नयाँ नोट सटही : डिजिटल कारोबारमा धक्का !

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकको प्राथमिकता नगद कारोबार घटाउँदै वित्तीय क्षेत्रमा डिजिटल कारोबार बढाउनु हो । सरकारको समेत प्राथमकिता रहेको डिजिटल कारोबार राष्ट्र बैंकले आफ्नो मुख्य प्राथमिकतामा राखोके छ । तर, दशैं तिहारको लागि नयाँ नोट बजारमा पठाएर डिजिटल कारोबारलाई नै प्रभावित गर्ने काम राष्ट्र बैंकबाट भएको जानकारहरु बताउँछन् । दशैं तिहारलाई लक्षित गरेर भदौको [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्राथमिकता नगद कारोबार घटाउँदै वित्तीय क्षेत्रमा डिजिटल कारोबार बढाउनु हो । सरकारको समेत प्राथमकिता रहेको डिजिटल कारोबार राष्ट्र बैंकले आफ्नो मुख्य प्राथमिकतामा राखोके छ । तर, दशैं तिहारको लागि नयाँ नोट बजारमा पठाएर डिजिटल कारोबारलाई नै प्रभावित गर्ने काम राष्ट्र बैंकबाट भएको जानकारहरु बताउँछन् ।

दशैं तिहारलाई लक्षित गरेर भदौको अन्तिम सातादेखि बजारमा नयाँ नोट पठाउने तयारीमा राष्ट्र बैंक छ । आफै नगद कारोबार घटाउने तयारीमा लागेको राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउँदा डिजिटिल कारोबार प्रभावित हुन सक्ने बुझाइ धेरैको छ ।

राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने बताएको छ । गत वर्ष ८ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाएको राष्ट्र बैंकले यस वर्ष १० अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाउने तयारी गरेको छ । यसरी प्रत्येक वर्ष अर्बाै रुपैयाँका नयाँ नोट बजारमा पठाउँदा बैंकले आफ्नो डिजिटल कारोबारमा समेत ध्यान नदिएको गुनासो छ ।

राष्ट्र बैंकले नगद कारोबारलाई पूर्ण रुपमा अन्त्य गर्न नसकेपनि डिजिटिल कारोबारमा जोड दियो भने प्रत्येक वर्ष बजारमा अर्बाै रुपैयाँ पठाउनु नपर्ने धारणा धेरैको छ । दशैं तिहारको समयमा धेरै कारोबार हुने भएकाले नयाँ नोटको सट्टा डिजिटल कारोबारलाई बढी जोड दिनुपर्ने सरोकारवालाको सुझाव छ । नयाँ नोट सटही गर्दा एकातर्फ नयाँ नोट छपाइको लागत बढ्ने र अर्कोतर्फ डिजिटल कारोबार गर्ने कार्यक्रम प्रभावित हुन सक्ने धेरैको बुझाइ छ ।

राष्ट्र बैंकले डिजिटलमा जोड दिएको भएपनि देश अनुसारको भेष गर्नुपर्ने बाध्यता रहेको एक बैंकर्सले विकासन्युजसँग बताए । दशैंतिहार नेपालीहरुको चाडपर्व भएकाले पनि राष्ट्र बैंकले सँस्कृति जोगाउन नयाँ नोट वितरण गर्नुपर्ने दायित्व रहेको उनको भनाइ छ । तर, नयाँ नोट वितरण गर्नुपर्ने चलन बन्द गर्नुपर्ने उनले बताए ।

‘नयाँ नोट वितरण घटाउनुपर्छ, नगद कारोबारलाई विस्तारै निरुत्साहित गर्नुपर्छ, नोट ल्याउँदा लाग्ने लागतलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नुपर्छ,’ उनले भने, ‘दक्षिणा दिने समयमा डिजिटल हुनुपर्छ, परम्परा पनि जोगियो डिजिटल कारोबार पनि भयो, उपभोग पनि बढ्यो, बैंकिङ्ग प्रणालीमा पैसा पनि सर्कुलेसन भयो, डलर खर्च पनि रोकियो ।’

राष्ट्र बैंकले डिजिटल कारोबालाई बढी जोड दिनुपर्ने उनको भनाइ छ । राष्ट्र बैंकले पछिल्ला वर्षहरुमा नोटहरुको संख्या घटाएपनि डिजिटल कारोबारलाई अझै बढाउनुपर्ने उनले बताए । ग्रामिण भेगमा पनि स्मार्ट फोन र इन्टरनेटको पहुँच पुगिसकेकाले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु पर्ने उनको भनाइ छ ।

‘दुर्गम स्थान जहाँ यातायातको पहुँच नै छैन् त्यहाँ पनि मान्छे र खच्चरबाट ढुवानी गरेर स्मार्ट फोनका पसल सञ्चालनमा छन्, ग्रामीण क्षेत्रमा पनि महँगो स्मार्टफोन र आइफोन बिक्री भइरहेका छन्, इन्टरनेटको पहुँच पुगेको ठाउँमा स्मार्ट फोन नचलाउने भन्ने हुँदैन्,’ उनले भने, ‘इन्टरनेट नपुगेको ठाउँ नै छैन्, राष्ट्र बैंकले डिजिटल कारोबारमा जनतालाई प्रोत्साहन गर्नु पर्छ ।’

‘दशैंको बेलामा दक्षिणा दिँदा नोटको सट्टा सिक्का प्रयोग गरेपनि हुन्छ, बढी दक्षिणा दिन चाहेमा डिजिटल कारोबार गर्दा हुन्छ, दशैं तिहारको अवधिमा डिजिटल कारोबार निःशुल्क पनि गर्न सकिन्छ, यसको लागि राष्ट्र बैंकले नीति बनाउनु पर्छ,’ उनले भने ।

‘कोरोना महामारीका बेलामा लकडाउन हुँदा कसैले पनि पैसा लिएनन्, त्यो बेलामा पनि हाम्रो परम्परा धानेकै थियो, बरु दक्षिणा दिँदा सिक्का दिउँ, बढी दक्षिणा दिनु छ भने क्यूआरबाट ट्रान्सफर गर्नु पर्ने व्यवस्था गर्नु पर्छ, उनले भने, ‘दशैंको समयमा क्यूआर, अन्तरबैंक शुल्क छुट गर्ने व्यवस्था गर्नु पर्छ, पैसा पनि बैंकिङ प्रणालीमा रहन्छ, लाइन लागेर पैसा लिनु पनि परेन ।’

यस्तै, एफवान सफ्टका चिफ मार्केटिङ्ग अफिसर अद्धैत रत्न तुलाधर दशैंमा टीका लगाउँदा दक्षिणा नोट दिएपनि कारोबार भने डिजिटलमा हुनुपर्ने बताउँछन् । नोटका कारण भ्रष्ट्राचार बढेको बताउँदै उनले डिजिटल कारोबार भएमा पारदर्शिता हुने बताए ।

‘कारोबार डिजिटलमा हुनुपर्छ, नोटका कारण भ्रष्ट्राचार बढ्यो, नगदमा पहुँच भएसम्म पारदर्शीता कम हुन्छ, डिजिटल हुँदा बढी पारदर्शीता हुन्छ, कागजी नोटको प्रचलन अन्त्य गर्नै पर्छ,’ उनले भने ।

एकैचोटी डिजिटलमा परिवर्तन गर्न नसके पनि विस्तारै ग्रामीण क्षेत्रमा पनि पहुँच पुरर्याउनु पर्ने उनको धारणा छ । डिजिटल कारोबार बढ्दै गएकाले अझै राष्ट्र बैंकले जोड दिनु पर्ने उनका धारणा छ ।

‘सबै डिजिटल भइसकेको छैन, दशैं तिहारमा अझै पनि खाममा राखेर नोट दिने चलन छ, दशैं तिहार रकमले डिजिटलमा त्यति धेरै धक्का त लाग्दैन् तर दशैंको लागि कारोबार भने सबै डिजिटल हुनुपर्छ,’ उनले भने ।

पूर्व बैंकर्स भुवन दाहाल डिजिटल कारोबारमा आजको भोलि नै जान नसकिएपनि बढावा भने दिनु पर्ने बताउँछन् । राष्ट्र बैंकले डिजिटललाई जोड दिएपनि नगद कारोबार भने भइरहने उनको भनाइ छ । विकसित देशमा समेत नगदमा कारोबार हुने गरेको उनले बताए ।

‘डिजिटलमा आजको भोलि नै परिवर्तन गर्न सकिँदैन्, डिजिटललाई फोकस गरेपनि नगद कारोबार भने भइरहन्छ, विकसित देशमा त नगद कारोबार भइरहेको छ भने आजको भोलि नै परिवर्तन गर्न सकिन्न, सहरी क्षेत्रमा क्यूआर कोड प्रयोग नगरेर पैसाको नै कारोबार भइरहेको हुन्छ, नगदमा हुने कारोबालाई लाग्ने लागतलाई डिजिटलमा फोकस गर्नपर्छ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जिवी नेपालले डिजिटल कारोबारका लागि बानी बसाल्न राष्ट्र बैंकले भूमीका खेल्नु पर्ने बताए । नगद कारोबारलाई बिस्तारै घटाउँदै डिजिटल गर्नुपर्ने उनको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजिटलमा जान लागेको हुँदा डिजिटलका लागि बानी बसाल्नु पर्याे, बानी पारेर विस्तारै नोट पनि घटाउँदै नगद कारोबार घटाउनुपर्छ, एकैचोटी नोट घटाएर पनि डिजिटल गर्न सकिँदैन,’ उनले भने, ‘हामी नेपालीको बानी पनि छैन्, हातले पैसा समातेर देख्नुपर्छ, चाडपर्वमा दक्षिणा दिँदा अरुलाई असर नपर्ने गरी दिनुपर्ने हुन्छ ।’

‘नोट तुरुन्तै आउँदैन, नोट निस्किन एक वर्ष लाग्छ, मेरो पालामा नोट निकाल्न डेढ वर्ष लगाएको थियो, एक वर्ष अगाडि नै दिएको भए अहिले पैसा आउन सक्छ, अहिले पुरानै स्टक नोट चलाउने हो, पहिला नै छापेर ल्याएको नयाँ नोट स्टक हुन्छ, त्यहि नै बजारमा वितरण गर्ने हो,’ उनले भने ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले डिजिटल कारोबारमा अभ्यस्त भएकालाई नयाँ नोटले केही काम नगर्ने बताए । धार्मिक परम्पराका हिसावले मठमन्दिरमा पनि नयाँ नोट चढाउने चलन भएकाले बजारमा ल्याउनु परेको उनको भनाइ छ । उनले वर्षभरि नै बजारमा नयाँ नोट सर्कुलेशन भइरहेको बताए । दशैंमा घोषणा गरेर जाने परिपार्टीलाई निरन्तरता दिएको उनको भनाइ छ ।

‘डिजिटल कारोबारमा अभ्यस्त र अभ्यस्त हुन खोज्नेलाई नयाँ नोट केही होइन, परम्परागत धार्मिक हिसाबले मठमन्दिरमा पवित्र नोट नोट चढाउने हाम्रो समुदायमा हुनुहुन्छ, जसलाई हामीले ब्रेक लगाउन हुँदैन्,’ उनले भने, ‘नयाँ नोट बजारमा वर्षभरि नै सर्कुलेसन भइरहेको हुन्छ, दशैंमा घोषणा गरेर परम्परालाई निरन्तरता दिएको मात्रै हो, डिजिटलको ठीक विपरित हो भन्न मिल्दैन ।’

बजारमा नयाँ नोटको माग वर्षेनी कम हुँदै गएको उनले बताए । बजारमा नयाँ नोटप्रतिको आकार्षण घटेको बताउँदै उनले इन्टरनेटको पहुँच भएको ठाउँमा कम नोट सर्कुलेशन गर्ने सुझावको रुपमा लिएको बताए ।

‘अघिल्लो वर्षको तुलनामा बजारमा फ्रेस नोटको डिमाण्ड तुलना गरिरहेका छौं, वर्षेनी नयाँ नोटको माग कम छ, केही समयपछि दक्षिणा पनि वालेटबाट ट्रान्सफर गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘डिजिटलबाट नै दक्षिणा ट्रान्सफर गर्नुपर्ने र नयाँ नोटप्रतिको आककर्षण घट्न सक्छ, वर्ष भरि नै पुरानो वा झुत्रा नोटहरु राष्ट्र बैंकमा छिर्छन र नयाँ नोट बाहिर निस्किन्छन् ।’

Share News