काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै अतिआवश्यक बाहेकका वस्तुको आयातमा गरेको कडाइको असर राजश्वमा देखिन थालेको छ ।
यसअघि गत माघ र फागुनमा २ पटक परिपत्र जारी गर्दै विभिन्न ४७ प्रकारको हार्माेनिक कोड भएका वस्तुको आयातमा कडाइ गरेको बैंकले पछिल्लो समय अतिआवश्यक बाहेकका वस्तुको एलसी नै बन्द गरेको छ ।
बैंकले गत माघ २६ गते २७ र माघ ५ गते २० वस्तु गरी ४७ वटा होर्मोनिक (एचएस) कोडबाट एलसी खोल्दा ६ वस्तुमा ५० प्रतिशत र ४१ वस्तुमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो ।
यस्तै, गत चैत महिनामा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर अतिआवश्यक बाहेकका वस्तुको आयातमा एलसी नखोल्न निर्देशन नै दिएको थियो । केन्द्रीय बैंकको निर्देशनपश्चात बैंकले एलसी खोल्न बन्द गरिसकेका छन् ।
गत माघ र फागुन महिनामा आयातमा खासै असर नदेखिए पनि चैत महिनामा असर देखिएको छ । राष्ट्र बैंकले गरेको नीतिगत परिवर्तनको असर देखिन थालेको हो ।
भन्सार विभागका अधिकारीहरू बैंकले कडाइ गरेको वस्तुको आयातमा कमी आउँदा राजश्व संकलनमा कमी आएको बताउँछन् । पछिल्लो समय रुस युक्रेन युद्धका कारण अधिकाशं आयातित वस्तुको मूल्यमा वृद्धि हुँदा आयातमा असर नदेखिएको उनीहरूको भनाइ छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत महिनामा एक खर्ब ५७ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ बराबरको आयात भएको छ । गत फागुन महिनामा एक खर्ब ६१ अर्ब २७ करोड रुपैयाँ बढीको आयात भएको थियो । फागुन महिनाको तुलनामा चैत महिनामा मात्रै ३ खर्ब ३३ करोड रुपैयाँले आयातमा कमी आएको छ ।
बैंकले कडाइ गरेपछि आयातसँगै राजश्व संकलनमा समेत कमी आएको छ । गत फागुन महिनाको तुलनामा चैत महिनामा १ अर्ब बढी राजश्व संकलनमा कमी आएको छ ।
फागुन महिनामा मात्रै ३९ अर्ब ३३ करोड रुपैयाँ बराबरको राजश्व संकलन भएकोमा चैत महिनामा ३८ अर्ब २४ करोड ६० लाख ६५ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको छ ।
गत महिनाको तुलनामा चैत महिनामा एक अर्ब ८ करोड ४१ लाख २१ हजार रुपैयाँले राजश्व संकलनमा कमी आएको हो ।
गत माघ महिनामा ३६ अर्ब ७ करोड र गत पुस महिनामा ४० अर्ब २७ करोड रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो ।