काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गमा निजी सवारीसाधन आवतजावतका लागि खुला गरिएको छ ।
उद्घाटनको करिब महिना दिनपछि परीक्षण सम्पन्न भई निजी सवारीसाधनका लागि मात्रै सोमबार (आज)बाट सुरुङमार्ग खुला गरिएको नागङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना प्रमुख सौजन्य नेपालले बताए ।
‘हामीले आपतकालीन उद्धारको लाइभ घटना गराएर प्रशिक्षण सम्पन्न गरेलगत्तै आजबाट जिप, कार, भ्यान जस्ता साना सवारीका लागि सुरुङबाटैआवतजावत सुरु गरेका हौं,’ निर्देशक नेपालले भने ।
अब क्रमशः ठूला सवारीसाधनका लागि सुरुङ खोलिने उनले जानकारी दिए ।
निर्देशक नेपालका अनुसार उद्घाटनपश्चात सुरुवाती चरणमा सोमबार बिहान ९ बजेदेखि अत्यावश्यकका सवारीसाधनसहित ९ सिट यात्रु क्षमताका निजी सवारीसाधन आवतजावत गराइएको हो ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष लगायतकाको उपस्थितिमा गत साउन १३ गते सुरुङमार्ग उद्घाटन गरिएको थियो ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भएर पश्चिमतर्फ धादिङको धुनिबेँसी नगरपालिकाको सिस्नेखोलासम्म पुगिने सुरुङमार्ग निर्माणमा जापान सरकारको २१ अर्ब बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ बराबरको लगानी रहेको छ ।