काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको एक महिना नपुग्दै दोस्रो पटक आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ४ वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।
कार्यालयका अनुसार ४ वर्षे विकास ऋणपत्र-२०८७ साउन २७ गते बोलकबोलमार्फत बिक्री गरिनेछ भने साउन २८ गते ऋणपत्र निष्कासन गरिनेछ ।
उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीले सहभागिता जनाउन सक्नेछन् । इच्छुक खरिदकर्ताले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण व्यवस्थापन प्रणालीमार्फत बोलकबोल पेस गर्न सक्ने कार्यालयले जनाएको छ ।
यसअघि गत साउन २१ गते कार्यालयले १५ वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो । चालु आर्थिक वर्षमा सरकारले आन्तरिक ऋणमार्फत कुल ४ खर्ब १० अर्ब रुपैयाँ जुटाउने लक्ष्य राखेको छ ।
सरकारले चालु आर्थिक वर्षमा ट्रेजरी बिलमार्फत १ खर्ब ४ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ३ खर्ब रुपैयाँ, नागरिक बचतपत्रमार्फत ५ अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रमार्फत १ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।