काठमाडौं । असार मसान्तमा बैंकहरूको ‘लोन रिकभरी’ (कर्जा असुली) सन्तोषजनक देखिएको छ । यसअघि धितो पनि बिक्न नसक्ने र सावाँ ब्याज पनि असुल हुन नसक्ने अवस्था रहेको बताउँदै आएपनि असार मसान्तमा भने बैंकहरूको रिकभरी राम्रो देखिएको हो ।
बैंक तथा वित्तीय संस्थामा तरलता समस्याको कारण बैंकहरूको खराब कर्जा बढ्ने अनुमान गरिएको बेला लोन रिकभरी राम्रो भएको बैंकरहरू बताउँछन् ।
विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संकटमा परेको व्यवसाय र वर्तमान रुस–युक्रेनबीचको युद्धले समस्या हुँदा अर्थतन्त्रमा समस्या भइरहेको बेला त्यसको प्रत्यक्ष मार बैंकहरुलाई पर्दा रिकभरीमा पनि समस्या हुने आँकलन धेरैको थियो । रिकभरी नहुँदा प्रोभिजनिङ पनि बढ्ने अनुमान थियो ।
यही समयमा बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकले नियमनमा कडाइ गरेपछि बैंकहरु तनावमा थिए । बैंकरहरू ऋण असुल गर्न नसकेर र धितो पनि बिक्री नहुँदा चौथो त्रैमासमा बैंकहरुको नन् बैंकिङ एसेट (एनपीए) पनि बढ्न सक्ने बताउँदै आएका थिए ।
तर, असार मसान्तमा बैंकहरुले अन्य विषयलाई खासै प्राथमिकता नदिई रिकभरीमै ध्यान दिँदा चौथो त्रैमास सोचेभन्दा राम्रो भएको बैंकरहरुको धाररणा छ ।
माछापुच्छ«े बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सर्जुकुमार थापा असार मसान्तमा ऋण असुली सन्तोषजनक रहेको बताउँछन् ।
उनका अनुसार बैंकहरुले असारमा रिकभरीमै केन्द्रीत हुँदा लक्ष्य अनुरुपको रिकभरी गर्न सफल भएका हुन् । ‘चौथो त्रैमासमा ओभरअल रिकभरी राम्रै भयो, असार मसान्तमा सबै बैंकहरू रिकभरीमा लागे, सबै हिसाब मिलाउनमै केन्द्रीत भए, हुन त अन्य त्रैमासको तुलनामा चौथो त्रैमास राम्रै हुन्छ, रिकभरी हुन नसकेर खराबकर्जा बढ्ने धेरैको अनुमान थियो तर, सोचेभन्दा फरक भयो,’ उनले भने ।
उनका अनुसार अटोलोन, निर्माण व्यवसाय र पर्यटन क्षेत्रमा प्रवाह भएको केही कर्जा बाहेक अन्य क्षेत्रमा प्रवाह भएको कर्जा राम्रै असुल भएको छ । बैंकहरूले प्रोभिजन पनि धेरै गर्नु नपरेको उनको धारणा छ । यसअघि खराबकर्जा बढेर धेरै प्रोजिन गर्नु पर्ने अनुमान गरिएको भएपनि रिकभरी राम्रै हुँदा प्रोभिजन पनि खासै धेरै गर्नु पर्ने अवस्था नदेखिएको उनको भनाइ छ ।
अहिले विभिन्न बैंकका सीईओहरू असार मसान्तमा आएर बैंकहरुको रिकभरी सन्तोषजनक नै भएको र प्रोभिजनको अवस्था हेरेर नाफाको तथ्यांक पनि बैंकहरुको राम्रै आउन सक्ने सम्भावना रहेको धारणा राख्छन् । उनीहरूका अनुसार होटेल तथा पर्यटन, निर्माण र अटो सेक्टरबाहेक अन्य क्षेत्रको रिकभरी राम्रो भएकोले पनि नाफामा खासै असर पर्ने छैन ।
यस्तै, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ पनि चौथो त्रैमासमा रिकभरी राम्रै भएको बताउँछन् । ‘यसअघिका त्रैमासहरूको मुल्यांकनका आधारमा र वर्तमान अर्थतन्त्रलाई केलाउँदा कर्जा असुल हुन नसकेर बैंकिङ क्षेत्रमा प्रोभिजन बढ्ने देखिएको थियो तर, अहिले तथ्यांक हेर्दा खासै बढ्ने अवस्था छैन, धेरैले राम्रै रिकभर गरेका छन्, उत्कृष्ट छैन तर, सन्तोषजनक छ, तथ्यांक आउन केही दिन लाग्ला तर, सबैको ठीकै भएको देखिन्छ,’ उनले भने ।
उनका अनुसार एभरेष्ट बैंकको पनि रिकभरी सन्तोषजनक छ । प्रोभिजन पनि खासै बढेको छैन । बैंकिङ क्षेत्रमा औसत २ प्रतिशतभन्दा कम नै गरी प्रोभिजन गर्नु पर्ने हुन सक्ने उनको अनुमान छ ।
साउन १५ गतेअघि नै बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/०७९ को अपरिष्कृत वित्तीय विवरण राष्ट्र बैंक पठाउनु पर्ने हुन्छ । साथै राष्ट्र बैंकको प्रवधानअनुसार आर्थिक वर्ष सकिएको महिना दिनभित्र वित्तीय विवरणसमेत सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।
रिकभरी राम्रो भएसँगै नाफामा पनि खासै असर परेको छैन । बैंकहरुको नाफा पनि यसअघिको त्रैमासको हाराहारीमै भएको उनीहरुको भनाइ छ ।
सानिमा बैंकका सीईओ निश्चल पाण्डेयले पनि बैंकहरुको रिकभरी राम्रै भएको धारणा राखे । उनका अनुसार उत्साहजनक अवस्थामा नभएपनि पोष्ट कोभिडको अवस्थामा सन्तुष्ट हुने किसिमको रिकभरी रहेको धारणा राखे ।
‘हुन त अहिले पनि बैंकिङ क्षेत्रमा दबाब कायमै छ तर, यो अवस्थामा पनि रिकभरी राम्रै देखिन्छ, आत्तिनु पर्ने अवस्था छैन, उत्साहजनक नभएपनि सन्तुलजन अवस्थामा बैंकहरु देखिन्छन्,’ उनले भने ।
वाणिज्य बैंकहरूले चैत मसान्तमा साढे ५४ अर्ब रूपैयाँ प्रोभिजन गरेका थिए । बैंकहरूको खराब कर्जा बढ्दा नाफामा पनि ह्रास आउने गर्छ भने प्रतिफल पनि राम्रो दिन सक्दैनन् । बैंक तथा वित्तीय संस्थाले निश्चित समयका लागि ऋणीलाई प्रदान गरेको ऋण तोकिए अनुसारको समय सीमामा असुल नभएमा बैंक तथा वित्तीय संस्थाले सो कर्जालाई खराब कर्जा रूपमा गणना गर्छन् ।