काठमाडौं । महालेखा परीक्षकको कार्यालयले राष्ट्र बैंकको नियमनमा कमजोरी देखाएपछि राष्ट्र बैंकले बैंकहरुलाई बोलाएर सम्झाएको छ । राष्ट्र बैंकले बिहीबार केही बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई राष्ट्र बैंक बोलाएर अब गल्ति नदोहोर्याउन भन्दै सम्झाएको हो ।
बुधबार महालेखा परीक्षकको कार्यालयले आफ्नो ५९औं वार्षिक प्रतिवेदनमार्फत् नेपाल राष्ट्र बैंकले नियमनमा सुस्तता देखाउँदा बैंकहरुमा विकृति बढेको जनाएकाे थियो । सो प्रतिवेदन सार्वजनिक भएको पछिल्लो दिनमै केही बैंकका सीईओहरुलाई मात्रै राष्ट्र बैंकमा बोलाएर राष्ट्र बैंकले सम्झाएको हो ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आयोजना गरेको बैठकमा गभर्नर महाप्रसाद अधिकारीसहित डेपुटी गभर्नर निलम ढुंगाना र बम बहादुर मिश्रसँगै सो विभागका प्रमुख डा. गुणकर भट्टलगायत बैंकका सीईओहरु उपस्थित थिए ।
स्रोतका अनुसार राष्ट्र बैंकको नियमनमा खोट देखिएपछि राष्ट्र बैंकले आगामी आर्थिक वर्षको सुरुवातदेखि नै नियमनमा कडाय गर्ने बताएको हो ।
‘बैठकमा केही बैंकका सीईओहरु मात्रै उपस्थित थिए, राष्ट्र बैंकले अब नियमन कडा हुने बताएको थियो, बैठकमा बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिसनसँगै आगामी मौद्रिक नीतिको विषयमा पनि छलफल भएको थियो,’ स्रोतले भन्यो ।
यस्तै, राष्ट्र बैंकका सह—प्रवक्ता नारायण पोखरेलले आज नियमन विभागले बैठक राखेको बताए । ‘हामीले विभिन्न बैंकहरुलाई राष्ट्र बैंक बोलाएर मर्जर तथा एक्विजिजनको विषय, कुनै नीतिगत व्यवस्था तथा कम्लायन्स नपुर्याएको विषयमा छलफल गरिरहन्छाैं, आज पनि यिनै विषयमा छलफल भएको हो,’ उनले भने ।
यसअघि पनि बैंकका सीईओहरुलाई बोलाएर राष्ट्र बैंकले साउनदेखि नियमनमा कडाइ गर्ने बताएको थियो । बुधबार महालेखा परीक्षकको कार्यालयले पनि नियमन कमजोर भएको उल्लेख गरेपछि राष्ट्र बैंकले बैंकहरुसँग थप सल्लाह गर्न आज बैठक राखेको हो ।
महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवदेनका अनुसार राष्ट्र बैंकले एक वर्षमा वाणिज्य बैंकहरुमा तीन पटक, विकास बैंकमा आठ पटक, वित्तीय कम्पनीमा चार पटक र लघुवित्तमा १२ पटक गरी कुल २७ पटक मात्रै अनुगमन तथा सुपरिवेक्षण गरेको जनाएको छ ।
सञ्चालक समितिले असल शासन अभ्यासको प्रभावकारिता, स्वार्थको द्वन्द्व व्यवस्थापन, रणनीतिक मूल्यहरूको सन्दर्भमा सामर्थ्य र कमजोरीहरूको मूल्याङ्कन गर्ने नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
सम्बन्धित सामग्री : सीईओलाई राष्ट्र बैंकको डिनरसहितको क्लास : नाफामुखी नबन्नु, साउनदेखि नियमन कडा हुन्छ