नक्सा पास नभएका संरचना भत्काउने योजनाबाट बालेन ‘ब्याक’, पुराना संरचनाको पनि नक्सा पास हुने

<p>काठमाडौं । गत भदौ ८ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नक्सा पास नभएका घर तथा संरचनाहरु पनि भत्काउने धारणा दिए । उनले आरबी कम्प्लेक्समा बनेको अवैध संरचनालाई भत्काउँदै नक्सा पास नभएका संरचना पनि महानगरले भत्काउने उद्घोष गरेका थिए । ‘कानुन ठूलोलाई लाग्ने सानोलाई नलाग्ने हुँदैन, सबैलाई बराबर हो, हामीले जिल्ला अदालतलाई समय दिएका [&hellip;]</p>

काठमाडौं । गत भदौ ८ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नक्सा पास नभएका घर तथा संरचनाहरु पनि भत्काउने धारणा दिए । उनले आरबी कम्प्लेक्समा बनेको अवैध संरचनालाई भत्काउँदै नक्सा पास नभएका संरचना पनि महानगरले भत्काउने उद्घोष गरेका थिए ।

‘कानुन ठूलोलाई लाग्ने सानोलाई नलाग्ने हुँदैन, सबैलाई बराबर हो, हामीले जिल्ला अदालतलाई समय दिएका छौं, जिल्ला अदालतको नक्सा पास छैन भने त्यहाँ पनि डोजर चल्छ,’ उनले भनेका थिए । तर, अहिले उनी आफ्नो निर्णयबाट पछि हटेका हुन् ।

अब काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सा नभएर सञ्चालनमा रहेका संरचनाहरुको नक्सा पास गर्ने प्रक्रियामा जाने भएको छ । यसअघि अनधिकृत र नक्सा नै नभएका संरचना भत्काउने योजनामा रहेको महानगरपालिका अब नक्सा पास नभएका संरचनाहरुको नक्सा पास गरेर अगाडि बढ्ने प्रक्रियामा लागेको हो ।

अहिले काठमाडौं महानगर भित्र नक्सा नै पास नभईकन सञ्चालनमा भएका संरचनाहरूको नाम बाहिरिन थालेको छ । तर, अब ती संचनाहरु नहटाउने मनसायमा महानगर पुगेको हो । महानगरपालिकाले अहिले नक्सा पास नभएका संरचनाहरूलाई नक्सा पास गर्ने प्रक्रिया अगाडि बढाउन लागेको काठमाडौं महानगरपालिकाका सहरी विकास विभागका निर्देशक सुरज शाक्यले बताए ।

महानगरपालिका भित्र कति संख्यामा सरकारी तथा निजी भवनका संरचनाहरू नक्सा बिनै सञ्चालनमा छन्, यसको तथ्यांक महानगरपालिकासँगै छैन । ‘कति वटा घरले नक्सा पास गरेका छैनन्, त्यो विषय हामीलाई थाहा हुँदैन, संम्भवत पुराना धेरै घरहरुको नक्सा छैन, नक्सा नभइएका संरचनाको नक्सा पास हुने प्रक्रिया अब सुरु हुन्छ,’ उनले भने ।

अहिले महानगरले नक्सा विपरितका अनधिकृत बनेका संरचनामा हटाइरहेको छ । सो कामलाई भने उनले निरन्तरता दिने शाक्यले बताए । नक्सा पास नभएका संरचनाहरू महानगरले अहिले भत्काएको छैन । महानगरपालिकाले केही दिनमा नै नक्सा नभएका संरचनाहरूको नक्सा पास गर्ने प्रक्रिया अगाडि बढाउने बताए । महानगरले ९० दिने सूचना जारी गरि नक्सा पासका लागि सर्वसाधारणलाई आव्हान गर्ने बताए ।

उक्त अवधि भित्रमा पनि नक्सा बनाइ पास गराएनन् भने के कारबाही हुन्छ भन्ने बारेमा सोही समयमा थाहा हुने शाक्यले बताए । यसरी नक्सा पास गर्ने प्रक्रिया भने स्थानीय तह कार्य सञ्चालन ऐन तथा नक्सा पास कार्यविधिमा उल्लेख भए अनुसार गर्नु पर्नेछ ।

काठमाडौं महानगरका अनुसार जिल्ला अदालतको भवन नक्सा पासै नगरी बनेको छ । उक्त भवन निर्माण भएदेखि नै नक्सा पास भएको छैन । नक्सा पास नभए पनि अब जिल्ला अदालतको नक्सा पास गर्ने प्रक्रिया सुरू हुने पनि महानगरपालिकाले बताएको छ ।

यस्तै, काठमाडौं महानगरपालिकाको पुरानो बसपार्कमा रहेको वडा नं. २८ को कार्यालय भवन नक्साविनै सञ्चालन भइरहेको छ । उक्त भवनमा १२० वटा पसल सञ्चालनमा छन् । भवनमा पार्किङका लागि अण्डरग्राउण्ड पनि बनेको छ । तर, सो अण्डरग्राउण्ड व्यवसायिक प्रयोजनमा प्रयोग भइरहेको छ । अब यो कार्यालयलाई पनि हटाउनेभन्दा पनि नक्सा पास गरेर अगाडि बढ्ने योजनामा महानगर छ ।

स्थानीय तह कार्यसञ्चालन ऐन २०७४ लागू गर्नुअघि नक्सा पास नभएका भवनलाई एकपटकका लागि नक्सा पास गर्ने वा नक्सा हेरफेर गर्न दिने व्यवस्था कानुनमा गरिएको छ।

Share News