काठमाडौं । विराटनगर महानगरपालिकाभित्रका जग्गाको कित्ताकाट खुला भएको छ। सरकारले भू-उपयोग ऐन २०७६ बमोजिम जग्गाको वर्गीकरण नभएसम्म कित्ताकाट गर्न रोक लगाएपछि तीन वर्षयता जग्गाको कित्ताकाट बन्द भएको थियो । सरकारले भू-उपयोग नियमावली २०७९ जारी गरेपछि अंशबण्डा र कित्ताकाटका लागि अदालतबाट भएको फैसलासमेत कार्यान्वयन नहुने अवस्था थियो।
महानगरपालिका भू-उपयोग परिषद्ले कृषि र गैह्रकृषिलगायत नियमावली बमोजिम जग्गाको वर्गीकरण गरेर कार्यान्वयन गर्ने निर्णय भूमिसुधार तथा मालपोत कार्यालयलाई जानकारी गराएको थियो। महानगरको निर्णय प्राप्त भएपछि मालपोत कार्यालयले वडालाई पत्र पठाएर आवश्यक सिफारिस गर्न भनेको छ।
महानगरपालिका भू-उपयोग परिषद्ले कृषि र गैह्रकृषिलगायत नियमावली बमोजिम जग्गाको वर्गीकरण गरेर कार्यान्वयन गर्ने निर्णय भूमिसुधार तथा मालपोत कार्यालयलाई जानकारी गराएको थियो। महानगरको निर्णय प्राप्त भएपछि मालपोत कार्यालयले वडालाई पत्र पठाएर आवश्यक सिफारिस गर्न भनेको छ। परिषद्को बैठकले भूमिसम्बन्धी लगत सङ्कलन, विश्लेषण र उपयोगका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।
भू-उपयोग नियमावली बमोजिम नयाँ भू-उपयोग नक्सा तयार गरेपछि मात्र जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको थियो। महानगरले नियमावलीको उक्त अवरोधलाई सहज बनाउने गरी भू-उपयोग क्षेत्र वर्गीकरणको परिवर्तित नक्सा बमोजिम जग्गाधनी दर्ता, श्रेस्ता तथा जग्गाधनी पूर्जामा भू-उपयोग वर्गीकरण क्षेत्र जनाई अद्यावधिक गरी पत्राचार गर्ने निर्णय गरेको छ।
भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरका प्रमुख दीपक कोइरालाले भने ‘महानगर भू-उपयोग परिषद्ले जग्गाको वर्गीकरण गरी कार्यान्वयनका लागि लेखिपठाएकोले कार्यान्वयन गर्छौं।’ कार्यान्वयनका क्रममा निर्णय अनुसार नयाँ भू-उपयोग नक्सा तयार हुने उनले बताए।। भूउपयोग नियमावलीले जग्गालाई विभिन्न नौं वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको छ।
महानगरपालिकाले स्वीकृत भू-उपयोग योजना कार्यान्वयन गर्न सबै वडालाई निर्देशन दिइसकेको छ। यो निर्णयपछि विराटनगर १४, १६ र १८ नम्बर वडाबाहेकका जग्गा कित्ताकाट गर्न सकिनेछ। सम्भवतः मङ्गलबारबाट महानगरका जग्गा कित्ताकाट सुरु हुने मालपोत कार्यालयले जनाएको छ। गोरखापत्र दैनिकबाट ।