सन्दीप बने नेपालकाे ओडीआई कप्तान, रोहित पौडेल पदमुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको एकदिवसीय (ओडिआई) कप्तानबाट रोहित पौडेललाई हटाउँदै लेगस्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान चयन गरेको छ । 

हालै नेदरल्याण्ड्समा सम्पन्न आईसीसी विश्वकप लिग-२ मा नेपाली टोलीको खराब प्रदर्शनपछि क्यानले नेतृत्व परिवर्तन गर्ने निर्णय लिएको हो ।

यससँगै सन्दीप चार वर्षको अन्तरालपछि पुनः कप्तानको भूमिकामा फर्किएका छन्। यसअघि सन् २०२२ मा कानुनी विवादका कारण उनले कप्तानी गुमाएका थिए । 

यता, क्यानले टी-२० टोलीको नेतृत्व दीपेन्द्रसिंह ऐरीलाई सुम्पिसकेकाले रोहितले दुवै फम्र्याटको कप्तानी गुमाउन पुगेका छन् ।

सन्दीपको कप्तानीमा नेपाली टोलीले आगामी अगष्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्नेछ ।

प्रतियोगिताका लागि क्यानले सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, डा. इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी समावेश रहेको टोली घोषणा गरेको छ ।

Share News