काठमाडौं । ब्याजदरका विषयमा निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री र गभर्नरसँग छलफल गर्ने भएको छ । ब्याजदर घटाउन र चालु पूँजी कर्जा सम्वन्धी मार्गदर्शन परिमार्जनको मागसहित बिहीबार अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्ने भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले एक वर्षमा ब्याजदर ८० प्रतिशतसम्म बढेको र चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शनले झन् समस्या आउने भन्दै परिमार्जन गर्ने माग सहित दुवै निकायका प्रमुखसँग छलफल गर्ने बताएका हुन् ।
बिहीबार २ बजे अर्थमन्त्रालयमा हुने छलफलमा राष्ट्र बैंकका गभर्नर अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरु सहभागी हुनेछन् । उनले बैंकहरुले ८ प्रतिशतसम्म प्रिमियम लिएकाले उद्योगी व्यवसायी ठूलो समस्यामा परेको बताए । ‘बैंकहरुले ८ प्रतिशतसम्म प्रिमियम लिएका छन्, एक वर्षमा ८० प्रतिशतसम्म ब्याज बढेको छ जसले गर्दा हामी ठूलो समस्यामा परेका छौं,’ उनले भने ।
राष्ट्र बैंकले चालु पुँजी कर्जाको सिमा २० प्रतिशतमा झारेको थियो । उक्त व्यवस्थाले अर्थतन्त्र झनै समस्यामा पर्ने भएकाले समयमा नै परिमार्जन गर्नु पर्ने अध्यक्ष गोल्छाको माग छ । साथै उनले चालु आर्थिक वर्षको हालसम्म १९ प्रतिशत राजश्व घटेकाले सरकारले यसमा सजग हुनु पर्ने उनको सुझाव छ ।
उनले महासंघले विभिन्न क्षेत्रमा सर्भे गर्दा निर्माणमा ६० प्रतिशत, जुत्ता उद्योगमा ७० प्रतिशतसम्म गिरवाट भएको देखिएको जानकारी दिए ।