काठमाडौं । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले माइक्रोफाइनान्सहरु माइक्रोकै ठाउँमा रहनुपर्ने बताएका छन् । मंगलबार लघुवित्त संस्थाका छाता संगठन माइक्रोफाइनान्स एशोसिएशन अफ नेपालले आगामी मौद्रिक नीतिको बारेमा छलफल कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।
तरलताको अभाव भएको समयमा लघुवित्तहरुले कर्जा विस्तारभन्दा पनि गुणस्तर सुधारमा बढी जोड दिन आवश्यक रहेको उनले बताए ।
‘पछिल्लो समय लघुवित्तहरुले न त कर्मचारी मोनिटरिङ गर्न सकेका छन्, न त ग्राहक नै, त्यसैले माइक्रोका जुन संस्था छन्, माइक्रो नै भएर बस्नुस्, म्याक्रो हुन खोजेर काम छैन, माइक्रोमै बसेर गुणस्तर सुधार गर्नुस्, अहिले एकदमै राम्रो अवसर छ,’ उनले भने ।
राष्ट्र बैंकको प्रतिनिधिको रुपमा कार्यक्रममा बोल्दै उनले ग्राहकले जुन कामको लागि कर्जा लिएका छन्, त्यसमा प्रयोग भएको छ की छैन भनेर मोनिटरिङ गर्न समेत उनले सञ्चालित सबै लघुवित्तहरुलाई आग्रह गरे । लघुवित्तहरुमा अहिले गुणस्तर नभएको, कर्मचारीहरु सक्षम नभएका, मापदण्डहरु पालना नगरेका जस्ता समस्याहरु छन् ।
‘लघुवित्तहरुले कर्जा विस्तार गर्न पाएनौं, क्षेत्र विस्तार गर्न पाएनौं, कार्य क्षेत्र विस्तार गर्न पाएनौं भनेर चिन्ता व्यक्त गर्ने लघुवित्तहरुले यो समय अवसरको रुपमा सदुपयोग गर्न सक्नेछन्, तलरता छैन, विस्तार नगर्ने, तर गुणस्तर सुधार गर्ने’ उनले बताए ।
अहिलेको आर्थिक अवस्थाको बारेमा अवगत गराउँदै उनले हाल बाह्य क्षेत्रमा दवाव रहेको, विदेशी विनिमय सञ्चिति घट्दै गएको बताए । तर बैशाखको भन्दा जेठ महिनामा भने सुधार हुँदै गएको र आउने दिनमा यसले निरन्तरतामा पाउनेमा उनी आशावादी छन् ।
पछिल्लो समय विदेशी विनिमय सञ्चितिमा कमी आएको छ । त्यसैको कारणले बैंकिङ्ग प्रणालीमा तरलताको अभाव भएकोले यसमा बैकिङ प्रणालीकै रिसोर्स प्रयोग गर्ने माइक्रोफाइनान्स पनि यसबाट अछुतो रहन सकेको छैन । यो अवस्थामा समय अनुसार चल्न लघुवित्तहरुलाई राष्ट्र बैंकको आग्रह छ । साथै, शोधानान्तर घाटाले गर्दा राष्ट्र बैंकसँग भएको रिजर्भ घटेकोले तरलता अभाव भएको हो ।
राष्ट्र बैंकले अहिले पनि बैंकिङ्ग प्रणालीमा करिब साढे ३ खर्ब रुपैयाँ बराबरको तरलता प्रभाव गरिरहेको छ । त्यसले पनि नपुगेको अवस्थामा थप दिँदै गयो भने शोधानान्तर घाटा बढ्ने स्थिति रहेको छ । जुन अहिलेकै मूख्य चुनौति रहेको श्रेष्ठले बताए ।
‘अहिले माइक्रोफाइनान्सको कर्जा विस्तार प्रमुख समस्या हो की, घट्दै गएको विदेशी विनिमय सञ्चिति जोगाउने हो ?’ उनले उल्टै प्रश्न गर्दै भने, ‘हाम्रो प्राथमिकता जे हो त्यसमै फोकस हुनुपर्छ, त्यसैले यो वर्ष तरलता पाइएन, कर्जा विस्तार गर्न पाइएन भनेर गुनासो नगरिदिनुस् ।’
अर्थतन्त्रको इकोसिष्टम हुन्छ । त्यसमा अप एण्ड डाउन भइरहन्छ । पछिल्लो समय राष्ट्र बैंक बाधिएको छ । तरलता दिन चाहँदा चाहँदै पनि दिन सक्ने अवस्थामा नरहेको बताउँदै लघुवित्तहरुलाई तरलताको आश नगर्न समेत श्रेष्ठले आग्रह गरे ।
‘हिजोको दिनमा तरलता फालाफाल थियो, सजिलै पाउनु भएको थियो, त्यो बेला प्रयोग पनि गर्नु भयो, नाफा पनि लिनुभयो, तर यो पटक त्यो अवस्था छैन, आश नगर्नुस्,’ उनले थप प्रष्ट पार्दै भने ।
राष्ट्र बैंकलाई लघुवित्तको समस्याको बारेमा जानकारी हुँदा हुँदै पनि अहिले राष्ट्र बैंकले समस्या समाधान गर्न नसकेको स्वीकार गर्दै कतिपय समस्याहरु संस्था आफै सुधार गर्न लाग्नुपर्ने छ ।
राष्ट्र बैंकले झण्डै तीन दशकभन्दा बढी लघुवित्तहरुलाई प्रमोट गर्दै आएको छ । यो अवधिमा व्यापार घाटा झन् बढेकै छ । उद्यमशीलता बढेको छैन । यो अवधिमा यतिका संख्यामा रहेका लघुवित्तहरुको मिहिनेतमा प्रश्न चिन्ह लागेको समेत बताए ।
माइक्रोफाइनान्स कमर्शियल बैंकहरुभन्दा फरक रहेकोले यसलाई सोसियल बिजनेशको रुपमा लिनुपर्ने हुन्छ । तर पछिल्लो समय यसलाई नाफामूलक क्षेत्रको रुपमा लिन खोज्दा समस्या भएको डा. श्रेष्ठ बताउँछन् ।
‘लघुवित्तहरु नाफामूलक क्षेत्रको रुपमा लिन खोज्दा समस्या आएको छ, माइक्रोफाइनान्सका जति समस्या छन्, त्यो ब्यालेन्स सिटसँगसँगै सेयर मूल्यमा पनि प्रभाव भयो भने बल्ल यो क्षेत्रलाई समस्या परेछ भनेर पत्याउँछन्, त्यसपछि मात्रै पोलिसी लेभलसम्म पुग्छ,’ उनले थप प्रष्टाउँदै भने ।
साथै, बजारमा समस्या धेरै भएको र त्यसमध्ये कुनलाई बढी फोकस गर्नेमा राष्ट्र बैंक लगायत सबै वित्तीय संस्थाहरु केन्द्रित हुनुपर्ने छ ।