काठमाडौं । वाणिज्य बैंकहरुबाट बचतकर्ताले पैसा झिकिरहेका बेलामा बैंक तथा वित्तीय संस्थाहरुले पनि राष्ट्र बैंकबाट ठूलो मात्रामा निक्षेप फिर्ता लिएका छन् ।
साउन महिनामा वाणिज्य बैंकहरुबाट मात्र करिव ११५ अर्ब रुपैयाँ निक्षेप घटेको थियो । गत असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप जम्मा भएकोमा साउन मसान्तमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रूपैयाँ पुगेकाे छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार भदौ ६ गते वाणिज्य बैंकहरुमा ४४ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप जम्मा रहेको छ । राष्ट्र बैंकको तथ्याङ्कमा पनि हरेक दिन करिव २ अर्ब रुपैयाँले निक्षेप घटेको देखिएको छ ।
उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट पनि करिव ४७ अर्ब रुपैयाँ निक्षेप निकालेका छन् । राष्ट्र बैंकका अनुसार असार मसान्तमा राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले राखेको निक्षेप १ खर्ब ९९ अर्ब रुपैयाँ रहेको साउन मसान्तमा १ खर्ब ५२ अर्ब रुपैयाँ मात्र रहेको छ ।
तर नेपाल राष्ट्र बैंकमा सरकारको निक्षेप भने ७० अर्ब रुपैयाँले बढेको छ । असार मसन्तमा सरकारी खातामा २ खर्ब २५ अर्ब बचत रहेकोमा साउन मसानतसम्ममा २ खर्ब ९९ अर्ब रुपैयाँ बचत रहेको छ ।
साउन महिनामा सरकारले राजश्व संकलन र प्रशासनिक खर्च मात्र गरेको, विकास खर्च गर्नै नसकेको कारण सरकारी निक्षेप वृद्धि भएको जानकारहरु बताउँछन् ।
बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट लिने ऋण तथा सापटी पनि १० अर्ब रुपैयाँ कम भएको छ । असार मसन्तसम्ममा राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाले २ खर्ब ७० अर्ब ऋण तथा सापटी लिएकोमा साउन मसान्तसम्ममा २ खर्ब ६० अर्ब रुपैयाँमा घटेको छ ।
पछिल्लो एक महिनामा चलनचल्तीमा रहेको नोटमा १७ अर्बले गिरावट आएको छ । असार मसान्तसम्ममा ६ खर्ब १६ अर्ब रुपैयाँ बराबरको नोट बजारमा वितरित रहेकोमा अहिले ५ खर्ब ९९ अर्ब रुपैयाँमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
यसअवधिमा सुनचाँदीमा नेपाल राष्ट्र बैंकले थप २ अर्ब लगानी गरेको छ । निजी क्षेत्रबाट सुनचाँदीमा लगानी गर्न निरुत्साहित गरेको राष्ट्र बैंकसँग आफूसँग भएको सुन चाँदी भने बढेर ८७ अर्ब ८८ करोड रुपैयाँ बराबर भएको छ ।
नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् नै मनी सर्कुलेसन कम गर्ने नीति अनुसार बजारमा पनि पैसा कम गएको धारणा राखे । ‘चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नै हामीले मनी सर्कुलेसन कम गर्ने नीति लिएका छौं, सोही अनुसार कम भएको हो,’ उनले भने ।