काठमाडाैं । देउराली बहुउदेश्यीय सहकारी हल्ला चलाइए जस्तो समस्यामा नरहेकाे संस्थाका अध्यक्ष रविन्द्र चौलागाँइले बताएका छन् । संस्थाका अध्यक्ष चौलागाँइले साेमबार पत्रकार सम्मेलन गर्दै कोरोना महामारी, अर्थतन्त्रमा देखिएकाे समस्या र आर्थिक मन्दीको प्रभाव स्वरुप सहकारीमा केही समस्या देखिए पनि ती हल हुने दिशामा रहेको बताएका हुन् ।
‘बजारमा देउराली बहुउदेश्यीय सहकारी समस्यामा गयो, डुब्न लाग्यो भन्ने खालका हल्ला फिँजाइएकाे छ, कसैले पनि आत्तिनु पर्दैन, सबैको निक्षेप साँवा ब्याज सहित फिर्ता हुन्छ,त्यसका लागि सबैले धर्यता राख्नुपर्छ र संकटपूर्ण राष्टिय आर्थिक अवस्थाको परिस्थीतिलाई बुझनुपर्छ,’ उनले भने ।
उनले निक्षेप फिर्ता लिन गर्न चाहनेहरुका लागि दुइ चरणमा दुइवटा विकल्प दिएर साँवा ब्याज सहित फिर्ता गर्ने बताएका छन् । अन्य सहकारीहरुमा देखिएका समस्या एवं विकृतिले बजारलाई त्रसित बनाएको कारण पनि निक्षेपकर्ताहरु आत्तिएको भन्दै उनले देउराली बहुउदेश्यीय सहकारी संस्था भने डुब्ने नै गरी कुनै समस्या नभएको बताए ।
अध्यक्ष चौलागाँइले संस्थामा सबै शिर्षकमा रहेका बचत रकमलाई दुई भागमा विभाजन गरेर बचत फिर्ता गर्ने योजना सुनाएका छन् । उनले ५ लाखसम्मको बचत रकमलाई साना बचतकर्ता र ५ लाख भन्दामाथीका लागि ठुलो बचतकर्ताको रुपमा विभाजन गरेर बचत फिर्ता गर्ने योजना सुनाए ।
‘संस्थाको रकम दुरुपयोग भएको नभइ लगानी गरेका ठाउँहरुबाट रकम उठती नभएको कारण समस्या देखिएको हाे, पहिलो ५ लाखसम्मका साना बचतकर्ताहरुलाई तत्कालै संस्थाको ३ वटै काउन्टरबाट क्रमिक भुक्तानी गर्दै जान्छाैं र ५ लाखभन्दा बढी बचत रकम भएकाहरुलाई २ वर्षभित्र सम्पुर्ण रकम फिर्ता गर्नेछाैं,’ उनले भने ।
५ लाख बढीका निक्षेपकर्ताहरुले बचत सुरक्षणको लागि घडेरीको रुपमा विकास गरिएको टुक्रा जग्गा नामसारी गरी बचत रकम सुरक्षण गर्ने उनले योजना सुनाए ।
चौलागाँइले चितवन जिल्लाको भरतपुर नगरपालिका वडा नं ६ मेघौलीमा रहेको ५७ विगाहा जग्गालाई १२६७ प्लटमा प्लटिङ गरिएकाे जानकारी दिए । उनका अनुसार मेघौली लगायत अरु विभिन्न ठाउँहरुमा समेत रहेका जग्गा बचत सुरक्षणका लागि ठुला निक्षेपकर्तालाई नामसारी गर्ने योजना संस्थाले बनाएको छ । बचतकर्ताहरुले रकमको सट्टा प्लट नै लिन पनि पाउने उनले बताए ।
त्यसैगरी संस्थाले दुई महिना यता तरलता समस्याका कारण टोकन सिस्टममा चलाइएका सबै काउन्टर सामान्य रुपमा खोल्ने भएको छ । करिब २० हजार सदस्यहरु रहेको देउराली बहुउदेश्यीय सहकारीले निक्षेपकर्ताहरुबाट ३ अर्ब बचत संकलन गरेको छ । हाल संस्था निक्षेपकर्ताहरुको ६५ करोड रकम फिर्ता गर्नुपर्ने अवस्थामा छ । ललितपुरको सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको सहकारीको भक्तपुर र न्युरोड समेतमा गरि ३ वटा काउन्टर छन् ।