सकसमा सहकारी : बैंकबाट धमाधम निकाल्न थाले पैसा, बचतकर्ताले अत्याउन लागेपछि सुरक्षाको माग

<p>काठमाडौं । सहकारी संस्थाहरुमा बचतकर्ताले बचत फिर्ता माग्न थालेपछि सहकारीहरुले पनि बैंकहरुबाट धमाधम बचत झिक्न थालेका छन् । केही सहकारी संस्थाहरुमा समस्या सिर्जना भएपछि अन्यमा पनि समस्या आउने भन्दै बचतकर्ताहरुले धमाधम बचत फिर्ता लिएपछि सहकारीहरुले पनि बैंकहरुबाट पैसा झिक्न थालेका हुन् । सहकारी संस्थाहरुले वाणिज्य बैंक र सहकारी बैंकमा पैसा राख्छन् । सहकारीहरुले आफुले राखेको बचत [&hellip;]</p>

काठमाडौं । सहकारी संस्थाहरुमा बचतकर्ताले बचत फिर्ता माग्न थालेपछि सहकारीहरुले पनि बैंकहरुबाट धमाधम बचत झिक्न थालेका छन् । केही सहकारी संस्थाहरुमा समस्या सिर्जना भएपछि अन्यमा पनि समस्या आउने भन्दै बचतकर्ताहरुले धमाधम बचत फिर्ता लिएपछि सहकारीहरुले पनि बैंकहरुबाट पैसा झिक्न थालेका हुन् ।

सहकारी संस्थाहरुले वाणिज्य बैंक र सहकारी बैंकमा पैसा राख्छन् । सहकारीहरुले आफुले राखेको बचत सदस्यहरुले फिर्ता मागेपछि बैंकहरुबाट झिकेर बचतकर्ताको पैसा फिर्ता गर्न थालेका हुन् ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले सहकारी संस्थाहरुले बैंकबाट धमाधम पैसा झिक्न थालेको बताए । उनका अनुसार ग्लोबल आइमएई बैंकबाट मात्रै यो अवधिमा दुई अर्बभन्दा बढी पैसा सहकारी संस्थाले मात्रै झिकिसकेका छन् ।

‘पछिल्लो समय सहकारीमा देखिएको समस्याका कारण पनि बैंकिङ क्षेत्रमा असर परेको छ, सहकरीमा समस्या आएको हल्ला बढेपछि सहकारीहरुले नै बैंकबाट पैसा निकालिरहेका छन्, ग्लोबल आइएमई बैंकबाट मात्रै दुई अर्ब बढी रुपैयाँ सहकारीहरुले नै निकालेका छन्, अन्य बैंकबाट पनि धेरै निकालेका होलान्, सहकारीको समस्या समाधानका लागि सरकारले सोच्नु पर्छ, समस्या समाधन गर्नुभन्दा अगाडि बाहिर फुक्ने होइन, समस्याको समाधान गर्न छोडेर समस्यालाई ठूलो रुपमा देखाउने काम गलत भयो,’ सीईओ बज्राचार्यले विकासन्युजसँग भने ।

उनले अनावश्यक हल्ला गरेपछि सबैले पैसा निकालिरहेको बताए । यस्ता अनावश्यक हल्लाले सहकारीमा मात्रै होइन नभइ बैंक वित्तीय संस्थामा पनि समस्या आउने उनको भनाइ छ । बचतकर्तालाई त्रसित बनाउने काम गर्न नहुने उनको धारणा छ ।

ठूलो मात्रामा सहकारीले बैंकबाट पैसा निकालेपछि साउनमा मात्रै बैंकहरुको सवा एक खर्ब रुपैयाँ निक्षेप घटेको थियो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले अहिले बचतकर्ताले धमाधम बचत फिर्ता माग्न थालेपछि सहकारीहरुले पनि बैंकबाट पैसा निकालेको सुन्नमा आएको बताए ।

‘सहकारीहरुले पनि वाणिज्य बैंक र सहकारी बैंकमा पैसा राखेका छन्, अहिले दुईरतीन वटा सहकारी संस्थामा समस्या देखिएपछि अन्य सहकारी संस्थाका बचतकर्ताले पनि पैसा निकाल्न थाले, त्यस कारण पनि सहकारीहरु बैंकबाट पैसा निकाल्न बाध्य भए,’ उनले भने । उनले सहकारीहरुको ठूलो रकम बैंकमा हुने बताउँदै सहकारीहरुले पैसा झिकेको कारण नै साउनमा बैंकहरुको ठूलो निक्षेप घटेको हुन सक्ने धारणा राखे ।

केही साता अगाडि मात्रै काठमाडौं कुलेश्वरमा रहेको गौतमश्री सहकारीले सदस्यहरुको रकम फिर्ता गर्न नसकेको भन्दै बचतकर्ताहरु आन्दोलित बनेका थिए । त्यससँगै देउराली बहुउद्धेश्यीय सहकारी, काठमाडौंको शाँखुमा रहेको जन्म बचत तथा ऋण सहकारी संस्था लगायत समस्यामा परेको समाचार बाहिरिएका थिए । त्यससँगै अन्य सहकारी संस्थाका बचतकर्ताहरु त्रसित बनेर सहकारीबाट पैसा निकाल्न थालेपछि सहकारीहरुलाई बैंकबाट पैसा झिक्न दबाब बढेको हो ।

आइतबार मात्रै भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीमा असुरक्षा बढेको भन्दै सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालयलाई आग्रह गरेको पत्र सार्वजनिक भएको थियो । सहकारीमा बचत फिर्तामा चाप बढेसँगै जोखिम पनि बढ्दै गएकोले सहकारी विभागबाट सुरक्षाको व्यवस्थाको माग भएकोले सुरक्षाको व्यवस्था गरिदिन भन्दै सहकारी मन्त्रालयले गृहलाई पत्र पठाएको हो ।

सहकारीमा बचत फिर्ता तथा ऋण असुलीका क्रममा सहकारीका सदस्य तथा अन्य व्यक्तीले आक्रमण गर्ने क्रम बढेको भन्दै सहकारी विभागले गृह मन्त्रालयलाई सुरक्षा प्रबन्ध गरिदिन आग्रह गरेको व्यहोरा पत्रमा उल्लेख छ ।

यसले पनि सहकारीहरु ठूलो दबाबमा रहेकोे बुझ्न सकिन्छ । सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्ययाय ठूलो किसिमको समस्या नभएपनि हल्लाको भरमा प्रचार हुँदा रकम फिर्ता लिने बचतकर्ताहरु बढेको बताउँछन् ।

‘अहिले विश्वको अर्थतन्त्र नै समस्यामा छ, नेपाली बैंक वित्तीय संस्था नै समस्यामा छन्, आयात निर्यातको ट्रेण्डले पनि त्यो देखाउँछ, पुँजीगत खर्च हुन सकेको छैन, रेमिट्यान्समा कमि आइरहेको छ, वित्तीय प्रणालीमा नै समस्या छ, फ्रोन्टमा सहकारी हुँदा समस्या देखिएको हो तर सहकारीमा धेरै हल्ला गरेर यस्तो अवस्था सिर्जना गरियो, जुन गलत हो,’ उनले भने ।

यस्तै, उनले वित्तीय प्रणालीको एउटा पाटो सहकारी पनि भएकोले सहकारीमा पनि सामान्य समस्या देखिनु स्वभाविक भएको धारणा राखे । तर, बजारमा हल्ला भएको जस्तो समस्या सहकारीमा नभएको उनको बुझाइ छ । ‘सहकारीहरुले विभिन्न ठाउँमा लगानी गरेका हुन्छन्, बैंकमा पनि राखेका हुन्छन्, बचतकर्ताले बचतफिर्ता मागेपछि अवश्य नै सहकारीहरुले बैंकबाट पैसा झिक्न थाल्छन्, अहिलेको समस्या नै यही हो,’ उनले भने ।

अहिले देशभर करिब ३४ हजार बचत तथा ऋण सहकारी संस्थाहरु छन् । केही सहकारीहरुले भने गैर कानुनी रुपमा अनुत्पादक क्षेत्रमा लगानी गरेर सहकारीमै समस्या सिर्जना गरेका पनि छन् । अहिले बैंकिङ प्रणालीमै तरलताको अभाव भइरहेको बेला सहकारीहरुले पनि बैंकबाट धमाधम पैसा झिक्न थालेपछि बैंकहरुमा पनि एक किसिसमको दबाब अवश्य नै सिर्जना हुन्छ ।

राष्ट्रि सहकारी महासंघले समस्यामा परेका सहकारी संस्थाहरुलाई एक पटक ५ प्रतिशतभन्दा बढी बचत फिर्ता नगर्न निर्देशन दिइसकेको छ । सहकारी विभागले पनि एकिकृत निर्देशन जारी गर्दै घरजग्गामा लगानी नगर्न निर्देशन दिइसकेको छ । समस्यामा परेका सहकारीलाई विभागले नगद लाभांश वितरणमा पनि रोक लगाएको छ ।

Share News