सिभिलका ‘तीन त्याग’ : यसरी बनायो ४५ बाट ८१ को हैसियत

<p>काठमाडौं । २०७७ साल असारमा नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर चिरञ्जिवी नेपालले सबै बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र कार्यकारी प्रमुखहरुलाई भेला गरेर एउटा निर्देशन दिए, ‘सात दिनभित्र मर्जरको लागि पार्टनर खोज्नु ।’ गभर्नर नेपालको बच्चौले निर्देशन अनुसारको परिणाम त आएन । उनको निर्देशनपछि बैकिङ क्षेत्रमा तरङ्ग आयो । एक आपसमा मर्जका प्रयास पनि भए [&hellip;]</p>

काठमाडौं । २०७७ साल असारमा नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर चिरञ्जिवी नेपालले सबै बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र कार्यकारी प्रमुखहरुलाई भेला गरेर एउटा निर्देशन दिए, ‘सात दिनभित्र मर्जरको लागि पार्टनर खोज्नु ।’

गभर्नर नेपालको बच्चौले निर्देशन अनुसारको परिणाम त आएन । उनको निर्देशनपछि बैकिङ क्षेत्रमा तरङ्ग आयो । एक आपसमा मर्जका प्रयास पनि भए । यहि क्रममा सिभिल बैंकले मर्जरको लागि उपर्युक्त पार्टरको रुपमा हिमालयन बैंक रोज्यो ।

सिभिलमा इन्टरनेशल लिजिङ एण्ड फाइनान्स कम्पनी (आईएलएफसी)मर्ज भइसकेको थियो । आईएलएफसीमा हिमालयन बैंकका प्रवद्र्धकहरू पनि थिए । मर्जसँग उनीहरु सिभिलको प्रवद्र्धक पनि भए । साझा प्रवद्र्धक भएका बैंक तथा वित्तीय संस्था मर्ज गराउने राष्ट्र बैंकको घोषित नीति पनि थियो । सिभिलले हिमालयन रोज्नु पनि स्वाभाविक थियो ।

२०७७ साउन २ गते सिभिल बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकका तत्कालिन अध्यक्ष इच्छाराज तामाङले हिमालन बैंकसँग मर्जका कुराकानी भइरहेको बताएका पनि थिए । असोज ४ गते सिभिल बैंकको सेयर मूल्य उच्च वृद्धि भई सर्किट ब्रेक लाग्यो । सिभिल बैंक हिमालनमा मर्ज हुन लागेको हल्लाले काम गरेको थियो ।

नेपाल स्टक एक्स्चेञ्जले सिभिल बैंकलाई खास भएको के हो भनेर स्पष्टिकरण माग्यो । प्रतिउत्तरमा सिभिल बैंकले मर्जको लागि हिमालयन बैंकमा प्रारम्भिक चरणको पत्र पठाएको तर, दुई पक्षबीच औपचारिक छलफल समेत नभएको जवाफ दियो ।

यसबीचमा धेरै उथलपुथल भए । स्रोतका अनुसार हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने सकिने जनाउ दियो । तर, स्वाप रेसियो १००ः४५ हुनेगरी । सिभिल बैंकले १००ः६५ माग्यो ।

‘२० रुपैयाँका मूल्य अन्तरबाट कुरा चल्यो, आन्तरिक मूल्याङकनमा स्वाप रेसियो १००ः५३ उपयुक्त हुने देखेका थियौं, ५५ रूपैयाँसम्म पाए मर्जमा जाने भन्ने हाम्रो सोच थियो’ सिभिल बैंक स्रोतले भन्यो ।

तर, हिमालयन बैंकले धेरै महत्व दिएन । पछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्ज हुने भनी सम्झौता भयो । उता सिभिल बैंकले वित्तीय अवस्थामा कमजोर भएको बेलामा मर्ज गरेर लाभ हासिल गर्न नसकिने निष्कर्ष निकाल्यो । र, मर्जलाई भन्दा वित्तीय अवस्था सुधार गर्नेमा ध्यान केन्द्रीत गर्यो ।

इन्भेष्टमेन्ट र हिमालयनबीचको मर्जर प्रक्रिया एक वर्षपछि भाँडियो । सिभिल बैंकले मर्जका लागि कुमारी, सिटिजन्स, लक्ष्मीसँग गरेका प्रसायस सार्थक भएन । गत चैतदेखि फेरी हिमालयन र सिभिल बैंकबीच सम्वाद शुरु भयो । हिमालयन बैंकका सीईओ अशोक शमशेर राणा र सिभिल बैंकका सीईओ सुनिल कुमार पोखरेलबीच लामो संवाद भयो ।

राणाले स्वाप रेसियो १००ः७० को प्रस्ताव गरे । सुनिलले १००ः७५मा प्रस्ताव गरे । अशोकको प्रस्ताव सुनिलले सिभिलको बोर्डलाई सुनाए । सिभिल लचिलो भयो । हिमालयनले ४५ बाट एकै पटक ७० को अफर गर्नुको कारण के थियो त? सिभिल बैंकका बैंकका अध्यक्ष प्रतावजंग पाण्डे भन्छन्–‘दुई वर्षका हाम्रो विजनेश ग्रोथ २०० प्रतिशत छ र नाफा १८० प्रतिशतले वृद्धि भएको छ, हाम्रो नेटवर्क पनि धेरै बढेको छ, सुशासन पनि धेरै राम्रो छ ।’

छलफल चल्दै गयो । घट्नाक्रमहरु नयाँ ढंगले विकसित हुँदै गए । इन्भेष्टमेन्ट बैंक र मेघा बैंकबीच १००ः९० मा मर्ज हुने सम्झौता भयो । ग्लोवल आईएमई र बैंक अफ काठमाण्डू बराबरीको हैसियतमा मर्ज हुने भए ।

झट्ट हेर्दा बैंकहरू ठूलो बन्ने होडबाजीमा लागेको सन्देश प्रष्ट बुझियो । ठूला बैंकहरूले अझैं ठूलो बन्ने महत्वकांक्षाको फाइदा साना बैंकले खोजे । परिणामस्वरूप महँगो स्वाप रेसियोको अडान कायमै राखे ।

यता सिभिलले पनि मेघाको बाटो समात्यो । हिमालयन र इन्भेष्टमेन्ट बराबरीको हैसियतमा मर्ज हुन तयार भएको थिए । इन्भेष्टमेन्टले मेघालाई ९० दिएपछि हिमालयनले पनि सिभिललाई ९० दिनुपर्छ भन्ने तर्क सिभिलले अघि सार्यो ।

सिभिलले ९० माग्दा पनि हिमालयन पछि हटेन । हिमालयन बैंकको पुरानो मर्जर कमिटी भङ्ग भएको थियो । विजय बहादुर श्रेष्ठ, जितेन्द्र धिताल, राधाकृष्ण पोते संलग्न मर्जर कमिटी बन्यो ।

सिभिल बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक अमिर बोगटी, सदस्य प्रकाश तायल र बैंकका अध्यक्ष प्रतावजंग पाण्डे छलफलमा जुटे ।

असार २१ गतेपछि वार्ता घनिभूत भए । सिभिल बैंकले नाम छाड्न राजी भयो । सिभिलले नामसँगै अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत पद पनि छोड्न तयार बन्यो ।

त्यतिबेला हिमालयन बैंकले सिभिललाई ८० रुपैयाँ दिन तयार भयो । सिभिलको मर्जर कमिटी ८२.५ बाट तल झर्न मानेन । अन्तिममा सिभिलको अध्यक्ष पाण्डेले ८१ प्रस्ताव गरे, हिमालयनले समर्थन गर्यो ।

फेरि कर्मचारी समायोजनको विषयमा मतभेद भयो । सिभिल बैंकले कर्मचारीको पद र सुविधा घट्ने गरी मर्जमा नजाने जनाउँ दियो । हिमालयन बैंक पछि हट्यो ।

‘हामीलाई बाध्यता थियो, इन्भेष्टमेन्ट बैंकसँगको मर्ज भाँडिएपछि अर्को मर्जको लागि दबाब थियो, असारभित्र मर्जमा जानेले मात्र सुविधा पाउने अवस्था आयो, हिमालयन बैंकका एक जना सञ्चालकले भने, ‘सिभिल बैंकले नाम, अध्यक्ष, सञ्चालक, सीईओ सबै छोडेपछि हामीले पनि केही छोड्नुपर्छ भनेर समझदारीमा पुगेका हौ ।’

सिभिल प्राप्तिपछि हिमालयन बैंकको विजनेश सिनर्जी प्राप्त हुने हिमालयन बैंकका सञ्चालक जितेन्द्र धितालले बताए ।

‘मर्जको प्रक्रिया सुरू भएको छ, डीडीए हुन्छ, राष्ट्र बैंकको निर्देशन, मापदण्ड पालना गर्दै अगाडि जाने हो’ धितालले भने–‘विजनेश डिसिजन गर्दा अहिले वर्तमान मात्र होइन, भविष्यलाई पनि हेरिएको हुन्छ ।’

दुई वर्ष अघिदेखि यसरी सुरू भएको मर्जर प्रयासले बुधबारबाट मूर्त रुप लिएको छ । दुई बैंकबीच मर्जर बारे गाभ्ने तथा गाभिने औपचारिक सम्झौता भएको छ ।

आफूहरु राष्ट्र बैंकको नीतिको पालना गर्दै अगाडि बढेको र मर्ज प्रक्रिया पनि सफल हुनेमा विश्वस्त रहेको सिभिल बैंकका मर्जर कमिटिका संयोजक अमिर बोगटीले बताए ।

‘हामीले सेयरधनी र कर्मचारीलाई मर्का नपर्ने गरी काम गर्दै आएका छौं’ उनले भने, ‘भविष्यमा हुने सम्भावित विवादको विषय टुङ्गिसकेकोले अब समस्या नहोला ।’

Share News