साझाले विद्युतीय गाडीमा महिला चालकलाई प्राथमिकता दिने

  २०७९ असार २२ गते १३:५५     विकासन्युज

काठमाडौं । साझा यातायातले विद्युतीय गाडी सञ्चालनका लागि महिला चालक तथा सहचालकलाई प्राथमिकता दिने जनाएको छ ।
साझाले बुधबार एक सूचना जारी गर्दै सञ्चालनको तयारीमा रहेको विद्युतीय बसमा महिला चालक तथा सहचालकलाई प्राथमिकतामा राखिने जनाएको हो ।

तयारी अनुसार साझाले पहिलो चरणमा ४ जना महिला चालक र ५ जना महिला सहचालकलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षा प्रोटोकलबारे तालिम समेत दिएको छ ।

पहिलो चरणमा चीनबाट काठमाडौं आइपुगेको तीन थान विद्युतीय बसको सडक क्षमता परीक्षण सकिएको साझाले जनाएको छ ।
यातायात व्यवस्था विभाग र साझा यातायातका प्रतिनिधिले जेठ दोस्रो सातादेखि उक्त विद्युतीय बसको सडक क्षमता परीक्षण सम्पन्न गरेका हुन ।

बसमा सिमेन्टका बोरादेखि मान्छे (यात्रु) राखेर सडक क्षमता परीक्षण गरिएको थियो । परीक्षणका क्रममा बसको क्षमतामा कुनै समस्या नदेखिएको जनाइएको छ ।

साझाले आवश्यक तयारी सकेर छिट्टै काठमाडौंका शहरमा विद्युतीय बस सञ्चालन गर्ने जनाएको छ । साझाले हाल सञ्चालन गर्दै आएका बसमा समेत महिला चालक तथा महिला सहचालकलाई प्राथमिकतामा राख्ने गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.