दशैंमा बैंकका सेयरधनीले लाभांश नपाउने, पैसाको अभाव हुने देखिएपछि लगानीकर्ता निराश

<p>काठमाडौं । यस वर्षको दशैंमा लगानीकर्ताले लाभांश नपाउने देखिएको छ । विगतका वर्षहरुमा बैंकका सेयरधनीले दशैंअघि नै लाभांश पाउने भएपनि यस वर्षको दशैंमा भने हात खालि नै हुने देखिएको हो । विगतका वर्षहरुमा बैंकहरुले दशैं अघि नै साधारण सभा गरिसकेर लाभांश नै वितरण गर्ने भएपनि यो वर्ष भने सो प्रक्रिया केही पछि धकेलिने भएको हो [&hellip;]</p>

काठमाडौं । यस वर्षको दशैंमा लगानीकर्ताले लाभांश नपाउने देखिएको छ । विगतका वर्षहरुमा बैंकका सेयरधनीले दशैंअघि नै लाभांश पाउने भएपनि यस वर्षको दशैंमा भने हात खालि नै हुने देखिएको हो । विगतका वर्षहरुमा बैंकहरुले दशैं अघि नै साधारण सभा गरिसकेर लाभांश नै वितरण गर्ने भएपनि यो वर्ष भने सो प्रक्रिया केही पछि धकेलिने भएको हो ।

लगानीकर्ताको इच्छा दशैं अघि नै राम्रो प्रतिफल लिएर धुुमधामका साथ दशैं मनाउने हुन्छ । तर, यसपालि भने बैंकका सेयरधनी तथा लगानीकर्ताहरुको त्यो रहर पुरा नहुने निश्चित भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंककानायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) विजेन्द्र सुवाल यसवर्ष बैंकहरुले दशैंमा लाभांश दिन सक्ने सम्भावना नभएको बताउँछन् । उनले दशैं पनि छिटो परेको र अहिले बैंकिङ प्रणालीमै तरलताको समस्या भएको कारण बैंकहरुले दशैं अघि नै लाभांश दिने अवस्थामा नभएको उनको भनाइ छ । उनका अनुसार अहिलेको समय खर्चभन्दा पनि बचत गर्ने हो ।

‘म दशैंमा खर्च गर्नु हुँदैन भन्छु, बैंकहरुमा पैसा छैन, दशैं तिहार भनेर पहिला जस्तो खसी बोकामा खर्च गर्नु हुँदैन, अहिले त भएको पैसा पनि बचत गर्नुहोस् भन्छु, बैंकमा अहिले ११ प्रतिशतभन्दा बढी ब्याज दिने भएकाले खर्चभन्दा पनि बचत गर्नुपर्छ, ब्याजदर ६/७ प्रतिशत हुँदा खर्च गर्ने हो, ११ प्रतिशत हुँदा त ब्याज पाउँदा बचत गर्ने हो, यस वर्षको दशैंमा कुनै पनि बैंकले लाभांश वितरण गर्न सक्ने अवस्था छैन,’ उनले विकासन्युजसँग भने ।

यस्तै, एनएमबि बैंकका विजनेश प्रमुख तथा स्ट्राटिजी अफिसर सुदेश उपाध्यायले यसपालिको दशैंमा सेयरधनीलाई लाभांश वितरण गर्न सम्भव नरहेको तर्क दिए । उनले अब थोरै समय बाँकी रहेकाले दशैंपछि मात्रै लगानीकर्ताले लाभांश प्राप्त गर्न सक्ने धारणा राखे ।

लाभांश वितरणका लागि ठूलो प्रक्रिया पुर्याउनु पर्छ, बैंकको सञ्चालक समितिले लाभांश घोषणादेखि राष्ट्र बैंकले स्वीकृत गर्दासम्म धेरै लामो समय लाग्छ, त्यसपछि पुनः साधारणसभा बोलाउनु पर्ने हुन्छ, त्यस कारण पनि दशैं अघि सेयरधनीले लाभांश पाउने अवस्था देखिँदैन, अहिलेसम्म लाभांश घोषणा र साधारणसभाको सूचना कुनै पनि बैंकले निकालेको छैन,’ उनले भने ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डेले पनि लाभांश वितरणका लागि बैंकहरुले प्रक्रिया गर्नु पर्ने भएकोले लाभांश वितरणमा ढिलाइ हुने बताए । उनले सम्भवतः दशैं पछि नै सेयरधनीले लाभांश पाउने धारणा राखे । उनका अनुसार दशैंपछि र तिहार अगाडि अधिकांश बैंकहरुको साधारणसभा हुन सक्छ ।

एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले बैंकहरुले राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृतिका लागि दिइरहेको भएपनि दशैं अगावै साधारणसभा गर्न सम्भव नरहेको बताए । यसपालि दशैं छिटो परेकाले बैंकहरुले सबै काम सकेर स्वीकृति लिएपनि अब सम्भव नभएको धारणा राखे ।

बैंकले लाभांश घोषणा गरेर राष्ट्र बैंकबाट लाभांश वितरणका लागि स्वीकृति पाएपनि बैंकले २१ दिनको सूचना निकालेर साधारणसभा बोलाउनु पर्ने हुन्छ । यस कारण पनि दशैं अगाडि नै सेयरधनीले लाभांश पाउने सम्भावना शून्य छ ।

लगानीकर्ता निराश

दशैं तिहारमा पैसा जम्मा गरेर परिवारसँग घुम्ने, साथीभाइहरुसँग रमाइलो गर्ने अभ्यास नेपालमा व्याप्त छ । धेरैले चाडपर्वकैं समय पारेर नयाँ–नयाँ गाडी तथा सामान खरिद गर्छन् । त्यसैले पनि धेरैले दशैं तिहारमा लाभांशको आशा राखेका हुन्छन् । तर, यस वर्ष लगानीकर्ताहरुले बैंकबाट लाभांश नपाउने भएपछि निराश बनेका छन् ।

लगानीकर्ता छोटेलाल रौनियारले यसपालिको दशैंमा लगानीकर्ताको हात रित्तो भएकोप्रति दुखेसो व्यक्त गरे । पहिला केही–केही कम्पनीले दशैंका लागि भनेर साधारणसभा गरेर लाभांश वितरण गर्ने गरेको भएपनि ती कम्पनीहरुले पनि अहिले दशैं तिहारमा लाभांश वितरण गर्न छोडेको बताए ।

‘यसपालिको दशैंमा लगानीकर्ताको हात रित्तो हुने भयो, पहिला–पहिला नेपाल इन्भेष्टमेन्ट बैंक लगायत २/४ वटा कम्पनीले दशैंमा लाभांश दिन्थे, अहिले ती कम्पनीहरुले पनि दशैं तिहारमा लाभांश वितरण गर्न छाडे, अब दशैं तिहारमा लगानीकर्ताको हात रित्तो हुने भयो,’ उनले भने ।

लगानीकर्ता रौनियारले लगानीकर्तालाई दशैं खर्च भएपनि समयमा नै साधारणसभा गर्नुपर्ने धारणा राखे । नैतिकताका आधारमा दशैं अघि नै गर्नुपर्ने भएपनि आर्थिक वर्ष सकिएको लामो सयमसम्म नगर्दा दशैं रित्तो हुने उनले भनाइ छ ।

‘एउटा नैतिकता हुनुपर्ने हो, नेपालीहरुको महान चाँड दशैं तिहार हो, सबैलाई पैसा चाहिन्छ, आर्थिक वर्ष क्लोज भएको धेरै महिना भइसक्यो, नैतिकता बोध छैन, यसमा नेप्से, सेबोन, राष्ट्र बैंक र बीमा समितिले कडाइ गर्नुपर्छ,’ उनले भने, ‘यति समय भित्र वार्षिक साधारण सभा गर्ने भनेर नियम बनाएको हो, अहिले सबै डिजिटल भइसक्यो, काठमाडौं जस्तो ठाउँमा बसेर २÷३ सय शाखाको ब्यालेन्ससिट बनाउन गाह्रो छैन, पहिला त सबै कागजी रुपमा काम हुन्थ्यो, अहिले सबै डिजिटल हुँदा पनि किन ढिलाइ हुन्छ,’ उनले प्रश्न गरे ।

यस्तै, लगानीकर्ता अम्बिका प्रसाद पौडेलले कम्पनीहरुको अडिटका कारण ढिलो हुने गरेकाले दशैं अघि नै लाभांशको अपेक्षा गर्न नहुने धारणा राखे । दशैंअघि नै साधारणसभा गरेर लगानीकर्तालाई लाभांश दिन नसकेको भन्दै दोष दिनु गलत रहेको उनको बुझाइ छ ।

‘असोजमा साधारणसभा सम्पन्न नगर्दा लाभांश नदिएको भन्दै कम्पनीलाई दोष दिन मिल्दैन, कम्पनीका धेरै शाखा कार्यालय हुन्छन्, ब्यालेन्ससिट पनि हचुवाको भरमा गर्नु हुँदैन, दशैंअघि भए असाध्यै राम्रो कुरा हो,’ उनले भने, ‘सामान्यतः २१ दिने सूचना निकाल्नुपर्छ, इन्टर्नल अडिट, फाइनल अडिट गर्नुपर्ने हुन्छ, बोर्ड बैठक बोलाउनुपर्छ, इन्टर्नल र फाइनल अडिटका प्रश्नका जवाफ दिनुपर्छ, बोर्डबाट आन्तरिक लेखा परिक्षसम्म पुर्याउनुपर्छ, सबैले ट्याक्टफुल्ली किसिमले प्यारालल्ली इन्टर्नल अडिटसँगै फाइनल अडिट सक्नुपर्छ, असाध्यै चुस्त दुरुस्त व्यवस्थापन भएका कम्पनीले समयमा गर्न सक्छ, नेपालमा त्यस्ता कुनै कम्पनी नै छैनन् ।’

जलविद्युत कम्पनी र रियल सेक्टरका कम्पनीको धेरै शाखा नहुँदा कम्पाइल गर्न नपर्नेलाई छिटो लाभांश वितरण गर्न सक्ने उनले बताए । उनले हालसम्म बीमा कम्पनीले पनि लाभांश वितरण गरेको रेकर्ड नरहेको बताए ।

दशैं अघि लाभांशको अपेक्षा राख्ने लगानीकर्तालाई म्युचुअल फण्डमा लगानी गर्न उनले सुझाए । ‘लगानीकर्ताले म्युचुअल फण्डमा लगानी गरे दशैंअघि नै लाभाशं पाउन सक्छन्, त्यसैमा लगानी गर्दा हुन्छ, दशैं अघि लाभांश खान चाहेमा म्युचुअल फण्डमा लगानी गर्दा हुन्छ,’ उनले भने ।

लगानीकर्ता तिलक कोइरालाले दशैं अघि हात रित्तो बनाउँदा लगानीकर्तालाई निराश बनाएको बताए । बैंक तथा वित्तीय संस्थाले नगद लाभांश वितरण गर्दाद शैं खर्च आउन सक्ने स्थिति हुँदा पनि कम्पनीले लाभांश घोषणा नगर्दा दुःख लागेको बताए ।

‘अघिल्ला वर्षमा दशैं अघि वा असोज मसान्त अघि वित्तीय संस्थाहरुले चाँडै अडिट गरेर रिपोर्ट राष्ट्र बैंकमा पठाएर लाभांशको प्रारम्भिक प्रस्ताव गरिसकेका हुन्थे तर यसपटक भने त्यस्तो अवस्था देखिएको छैन, दशैं मनाउन लाभांशबाट पैसा आउँछ भनेर आश गरेका लगानीकर्तालाई निराश बनाएको छ,’ उनले भने, ‘दशैंमा धेरै बैंक तथा वित्तीय संस्थाले नगद लाभांश वितरण गर्दा दशैं मनाउन पुग्ने खर्च आउन सक्थ्यो, वाणिज्य बैंकहरुको १०÷१५ प्रतिशतसम्म नगद लाभांश सजिलै वितरण गर्ने अवस्था थियो तर कुनै पनि बैंकले दशैंअघि लाभांश वितरण नगर्दा राम्रो लगानी गर्ने लगानीकर्ताको दशैं खल्लो हुने भयो ।’

‘लाभांशमा आधारित भएर लगानी गर्ने लगानीकर्तालाई यसपटक गाह्रो हुन्छ, ठूलाठूला संस्थापक सेयरधनीहरुलाई पनि गाह्रो हुन्छ, उहाँहरु लाभांश प्राप्त गरेर नै खर्च गर्छन्, मेरो यति कित्ता छ, यति प्रतिशत लाभांश आउँदा यति हुन्छ भनेर हिसाव गरिरहेका हुन्छन् तर त्यो नहुँदा संस्थापक लगानीकर्तालाइ असर पर्छ,’ लगानीकर्ता कोइरालाले भने, ‘नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंकमा ठूलो सेयर होल्ड रहेको राष्ट्रिय बीमा सहित अन्य बीमा कम्पनी, म्युचुअल फण्डलाई असर पर्छ तर म्युचुअल फण्डले आफ्नो कोषबाट लाभांश प्रस्ताव गरेर धमाधम वितरणगरिरहेका छन् ।’

राष्ट्र बैंकको कारणले होइन : ढकाल

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरभिजन विभागका प्रमुख देव कुमार ढकाल नेपाल राष्ट्र बैंकको कारण लाभांश वितरणमा ढिलाइ नभएको धारणा राखे । उनले बैंक तथा वित्तीय संस्थाले जति छिटो काम गर्यो राष्ट्र बैंकले पनि सोही अनुसार स्वीकृत गर्ने काम गर्ने बताउँदै बैंकहरुको कारणले नै लाभांश वितरणमा ढिलाइ भइरहेको उनको भनाइ छ ।

उनले दशैं नजिक आइसकेकाले लगानीकर्ताको हात रित्तो हुने स्वीकार गरे । हालसम्म ५÷६ वटा बैंकले मात्रै लेखा परीक्षण प्रतिवेदन स्वीकृतका लागि लागि राष्ट्र बैंक आएको बताए ।

‘आवेदन दिएका बैंकको डकुमेन्ट पुगेको छ भने राष्ट्र बैंकले ढिला गर्दैन, हालसम्म ५/६ वटा बैंकको आएको छ, ती बैंकका लगानीकर्ताले दशैंअघि लाभांश खान पाउँछन् वा पाउँदैनन् भन्न सकिँदैन, एजिएमको समय हुन्छ, अगाडि सूचना निकाल्नुपर्ने हुन्छ, दशैं पनि नजिक आइसकेको छ,’ उनले भने, ‘दशैं अघि लाभांश खान सहज छैन, प्रक्रिया पुरा गरेका छन वा छैनन, प्रक्रिया पुरा नगरेको भए दशैंमा लाभांश खान सहज छैन ।’

राष्ट्र बैंकले दशैं अघिसाधारण सभा गर भनेर दबाब दिन नमिल्ने बताए । लगानीकर्ताको लागि कहिले प्रतिफल दिने भनेर बैंक व्यवस्थापनको काम रहेको उनको भनाइ छ । राष्ट्र बैंकले डकुमेन्ट आयो भने काम गरिदिने मात्रै रहेको उनको भनाइ छ ।

Share News