काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरिएको नियुक्ति बदर गरेको छ । न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले बिहीबार अन्तिम सुनुवाइ गर्दै श्रेष्ठको नियुक्ति कानुनसम्मत नभएको ठहर गरेको हो ।
श्रेष्ठविरुद्ध उपेन्द्रबहादुर कार्कीले रिट निवेदन दायर गरेका थिए । यद्यपि, कार्कीले आफूलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गर्नुपर्ने मागसहित गरेको दाबी भने नपुगेको सर्वोच्चले आदेशमा उल्लेख गरेको छ ।
श्रेष्ठको नियुक्ति पर्यटन मन्त्रालयसम्बद्ध ‘सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३’ विपरीत देखिएको थियो । उक्त मापदण्डअनुसार कुनै निकायको कार्यकारी प्रमुख नियुक्त हुने व्यक्तिको उमेर ३० वर्ष पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।
श्रेष्ठ ६५ वर्ष उमेर नाघिसकेको तथा निगमबाट अवकाश पाएको ३४ वर्षपछि पुनः नियुक्त गरिएको भन्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चको फैसलासँगै श्रेष्ठ कार्यकारी अध्यक्ष पदबाट पदमुक्त भएका छन् । अब सरकारले नयाँ प्रक्रियाबाट निगमको कार्यकारी अध्यक्ष नियुक्त गर्नुपर्नेछ । श्रेष्ठ भने निगमको सञ्चालक समिति सदस्यका रूपमा कायम रहनेछन् ।