काठमाडौं । एक वर्षको अवधिमा बिजनेस ग्रोथमा नबिल बैंकको अग्रता देखिको छ । निक्षेप संकलन र कर्जा लगानीमा अन्य वाणिज्य बैंकहरुको तुलनामा नबिल बैंक अगाडि देखिएको हो । नबिल बैंकले एक वर्षको अवधिमा निक्षेप संकलन १०१ अर्बले बढाएको छ । २०७८ को असारसम्म कुल २ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नबिलले २०७९ को असारसम्म कुल ३ खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेको हो ।
उसो त नेपाल बंगलादेश बैंकलाई आफुमा गाभेपछि नबिलको निक्षेप बढेको देखिएको हो । नेपाल बंगलादेश बैंककाे निक्षेप नबिल बैंकमा गणना भएपछि नबिलकाे कर्जा र निक्षेप संकलन बढेकाे देखिएकाे हाे ।
यस्तै, निक्षेप संकलनमा नेपाल बैंक पनि उत्कृष्ट देखिएको छ । सरकारी स्वामित्व रहेको नेपाल बैंकले एक वर्षको अवधिमा निक्षेप संकलन र कर्जा लगानीमा राम्रो ग्रोथ गरेको तथ्यांकले देखाउँछ । यस बैंकले एक वर्षको अवधिमा निक्षेप ३३ अर्ब ५६ करोड रुपैयाँले बढाएको छ भने कर्जा लगानी ३५ अर्ब ८७ करोड रुपैयाँले बृद्धि गरेको छ ।
प्रतिशतको आधारमा एक वर्षमा निक्षेप संकलन बढी गर्ने बैंकको सूचीमा एनसीसी तेश्रोमा छ । बैंकले यस अवधिमा ३० अर्ब ७१ करोड रुपैयाँले निक्षेप बढाएको छ । कर्जा लगानी भने २७ अर्ब २ करोड रुपैयाँले बढाएको छ । कर्जा लगानीमा तेस्रो नम्बरमा भने ग्लोबल आईएमई बैंक देखिएको छ ।
ग्लोबल आईएमई बैंकले एक वर्षको अवधिमा २९ अर्ब ७१ करोड रुपैयाँले कर्जा लगानी वृद्धि गरेको छ । यस बैंकले अघिल्लो वर्ष कुल २ खर्ब ४२ अर्ब करोड लाख रुपैयाँ कर्जा लगानी गरे पनि २०७९ असारसम्म भने २ खर्ब ७२ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको तथ्यांकले देखाउँछ ।
वाणिज्य बैंकहरुले एक वर्षको अवधिमा खर्ब ४० अर्ब रुपैयाँ निक्षेप बढाएका छन् । २०७८ असारमा कुल ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले २०७९असारसम्म कुल ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
दुई बैंकको निक्षेप घट्यो
एक वर्षको अवधिमा तीन वटा वाणिज्य बैंकको निक्षेप भने घटेको देखिएको छ । एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंककाे निक्षेप घटेको छ ।
अघिल्लो वर्ष कुल ३ खर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको एनआईसी एशिया बैंकको ५ अर्ब २७ करोड रुपैयाँले निक्षेप घटेर २ खर्ब ९४ अर्ब ९८ करोड रुपैयाँ कायम भएको छ ।
यस्तै, अघिल्लो वर्ष कुल २ खर्ब ६४ अर्ब १ करोड रुपैयाँ निक्षेप रहेको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ७ अर्ब ४६ करोड रुपैयाँले घटेर २ खर्ब ५६ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ ।