काठमाडौं । प्रिन्स ह्यारी र उनकी पत्नी मेघन मार्केलले राजकीय जिम्मेवारीबाट अलग भएको छ वर्षपछि यही महिना बेलायत फर्किने तयारी गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
‘ड्युक एन्ड डचेस अफ ससेक्स’ ह्यारी र मेघन आफ्ना दुई सन्तान ७ वर्षीय प्रिन्स आर्ची र ५ वर्षीया प्रिन्सेस लिलिबेटसहित क्यालिफोर्नियाबाट बेलायत फर्किन लागेका हुन् ।
उनीहरू लामो समय बेलायतमै बस्ने र दुवै छोराछोरीले आगामी सेप्टेम्बरदेखि त्यहीँ विद्यालय जाने ‘पिपुल’ म्यागजिन र बेलायती पत्रिका ‘द टेलिग्राफ’ले जनाएका छन् ।
ह्यारी र मेघनले सन् २०२० मा राजकीय जिम्मेवारीबाट अलग भएपछि अमेरिकाको क्यालिफोर्नियास्थित सान्ता बारबरानजिकैको मोन्टेसिटोमा बस्दै आएका थिए ।
सञ्चारमाध्यमका अनुसार उनीहरूले त्यहाँ १६ वटा बेडरुम भएको घर १ करोड ४७ लाख अमेरिकी डलरमा खरिद गरेका थिए ।
त्यसपछि ह्यारी र मेघनले विभिन्न टेलिभिजन अन्तर्वार्ता, नेटफ्लिक्सको वृत्तचित्र शृङ्खला र ह्यारीको संस्मरणात्मक पुस्तक ‘स्पेयर’मार्फत बेलायती राजपरिवार र राजसंस्थामाथि पटक–पटक आलोचना गरेका थिए ।
सन् २०२१ मा ओप्रा विन्फ्रेसँगको अन्तर्वार्ताका क्रममा मेघनले राजपरिवारका एक सदस्यले उनका छोरा आर्चीको छालाको रङ कति गाढा हुन सक्छ भनेर प्रश्न गरेको बताएकी थिइन् ।
त्यसपछि ह्यारीका दाजु तथा बेलायती राजगद्दीका उत्तराधिकारी प्रिन्स विलियमले बेलायती राजपरिवार जातिवादी रहेको आरोप अस्वीकार गरेका थिए ।
ह्यारीले आफ्ना पिता राजा चार्ल्स र दाजु विलियमबारे पनि कडा टिप्पणी गरेका थिए । त्यसपछि उनीहरूबीचको सम्बन्ध निकै बिग्रिएको थियो ।
ह्यारी बेलायती सरकारले आफ्नो सुरक्षा व्यवस्थामा गरेको परिवर्तनप्रति पनि असन्तुष्ट थिए । स्वतः प्राप्त हुने प्रहरी सुरक्षा हटाइएपछि आफ्ना छोराछोरीलाई बेलायत ल्याउन आफू असुरक्षित महसुस गरेको उनले बताएका थिए ।
बुबा–छोराको सम्बन्धमा सुधार
तर गत सेप्टेम्बरमा ह्यारी र राजा चार्ल्सबीचको सम्बन्धमा केही सुधार देखिएको थियो । २० महिनापछि उनीहरू पहिलोपटक छोटो भेटमा सहभागी भएका थिए ।
राजा चार्ल्सलाई सन् २०२४ मा क्यान्सर भएको पत्ता लागेको थियो । गत डिसेम्बरमा उनले उपचारप्रति आफ्नो शरीरले ‘असाधारण रूपमा राम्रो’ प्रतिक्रिया दिएको र चिकित्सकहरूले उपचार क्रमशः घटाउँदै लगेको बताएका थिए ।
गत महिना ह्यारी, मेघन र उनका छोराछोरी बेलायत पुगेका बेला राजा चार्ल्सले सन् २०२२ पछि पहिलोपटक आफ्ना नातिनातिनासँग भेट गरेका थिए ।
राजा चार्ल्सले ससेक्स परिवारलाई अझ बढी भेट्न पाउने अवसरको स्वागत गरे पनि उनीहरू बेलायत फर्किने योजनाबारे भने आइतबार मात्रै जानकारी पाएको समाचारमा उल्लेख छ ।
ह्यारी र उनका पिताबीचको सम्बन्धमा सुधार आए पनि दाजु विलियमसँग भने उनको सम्बन्ध अझै सामान्य बन्न सकेको छैन ।
हलिउडमा पनि प्रयास
अमेरिका बसेपछि ह्यारी र मेघनले हलिउडमा विभिन्न सञ्चार परियोजना अघि बढाएका थिए । उनीहरूले पोडकास्ट शृङ्खलाका लागि स्पोटिफाइ र विभिन्न कार्यक्रम निर्माणका लागि नेटफ्लिक्ससँग करोडौं डलरका सम्झौता गरेका थिए ।
तर ती परियोजनाले मिश्रित सफलता पाए । ह्यारीको संस्मरणात्मक पुस्तक निकै सफल भयो भने उनीहरूको पोडकास्ट सम्झौता अन्त्य भयो । मेघनले सञ्चालन गरेको नेटफ्लिक्स कार्यक्रम तेस्रो सिजनका लागि नवीकरण भएन ।
हलिउड प्रकाशन ‘डेडलाइन’का कार्यकारी सम्पादक डोमिनिक प्याटेनका अनुसार ह्यारी र मेघनले आफूहरूले चाहेको ‘सुपरस्टार’ हैसियत हासिल गर्न नसके पनि उनीहरूले आफ्नो कथाप्रति सार्वजनिक चासो भने कायम राख्न सफल भएका छन् ।