्षतविक्षत बनाएका जनाइएको छ । रासस

 

Share News