काठमाडौं । साझा यातायातले आजदेखि काठमाडौंमा बिजुली बस सञ्चालन गर्ने भएको छ । चीनबाट पहिलो चरणमा काठमाडौं आइपुगेका तीन थान बसबाट साझाले आजदेखि सञ्चालनमा ल्याउन लागेको हो ।
चीनबाट आएका उक्त बसको सडक भार परीक्षण, नम्बर प्लेट जडान तथा रुट निर्धारण गरेर सञ्चालनमा ल्याउन लागिएको हो ।
साझाको पुल्चोकस्थित कार्यालबाट उक्त तीन थान बसले बिहीबार ११ बजेदेखि औपचारिक रुपमा सेवा सुभारम्भ गर्ने साझाका सञ्चालक समितिका सदस्य भुषण तुलाधरले जानकारी दिए ।
उनका अनुसार तीन वटा बसमध्ये दुई वटा रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुटमा चल्नेछ । यस्तै, अर्काे बस लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा चल्नेछन् ।
संस्थाले २०७७ को असोज २२ गते चीनको सिएचटीसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो ।
सीएचटीसीएचओसँग साझाले प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा किनेको हो । साझाले ४० वटा बसमा करिब ६१ करोड खर्चिंदै छ । अहिले ९ मिटर लामो बस किनिएको हो ।
सोही सम्झौता अनुसार साझाले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्नका लागि पहिलो चरणमा ३ वटा विद्युतीय बस ल्याएर परीक्षण गरेपछि सञ्चालन गर्न लागेको हो । अब बाँकी ३७ वटा बस विस्तार काठमाडौं ल्याईने जनाईएको छ ।
उक्त सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ । सम्झौता अनुसार संस्थाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ प्रदान गर्नेछ ।
संस्थाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र अनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’ हरु मिलेको र कम मूल्य कबोल गरेको सो कम्पनीको प्रस्ताव स्वीकृत गरेको तुलाधरले बताए ।
२६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्ने भनिएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिदको निर्णय गरेको थियो । सरकारले विसं २०७६ असारमा बस खरिदको जिम्मेवारी साझालाई दिइने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरिदका लागि संस्थाको तीन अर्बको शेयर खरिद गरेको थियो । संस्थाले रकम पाएको महिनौँसम्म पनि खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन ।
पछि संस्थाले स्पेसिफिकेसनभन्दा फरक बस किन्न खोजेको पाइएको भन्दै रकम फिर्ता गरेको थियो । त्यसपछि पुनः बस खरिद गर्दा कुन प्रक्रियाबाट खरिद गर्ने भनी निर्णय हुन नसक्दा लामो समयसम्म बस खरिदमा अन्योल रहेको थियो । लामो छलफल पछि पुनः साझालाई नै खरिदको जिम्मेवारी दिइने निर्णय भएको थियो ।
तीन वर्ष पहिले नै वाग्मती सरकार, काठमाडौं र ललितपुर महानगरपालिकाले साझा यातायातमार्फत बस खरिद गर्ने गरी संस्थाको शेयर खरिद गरेका थिए ।