एभरेष्ट बैंकमा सुदेशको संकेत : खराब कर्जा कम गर्नेमा टप, भन्छन्– सोचेभन्दा राम्रो काम गरेँ

<p>काठमाडौं । भारतीय पञ्जाब नेश्नल बैंकको २० प्रतिशत स्वामित्व रहेको एभरेष्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुने पहिलो नेपाली बैंकर हुन् सुदेश खालिङ । नेपाली बैंकर पहिलो पटक एभरेष्ट बैंकको सीईओमा नियुक्त भएसँगै बैंक तथा वित्तीय क्षेत्रसँगै बैंकका सेयरधनीहरूले पनि सीईओ खालिङको पफर्मेन्सलाई नियाल्न खोजिरहेका छन् । मध्यम किसिमको बैंकको ‘पोर्टफोलियो’ निर्माण गरेको एभरेष्ट बैंकले [&hellip;]</p>

काठमाडौं । भारतीय पञ्जाब नेश्नल बैंकको २० प्रतिशत स्वामित्व रहेको एभरेष्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुने पहिलो नेपाली बैंकर हुन् सुदेश खालिङ । नेपाली बैंकर पहिलो पटक एभरेष्ट बैंकको सीईओमा नियुक्त भएसँगै बैंक तथा वित्तीय क्षेत्रसँगै बैंकका सेयरधनीहरूले पनि सीईओ खालिङको पफर्मेन्सलाई नियाल्न खोजिरहेका छन् ।

मध्यम किसिमको बैंकको ‘पोर्टफोलियो’ निर्माण गरेको एभरेष्ट बैंकले सुदेश खालिङको प्रवेशले कस्तो रूपले लग्ला, बिजनेसमा कत्तिको फड्को मार्ला, सेवाग्राहीको सेवामा कत्तिको तदारूकता देला भन्ने लगायत विषय धेरैले चासोको रूपमा हेरेका छन् ।

गत असोजमा बैंकको सीईओको रूपमा काम थालेका खालिङले यसअघि पनि राम्रो बैंकरको रूपमा आफुलाई चिनाइसकेका छन् । तीन दशक बढीको बैंकिङ अनुभव भएका उनले लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरिसकेका छन् भने विभिन्न बैंक तथा वित्तीय संस्थामा पनि काम गरेको उनीसँग अनुभव छ ।

गत असोजमा बैंकको सीईओका कार्यभार सम्हालेका उनले एभरेष्ट बैंकमा ६ महिना अर्थात दुई त्रैमास काम गरिसकेका छन् । उनी बैंकमा गइसकेपछि दुई त्रैमास (दोस्रो र तेस्रो) को वित्तीय विवरण प्रकाशित गरिसकेका छन् भने अब अन्तिम अर्थात चौथो त्रैमासको वित्तीय विवरण पनि उत्साहजनक ल्याउने तयारीका साथ काम गरिरहेका छन् ।

वित्तीय सूचकमा सुधार

विश्व महामारीको समयमा अधिकांश बैंकहरूको नाफा घट्यो । बैंकिङ प्रणालीमा तरलताको समस्याकै कारण अधिकांश बैंकले विजनेस बढाउन पनि पाएनन् । बिजनेस नबढ्दा बैंकहरूको नाफा पनि खम्चियो । तर, एभरेष्ट बैंकमा खालिङको प्रवेशपछि भने प्रत्येक त्रैमासमा नाफा बढ्दै गएको तथ्याकले देखाउँछ ।

बैंकले चालु आर्थिक वर्षमा व्यापार विस्तारमा आक्रामक बन्ने रणनीतिका साथ काम गरिहरेको छ । खालिङ बैंकमा आएपछि नै चालु आर्थिक वर्षमा उपत्यका र उपत्यका बाहिरका ठाउँहरू गरी १२ वटा शाखा विस्तार भएका छन् । हाल बैंकको १२६ वटा शाखा पुगेका छन् ।

सीईओ खालिङ बैंकमा प्रवेश हुँदा बैंकको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुने चरणमा थियो । त्यतिखेर अर्थात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्ट बैंकको कुल निक्षेप १ खर्ब ६३ अर्ब ९४ करोड १७ लाख २० हजार, कर्जा लगानी १ खर्ब ३५ अर्ब ५१ करोड ६६ लाख ४६ हजार थियो ।

यस्तै, बैंकले पहिलो त्रैमासमा कुल ५७ करोड ८८ लाख ७३ हजार रूपैयाँ नाफा र ३ अर्ब २ करोड १३ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खराब कर्जा ०.१३ प्रतिशत, आधार दर ७ प्रतिशत, सीडी रेसियो ८६.३९ प्रतिशत, कष्ट अफ फण्ड ४.९७ प्रतिशत र प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४ पैसा थियो ।

तर, तेस्रो त्रैमासमा आइपुग्दा भने बैंकको हरेक सूचकमा सुधार गरेको देखिएको छ । बैंक खराब कर्जा घटाउनेमा दोस्रो नम्बरमा छ । यसले पनि एभरेष्ट बैंकले कर्जा लगानी र असुलीमा कत्तिको सजग बनेको छ भन्ने विषय प्रष्ट पार्छ । राम्रो बिजनेस गर्ने बैंकको रूपमा चिनिएका बैंकहरूलाई पछि पार्दै खराब कर्जामा टप बन्नु एभरेष्ट बैंकको सफलता हो ।

यस्तै, नाफामा पनि एभरेष्ट बैंक पहिलेको भन्दा अब्बल नै देखिएको छ । बैंकले तेस्रो त्रैमासमा मात्रै ६७ करोड ७४ लाख नाफा गरेको छ । तर, तेस्रो त्रैमाससम्ममा भने यस बैंकले १ अर्ब ५१ करोड ६३ लाख २४ हजार रूपैयाँ नाफा गरेको वित्तीय विवरणले देखाएको छ । बैंकले दोस्रो त्रैमासमा २६ करोड रूपैयाँ नाफा गरेको थियो । तेस्रो त्रैमासमा बैंककको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड ६१ लाख ६८ हजार रूपैयाँ छ । यसले पनि बैंकले प्रत्येक त्रैमासमा नाफा बढाउँदै गएको देखिन्छ ।

तेस्रो त्रैमाससम्म यस बैंकले निक्षेप १ खर्ब ६१ अर्ब ७९ करोड ६४ लाख ३५ हजार, १ खर्ब ४३ अर्ब २८ करोड ४६ लाख ४५ हजार रुपैयाँ कर्जा लगानी गरेको देखिएको छ भने खराब कर्जा ०.२६ प्रतिशत कायम गरेको छ ।

यस्तै, तेस्रो त्रैमाससम्म बैंकको आधार दर ८.३६ प्रतिशत, सीडी रेसियो– ९१.७८ प्रतिशत, कष्ट अफ फण्ड– ६.८२ प्रतिशत, प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४५ पैसा रहेको छ ।

सीईओ खालिङ भन्छन् : सोचेभन्दा राम्रो काम गरेँ

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ आफुले सोचेभन्दा राम्रो काम गरेको बताउँछन् । बैंकमा आफु आएपछि धेरै सुधार भएको उनको भनाइ छ ।

‘बैंकमा मैले सोचेको भन्दा राम्रो काम भएको छ, दुई वर्ष अघि बैंकको वित्तीय विवरण जुन किसिमको थियो त्यो भन्दा धेरै सुधार भएको छ, कर्जाको स्तरमा ह्रासमा आउन दिएका छैनौं, एनपीएल पनि सबै बैंकको भन्दा कम छ,’वित्तीय सुचकहरू सकारात्मक छन्, चौथो त्रैमासको वित्तीय विवरण अझै राम्रो आउने हाम्रो आशा छ, सोही अनुसार काम पनि भइरहेको छ,’ सीईओ खालिङले विकासन्युजसँग भने ।

उनले बैंकिङ प्रणालीमा तरलताको समस्याको कारणले धेरै बैंकहरुलाई समस्या भएको भएपनि स्थितिमा एभरेष्ट बैंकले विजनेस ग्रोथ राम्रो गरेको उनको भनाइ छ ।

उनले चालु आर्थिक वर्षमा १५ वटा शाखाहरू विस्तार गर्ने रणनीति रहेकोमा १२ वटा स्थापना भइसकेको र ३ वटा अब छिट्टै हुने बताए । उनले बैंकिङ क्षेत्रको औसत विजनेस ग्रोथभन्दा एभरेष्ट बैंकको राम्रो रहेको बताए ।

Share News