ललितपुर । सहकारी क्षेत्रमा मर्जरको लहर चलेका बेलामा ललितपुरका दुई वटा सहकारी संस्था मर्ज हुने भएका छन् । महानगरपालिका–३ स्थित रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र वडा नम्बर ५ कुमारीपाटी स्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच मर्जरका लागि प्रारम्भिक सम्झौता भएको हो ।
बिहीबार ललितपुरमा दुई संस्थाका अध्यक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा लालीगुँरासका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचतका अध्यक्ष दिनेश राईले हस्ताक्षर गरेका हुन् । सहकारी ऐन २०७४, नियमावली २०७५ र सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका २०७७ को अधिनमा रही एकिकरण सम्झौता भएको जनाएको छ ।
साथै मर्जर गर्न कार्यदल पनि गठन भएको छ । कार्यदलमा लालीगुँरासका तर्फबाट अध्यक्ष श्रेष्ठ, ऋण उपसमितिका सदस्य अञ्जु उप्रेती र चाटर्ड एकाउन्टेन्ट (सीए) गोविन्द शर्मा गैरे रहेका छन् भने स्टार बचतका तर्फबाट उपाध्यक्ष श्रद्धा शाक्य र चाटर्ड एकाउन्टेन्ट (सीए) प्रयास श्रेष्ठ रहेका छन् ।
ललितपुरका दुई ठुला संस्थाबीचको सम्झौताले संस्थाको संचालक समिति, उपसमिति र सेयर सदस्यमा थप उर्जा बढ्ने अपेक्षा गरिएको छ ।