काठमाडौं । गत साता मंगलबार नेपाल व्यवस्थापन संघ (म्यान)ले आयोजना गरेको मौद्रिक नीतिको छलफल कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति कसिलो आउन सक्ने संकेत गरे । उनले अहिले अर्थतन्त्रमा दबाब सिर्जना भएको बताउँदै अर्थतन्त्रको माग अनुसारको मौद्रिक नीति आउने उल्लेख गरे ।
‘अनिवार्य नगद मौज्दात (सीआरआर) घटेर ३ प्रतिशतमा आइसकेको छ, वैधानिक तरलता अनुपात (एलएसआर) पनि बढाइएको छैन, पोलिसी रेट ५ बाट ७ प्रतिशत पु¥यायौं, अझै पनि विचार गर्नु पर्ने बेला आएको हो वा होइन, अर्थतन्त्रले के डिमाण्ड गरिरहेको छ, यस विषयमा हामी अध्ययन गरेर मौद्रिक नीति ल्याउने तयारीम छौं,’ उनले कार्यक्रममा भने ।
हिजो अर्थात आइतबार पनि उनले नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा मौद्रिक नीति कसिलो आउने धारणा व्यक्त गरे । ‘अहिले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा छ, अहिलेको परिस्थितिले माग गरे अनुसारको मौद्रिक नीति आउँछ, मौद्रिक नीतिले कसैलाई असर पनि गर्न सक्छ, कुनैले नाफामा कम्प्रमाइज गर्नु पर्ने अवस्था पनि आउन सक्छ तर, मौद्रिक नीति सम्पूर्ण अर्थतन्त्रको भलाइका लागि आउने विषय हो, व्यक्तिगत महाप्रसाद अधिकारीको भलाइका लागि मौद्रिक नीति आउने होइन,’ उनले भने ।
उनले पछिल्ला विभिन्न कार्यक्रममा मौद्रिक नीति कसिलो किसिमको आउने बताउँदै आएका छन् । उनले कसिलो मौद्रिक नीति कार्यान्वयनका लागि तयार हुन पनि बैंकर तथा व्यवसायीहरूलाई बताउँदै आइरहेका छन् ।
गभर्नर अधिकारीले मात्रै होइन पूर्व गभर्नरहरू, अर्थविज्ञ तथा निजी क्षेत्रका केही प्रतिनिधिहरू र बैंकरहरूले पनि मौद्रिक नीति कसिलो आउनु पर्ने बताउँदै आएका छन् । आइतबार महासंघले आयोजना गरेको कार्यक्रममै नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले ब्याजदर बढ्ने मौद्रिक नीति आउनु पर्ने धारणा राखे ।
‘अहिले बैंकहरुको औसत ब्याजदर ११.४७ छ, यो कोरोनाअघिको तुलनामा पनि कम हो, प्रिकोभिड तुलनामा जोखिम बढेको छ, बैंकको कस्टभन्दा बेसरेट कम छ, राष्ट्र बैंकले सो विषयमा सोच्नु पर्ने हुन्छ,’ एनएमबी बैंकका सीईओ समेत रहेका केसीले भने ।
विदेशी दातृ निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले समेत मौद्रिक नीति कसिलो ल्याउन राष्ट्र बैंकलाई सुझाव दिएको छ । आईएमएफले राष्ट्र बैंकलाई बैंकरहरुको माग पूरा गर्नतर्फ नभइ अर्थतन्त्र बचाउनतर्फ केन्द्रित हुन सुझाएको छ । आईएमएफले राष्ट्र बैंकलाई ब्याजदर बढाउन पनि सुझाव दिएको बताइएको छ ।
के हो कसिलो मौद्रिक नीति ?
विभिन्न अर्थशास्त्री, बैंक विज्ञ तथा पूर्व गभर्नरहरूले समेत कसिलो मौद्रिक नीति ल्याउन सुझाव दिइरहेको बेला सर्वसाधारणहरूलाई भने ‘कसिलो’ शब्दमै अन्योलता देखिएको छ । कसिलो मौद्रिक नीति ल्याउनु पर्ने सुझावले कस्तो खालको मौद्रिक नीति आउँछ भन्ने अड्कलबाजी सर्वसाधाधरण मात्रै होइन उद्योग व्यवसायीमा पनि हुन थालेको छ ।
नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहाल बजारमा पैसा सप्लाईमा कडाइ गर्नु नै कसिलो मौद्रिक नीति भएको धारणा राख्छन् । उनका अनुसार कसिलो मौद्रिक नीति ल्याउँदा बजारमा पैसाको अभाव हुने स्थिति आउँछ ।
‘कसिलो मौद्रिक नीति भनेको बजारमा पैसा फालाफाल नहुनु हो, खुकुलो भनेको बजारमा पैसा धेरै पठाउने हो, बजारमा पैसा पठाउन कडाइ गर्नु नै कसिलो मौद्रिक नीति हो,’ उनले भने ।
यस्तै, सिडी रेसियो घटाएर, नेट एलडी रेसियो बढाएर, सीआरआर र एसएलआर बढाएर र सबैभन्दा महत्वपूर्ण विषय ब्याजदर बढाएर लगायतका मौद्रिक उपकरणहरू प्रयोग गरेर कसिलो मौद्रिक नीति बनाइने उनी बताउँछन् ।
यस्तै, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री व्यक्तिको खल्तिमा पैसाको अभाव हुने खालको नीति ल्याउनु नै कसिलो मौद्रिक नीति भएको धारणा राख्छन् ।
‘कुनै मानिसले खल्तिमा चाउचाउ खानको लागि पैसा राखेको छ भने त्यो अब बैंकिङ च्यानलमा हुन्छ, कसिलो मौद्रिक नीतिले ब्याजदर बढाउँछ, अर्थतन्त्रलाई सहयोग पुर्याउनका लागि आयातमा कडाइ गर्छ, यसले निक्षेपमा वृद्धि हुन्छ र बैंकिङ प्रणालीमा निक्षेप बढ्छ,’ उनले भने ।
यस्तै, उनले पनि कसिलो मौद्रिक नीति आयो भने सीआरआर र वैधानिक तरलता अनुपात बढ्न सक्ने बताए । उनले अहिले भएको ७ प्रतिशतको बैंकदर कसिलो मौद्रिक नीति आएमा बढ्न सक्ने पनि धारणा राखे ।
वाह्य क्षेत्रमा दबाब पर्दै गएकोले त्यसको सन्तुलन, मुद्रास्फीति नियन्त्रण र वित्तीय स्थायित्वका लागि पनि कसिलो मौद्रिक नीति आवश्यक भएको उनको तर्क छ ।
हुन त यसअघि नै नेपाल राष्ट्र बैंकले बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर मर्जर तथा एक्विजिसनमा दिइरहेको सुविधा कटौति गर्ने सँगै पुनर्कर्जाका सुविधा पनि विस्तारै घटाउँदै लैजाने बताइसकेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई दिँदै आएको सेवा सुविधाहरू कटौति गरेर केही नीतिगत कडाइ गर्न सक्ने बुझाइ धेरैको छ । त्यसैले पनि बैंकर, उद्योगी व्यवसायी तथा सेयर लगानीकर्ताले चाहे जस्तो मौद्रिक नीति नहुने विश्लेषण पनि गर्न थालिएको छ ।
कस्तो पर्छ इप्याक्ट ?
नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीति ल्याएपछि त्यसको प्रभाव बजारमा अवश्य नै पर्छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् गरेको ४/१२ करोड रूपैयाँको सेयर धितो कर्जाको व्यवस्थाले सेयर बजार र ९० प्रतिशतको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) को व्यवस्थाले तरलतामा असर परेको धेरैको बुझाइ छ ।
अहिले पनि ती दुवै व्यवस्थालाई खारेज गर्न विभिन्न निकायबाट राष्ट्र बैंकमाथि दबाब छ । बैंकविज्ञ तथा अर्थशास्त्रीहरूले समेत कसिलो मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाएको बेला कसिलो मौद्रिक नीतिको प्रभाव भने के कस्तो पर्छ भन्ने विषयलाई प्राथमिकताका साथ हेरिएको छ ।
पूर्वबैंकर दाहाल कसिलो मौद्रिक नीति आएमा बजारमा पैसाको अभाव हुने र बैंकको ब्याजदर पनि बढ्ने बताउँछन् । कसिलो मौद्रिक नीतिले सर्वसाधारणले बैंकबाट ऋण नपाउनुका साथै महँगो ब्याजदरमा ऋण लिन सक्ने क्षमतामा ह्रास आउन सक्ने बताउँछन् । उनले बैंकको ब्याजदर बढेपछि वस्तुको मूल्य पनि बढ्ने र सजिलै तथा सस्तोमा वस्तु खरिद गर्न सक्ने उपभोक्ताको क्षमता घट्ने बताए ।
‘ब्याजदर बढेपछि वस्तुको मूल्यवृद्धि हुन्छ, ब्याजदर बढेपछि आयातमा केही संकुचन आउँछ, आयात कम भएपछि भएको वस्तुको मूल्य बढ्छ, महँगो मूल्य सर्वसाधारणले खरिद गर्न सक्दैनन् तर, विस्तारै माग कम भएपछि भने मूल्य घट्न थाल्छ,’ उनले भने ।
यस्तै, पूर्व गभर्नर क्षेत्रीले वैधानिक तरलता अनुपात र अनिवार्य नगद मौज्दात बढाएमा बजारमा तरलता प्रवाह थप घट्ने बताए । राष्ट्र बैंकले बैंकदर बढाउँदा त्यसको असर ब्याजदरमा पनि पर्ने र केही समय असाध्यै मूल्यवृद्धि हुन सक्ने उनको धारणा छ ।
यद्यपि, अर्थतन्त्रलाई सुधारको दिशामा लिनको लागि कसिलो मौद्रिक नीति नै आवश्यक भएको उनको राय छ । ‘अहिले पनि महँगी बढिरहेको छ, शोधनान्तर घाटा उच्च हुँदै गएको छ भने विदेशी मुद्राको सञ्चितिमा चाप पर्दै गएको छ, यो अवस्थामा बजारमा मनि सप्लाइ रोक्नु पर्छ, कर्जा लगानीमा कडाइ गर्नुपर्छ,केही समय मूल्यवृद्धि भएपनि पछि लयमा फर्किँन्छ,’ उनले भने ।
नेपाल राष्ट्र बैंकका सह—प्रवक्ता नारायण पोखरेल भने राष्ट्र बैंक ब्याजदर पनि नबढ्ने र अहिलेको अवस्थालाई सम्बोधन गर्ने खालको मौद्रिक नीति आउने बताउँछन् ।
‘राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउँदैन तर, सहज पार्नु पर्ने क्षेत्रलाई केही सहज गरिन्छ, कडाइ गर्नु पर्ने क्षेत्रमा कडाइ पनि हुन्छ, सबै सिद्धान्तहरूको मिसावटमआ मौद्रिक नीति आउँछ,’ उनले भने ।
यस्तै, उनले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न मौद्रिक नीतिले ध्यान दिने बताए । उनका अनुसार अहिले तत्काल राष्ट्र बैंकले चलाउने मौद्रिक औजाररू बैंकदर, सिआरआर, एसएलएफ, एलडी रेसियो लगायत हुन् । यिनै मौद्रिक औजारहरूको अध्ययन गरेर मौद्रिक नीति आउने उनी बताउँछन्।