
फाइल फोटो
काठमाडौं । सुन्दर यातायातले नेपालमा नै सवारी उत्पादन गर्ने गरी एसेम्बलिङ उद्योग बनाउने तयारी थालेको छ । कम्पनीले रुपेन्देहीको सैनामैना नगरपालिकामा चार पाँग्रे विद्युतीय सवारी साधनको एसेम्बलिङ उद्योग बनाउने तयारी गरेको हो । अहिले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पारेर फिल्डिङको काम भैरहेको बताएको छ ।
सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाका अनुसार सुन्दरको भगिनी कम्पनी सुन्दर अटो इञ्जिनियरिङमार्फत् उक्त प्लान्ट रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा सञ्चालन हुनेछ । प्लान्ट सञ्चालनका लागि नगरपालिकाले १२ बिघा जग्गा उपलब्ध गराइसकेको छ । उक्त जग्गामा नै हाल अस्थायी भौतिक संरचना निर्माणको तयारी भएको उनको भनाइ छ ।
अब सवारी उत्पादन सुन्दर अटो इञ्जिनियरिङअन्तर्गत हुनेछ भने ब्रिक्री–वितरण सुन्दर ट्रेडर्सले गर्ने सम्झौता भएको छ । मध्यस्थकर्ताको भूमिका सुन्दर यातायातले गर्ने थापाले जानकारी दिए ।
‘प्लान्टबाट पहिलो वर्ष तीन सय वटा सवारी उत्पादन गर्ने योजना छ, त्यसपछि आवश्यकताअनुसार हरेक वर्ष उत्पादन बढाउँदै लैजान्छौं,’ उनले भने ।
प्लान्टमा ४९ प्रतिशत सुन्दर अटो इञ्जिनियरिङ र ५१ प्रतिशत चिनियाँ कम्पनीको लगानी हुने उनले बताए । प्लान्ट निर्माण भएपछि थप तीन सय रोजगारी सिर्जना हुने उनले बताए । कोरोना भाइरस महामारीका कारण प्लान्ट निर्माणमा ढिलाई भएको कम्पनीका अध्यक्ष थापाले बताए ।
‘कोभिडका कारण हामीले तयार पारेको डिपीआर परिवर्तन गरेर नयाँ बनाउँदा केही ढिलाई भयो, बीचमा देशमा विदेशी मुद्रा सञ्चितीमा कमी भएको भन्दै नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्दा उपकरण ल्याउन ढिलाई भयो’, उनले भने ।
उनले २ वर्षअघि तयार पारिएको डिपीआरमा केही नयाँ कुरा थप गर्नुपर्ने चिनियाँ कम्पनीको सुझाव अनुसार नयाँ डिपीआर तयार बनाइएको बताए ।
‘हाम्रो योजना अनुसार नै ६ महिनाभन्दा बढी समय लगाएर डिपीआर तयार पारेका थियौँ, कोरोनाका कारण प्लान्ट निर्माण गर्न सकिएन’, उनले भने, ‘कोरोनापछि अवस्था सामान्य हुँदा पहिला बनाएको डिपीआर पुरानो भयो, धेरै परिवर्तन गर्नुपर्ने जस्ता मागहरु चिनियाँ कम्पनीहरुबाट आउन थालेपनि नयाँ डिपीआर तयार बनाउन समय लाग्यो, योजना अनुसार निर्माणमा ढिलाई हुँदा निर्माण खर्चसँगै समय लम्बिदा खर्च बढ्यो ।’
पछिल्लो समय आयातमा केही सहज भएपछि आफुहरुले चिनियाँ कम्पनीलाई आवश्यक उपकरण ल्याउन पत्र पठाइसकेको उनको भनाइ छ । ‘केही उपकरण आइसकेका छन्, बाँकी उपकरण आएपछि छिट्टै एसेम्बलिङ उद्योग सञ्चालनमा ल्याउँछाँै,’ उनले भने ।
छुट कार्यान्वयनमा आएपछि उपकरण ल्याइने
सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै नेपालमा नै सवारी साधन एसेम्बलिङ गर्ने उद्योगलाई आवश्यक उपकरण आयातमा घुट दिने घोषणा गरेको थियो । सरकारले गरेको घोषणा अनुसार उपकरण आयातमा सरकारको निर्णयको पखाईमा बसेको अध्यक्ष थापाले बताए ।
साउन १ गतेबाट सरकारले ल्याएको बजेटको घोषणा अनुसार कार्यान्वयन हुने भन्दै साउनदेखि प्लान्टका लागि आवश्यक पर्ने ट्रष्ट निर्माण गर्ने उनको भनाइ छ ।
‘पुरानो डिपीआरमा स्थाई भौतिक संरचना निर्माण गर्ने थियो, अहिले नयाँ डिपीआरमा ट्रष्ट (अस्थाई संरचना) निर्माण गर्ने भनिएको छ, फलामको ट्रष्ट निर्माण गर्न लामो समय लाग्दैन, अबको तीन महिनाभित्र प्लान्ट सञ्चालनमा ल्याउने हाम्रो योजना छ’, उनले भने ।
ट्रष्ट निर्माणको जिम्मा दिएको कम्पनीले अबको तीन महिनाभित्र सम्पूर्ण काम सक्ने बताएको छ । भौतिक संरचना निर्माण सकिनासाथ उपकरण जडान गरेर प्लान्ट सञ्चालनमा ल्याउने उनको भनाइ छ ।
कम्पनीले प्लान्टका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि ३३ करोड रुपैयाँ खर्च गर्नेछ । यस्तै, आवश्यक उपकरण चिनियाँ कम्पनी चिनियाँ कम्पनी सिचुवाङ गुहाङ अटोमोबाइल्स र बिएके चाइनिज कम्पनीले ल्याउनेछ ।
आवश्यक उपकरण चिनियाँ कम्पनीले नै ल्याउने गरी सम्झौता भएको भन्दै प्लान्ट सञ्चालनका लागि यति नै रकम खर्च हुन्छ भन्ने अनुमान गर्न नसकिने उनले बताए ।