लघुवित्त र सहकारीमा समस्या : अर्थतन्त्रको संकट ‘ग्रासरुट’मा

<p>काठमाडौं । केही दिनअघि मात्रै लघुवित्तको कर्जा तिर्नका लागि किड्नी बेचेरै भएपनि ऋण चुक्ता गर्न दबाब दिएको गुनासो बाँकेका महिलाहरुले गरे । ऋण तिर्न समय माग गर्दापनि लघुवित्तहरुले समय नदिएको र घरमै गएर धम्क्याउने गरेको आरोप उनीहरुको थियो । बाँकेको खजुरा गाउँपालिकाकी मिना बुढा क्षेत्रीलाई पहिले सस्तो ब्याजमा ऋण दिने प्रलोभनमा पारी कर्जा दिए पनि [&hellip;]</p>

काठमाडौं । केही दिनअघि मात्रै लघुवित्तको कर्जा तिर्नका लागि किड्नी बेचेरै भएपनि ऋण चुक्ता गर्न दबाब दिएको गुनासो बाँकेका महिलाहरुले गरे । ऋण तिर्न समय माग गर्दापनि लघुवित्तहरुले समय नदिएको र घरमै गएर धम्क्याउने गरेको आरोप उनीहरुको थियो ।

बाँकेको खजुरा गाउँपालिकाकी मिना बुढा क्षेत्रीलाई पहिले सस्तो ब्याजमा ऋण दिने प्रलोभनमा पारी कर्जा दिए पनि केही समयपछि भने तिर्नै नसकिने ब्याज लिएर दुःख दिएको गुनासो गरिन् । नेपालगञ्जकी मनिषा तामाङ पनि लघुवित्तले
आफुमाथि बढी ब्याज लिएर ज्यादति गरेको बताइन् ।

‘सावाँ र ब्याज तिर्ने समय ढिलो भयो भनेर घरबाट निकाल्न खोज्ने, किड्नी बेच, मरे हुन्छ, बीमा छ किन बाँच्ने जस्ता अव्यवहारिक लाञ्छना लगाएर धम्याए, घरमा भएको सामान बेचेर हुन्छ कि घर बेचेर हुन्छ तिर्नुपर्छ अरु केही विकल्प छैन भन्दै दैनिक फोनमा घरमै आएर धम्क्याउँछन्,’ उनले भनिन् ।

यस्तै, लघुवित्तले आफुलाई पीडा दिएको बताउने धना सुनारले लघुवित्तले गर्दा घरपरिवारको सम्बन्ध नै बिग्रिएको बताइन् । लघुवित्तको दबाबले दिनरात सताउने गरेको उनले दुखेसो पोखिन् । घरमा ऋण माग्न आउने बित्तिकै भैंसी लैजान्छौं, कहिले घरमा ताल्चा लगाउने जस्तो धम्की दिइरहेकोले मनमा अनेक सोच पैदा भइरहेको उनको भनाइ छ । उनले ऋण लिएपछि तिर्नु आफ्नो कर्तव्य भएपनि लघुवित्तहरुले दिनदिनै दबाब दिँदा समस्या उत्पन्न भएको धारणा राखिन् ।

लघुवित्तमा मात्रै होइन अहिले यस्तै समस्या सहकारी संस्थाहरुमा पनि देखिएको छ । अहिले बचतकर्ताले राखेको ऋण फिर्ता नदिने अवस्थामा सहकारी पुगेका छन् भने कर्जा प्रवाह गरेका ग्राहकलाई ऋण फिर्ता गर्न निरन्तर दबाब दिइरहेका छन् ।

केही दिन अघि देउराली बहुउदेश्यीय सहकारीसंस्थाका अध्यक्ष रविन्द्र चौलागाँइले राष्ट्रिय आर्थिक अवस्था संकटपूर्ण रहेकोले केही समयमा नै सबैको निक्षेप साँवा ब्याज सहित फिर्ता गर्ने बताएका थिए । संस्थाले लगानी गरेको रकम नउठेका कारण समस्या देखिएको उनको भनाइ थियो ।

यस्तै, काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री सहकारीले पनि बचतकर्ताको रकम फिर्ता गर्न नसकेकर बचतकर्ता सडकमा समेत उत्रिएका थिए भने काठमाडौंको शाँखुमा रहेको जन्म बचत तथा ऋण सहकारी संस्थाले आफ्ना बचतकर्तालाई पाँच दिनभित्र बचत फिर्ता लिन नआए रकम गायब गर्ने सूचना निकालेको थियो ।

अहिल विभिन्न ठाउँमा रहेका सहकारी संस्थाहरुका बचतकर्ताहरु बचत फिर्ता नपाइएर विरोध गरिरहेका छन् भने सञ्चालकहरु पैसा संकलनको चटारोमा लागेका छन् । सुनसरीको भाण्टाबारी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ बढी रकम लिएर फरार भएको भन्दै बचतकर्ताहरु आन्दोलनमा उत्रिएका छन् ।

साना संस्थाहरुमा समस्या सिर्जना भएपछि अहिले अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव साना संस्था र सर्वसाधारणमा परेको बुझाइ धेरैको छ । अर्थतन्त्रका विभिन्न सूचकहरुमा गिरावट आएपछि नेपालको अर्थतन्त्र संकटमा पर्न सक्ने आँकलन गरिरहेको भएपनि अहिले त्यसको प्रत्यक्ष प्रभाव सर्वसाधारणमा परेको अर्थविदहरुको पनि भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा सुधारको संकेत देखा परेपनि नेपाली बजारमा भने झनै नाजुक अवस्थामा पुगेको अर्थविदहरु बताउँछन् । पछिल्ला समयमा लघुवित्त वित्तीय संस्था र सहकारी क्षेत्रमा देखिएको समस्याले आर्थिक संकटको संकेत देखा परेको उनीहरु बताउँछन् ।

लघुवित्त र सहकारी संस्थामा देखिएको बेथितिका कारण ग्रासरुट (सर्वसाधारण) मा समस्यामा देखिएको अर्थविदहरुको बुझाइ छ । तरलता सकंट बैंकिङ्ग क्षेत्रमा मात्रै सीमित नरहेर आम सर्वसाधारणमा समते परेको देखिन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता अभावका कारण तल्लो तहमा समस्या उत्पन्न भएको बताए । तल्लो तहमा समस्या देखिन थालेपछि अर्थतन्त्र संकटमा पुगिसकेको उनको बुझाइ छ ।

‘सबै कुरा तरलतासँग जोडिएको छ, विकास बैंकदेखि सहकारीहरुमा समस्यामा देखिनु भनेको ग्रास रुट (तल्लो तह) मा समस्या भएको हो, अन्य विभिन्न कारणले यस्तो समस्या आएको हो, यो राम्रो संकेत पक्कै पनि होइन, तल्लो तहमा समस्या देखिन थालेपछि अर्थतन्त्र संकटमा परेको हो,’ उनले भने ।

यस्तै, अर्थविद्ध डा.गोविन्द नेपालले आर्थिक संकटोन्मुख भनिरहे पनि तरलताको समस्या लामो समयसम्म रहिरहेका कारण यस्तो समस्या आएको बताउँछन् । निक्षेप संकलन भन्दा कर्जा विस्तारमा आक्रामक बन्दा समस्या उत्पन्न भएको उनको धारणा छ ।

‘यसअघि तरलता समस्या सिजनल हो भन्थ्यौं तर, यसपटक लामो समयसम्म रह्यो, डिपोजिटमा भन्दा आक्रामक रुपमा कर्जा लगानी बढाए,’ उनले भने, ‘पैसा बाहिर देखिने तर फेरि बैंकमा आउने ठाउँमा गएन, त्यो पैसा जहाँ गएपनि जम्ने समस्या देखियो, पैसा बैंकमा ल्याउँदैनन्, औपचारिकभन्दा पनि अनौपचारिक रुपमा पैसाको कारोबार भइरहेको छ ।’

सहकारी र लघुवित्त संस्थाले ऋण दिँदा र लिँदा ख्याल गर्नुपर्ने उनको धारणा छ । ऋण प्रवाह गरेपछि नियम संगत ढंगबाट असुल गर्नुपर्ने उनले बताए । कोरोना महामारी कम भएपनि संकट समाधान नरहेको उनको भनाइ छ ।

‘गलत प्रक्रियाबाट ऋण असुल गर्नु भएन, आतंकित गर्ने तरिकाले ऋण असुल गर्नु हन्न, महामारी सकिए पनि मानिसको आम्दानी सीमित छन्, सबैको खर्च गर्ने क्षमता बढ्न सकेको छैन, हिजो हामी जति धनी थियौं आजका दिनमा त्यति नै गरिब भइसको छौं,’ अर्थविद् नेपालले भने ।

आर्थिक गतिविधि चलायनमान नहुँदा आम्दानीको स्रोत पनि घट्ने उनको धारणा छ । तल्लो तहमा आर्थिक क्रियाकलाप कम भएकाले समस्या आएको उनले बताए ।

‘आर्थिक गतिविधि र व्यवसाय चलायमान भएनन्, सर्वसाधारण जनताको खपत गर्ने क्षमता कम भयो, हिजो ३ वटा दुध खानुपर्नेमा आजका दिनमा एउटा दुधमा सीमित भए, किनभने उसको आम्दानी स्रोत कम भयो, त्यो कारण ब्याज तिर्न र घरधन्दा चलाउन गाह्रो छ,’ उनले भने, ‘रोजगारीको अवसर कम, कम बजेट खर्च, आएको बजेट पनि दुरुपयोग हुँदा जनतामा पुग्नु पर्ने रकम पुग्न सकेको छैन ।’

माथिल्लो तहमा संकट भनिरहँदा तल्लो तहमा समस्या नै देखिन थालेको उनले बताए । सर्वसाधारण जनतामा पैसा नै नभएपछि उसको व्यवसाय सञ्चालन हुन नसकेको उनको बुझाइ छ ।

‘जनतासँग पैसा छैन, उसको व्यवसाय राम्रोसँग सञ्चालन हुन नसक्दा सानो धक्का पनि खेप्न सक्दैन, एक किसिमको अनिश्चितताको स्थिति छ, जसले संकटतर्फ देखा पर्याे,’ अर्थविद् नेपालले भने, ‘मारमा निम्न र निम्नमध्यम वर्ग परे, निम्न वर्गलाई सोझै हातमुख जोड्ने समस्या भयो, निम्न मध्यम वर्गीयलाई सामाजिक स्टाटस मेन्टेन गर्न गाह्रो भयो, निम्न मध्यम वर्गबाट न्यून आयमा झर्दै छन्, संकटेन्मुख अर्थतन्त्र संकट तिर गइरहेको छ ।’

विजय लघुवित्तका सीईओ बसन्त लम्सालले लघुवित्त र सहकारी क्षेत्रमा देखिएको समस्याले आर्थिक संकटको बाछिटा मात्रै भएकाले सबैतिर समस्या देखिने बताए । कोरोना महामारीको समस्या देखिन थालेको उनको भनाइ छ । हाल ब्यक्ति र संस्थालाई मसस्या देखिएकाले गाह्रो अवस्था आएको उनले बताए ।

‘यो समस्या ब्यक्ति र संस्थालाई देखिएको हो, एउटा संस्थाले दबाब दिएर पैसा उठायो भने विद्रोह गर्छन्, पैसा नउठाउने हो भने संस्थाको खराब कर्जा बढेर संस्था घाटामा जान्छ, ऋण नवीकरण गर्याे भने किन नवीकरण गरेको भनेर राष्ट्र बैंकले स्पष्टिकरण सोध्छ,’ उनले भने, ‘कोभिडको समयमा राष्ट्र बैंकले दिएको सहुलियत टाइट भयो, एउटा संस्थालाई समस्या पर्नुभनेको त्यसका क्लाइन्टलाई पनि समस्या पर्नु हो ।’

अर्थविद् डिल्लीराज खनालले लघुवित्त र सहकारी संस्थामा एकपछि अर्काे स्क्याण्डलले अर्थतन्त्र संकटमा पार्न मलजल गरेको बताए । लघुवित्त तथा सहरकारी संस्थाहरुले ऋण दिएको रकम गलत ढंगले खर्च गरेका कारण यस्तो समस्या आएको उनको भनाइ छ ।

‘आर्थिक संकट यसैपनि छ, आम्दानीको स्रोत नभएपछि संकटको एउटा बाटोबाट महासंकटतर्फ लगेको हो, ब्याजदर उच्च, निक्षेपमा ओरालो लाग्नु लगायतकासबै सूचकले अर्थतन्त्र संकटमा गएको संकेत गर्छ,’ उनले भने ।

सरकारको प्राथमकितामा अर्थतन्त्र सम्बन्धी मुद्धा कहिले पनि नपरेको गुनासो उनको छ । समानान्तर अर्थतन्त्र, ब्ल्याक मनि, ब्ल्याक मेलिङ, माफिया तन्त्र मात्रै सरकारको प्राथमिकतामा पर्ने गरेको उनको धारणा छ ।

लघुवित्त तथा सहकारी संस्थाहरुले विकास बैंकको भन्दा ब्यापार बढाएको नियमन गर्नुपर्ने उनले बताए । लघुवित्त संस्थाहरुले निक्षेप कुन स्रोतबाट ल्याएर कुन बाटोबाट लगानी गर्छन् भनेर निरिक्षण गर्नु पर्ने उनको माग छ ।

Share News