अर्थतन्त्रमा बौद्धिक हस्तक्षेप आवश्यक रहेको अर्थविद्को धारणा, अर्थमन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नहुँदा समस्या

<p>काठमाडौं । देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज राजधानीमा आयोजना गरेको अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरु शीर्षकको कार्यक्रममा बोल्दै वक्ताहरुले समयमा समाधानको पहल नगरे नेपालको अथतन्त्र श्रीलंकाको अवस्थामा पुग्ने चेतवानी समेत दिए । कार्यक्रममा बोल्दै पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष [&hellip;]</p>

काठमाडौं । देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज राजधानीमा आयोजना गरेको अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरु शीर्षकको कार्यक्रममा बोल्दै वक्ताहरुले समयमा समाधानको पहल नगरे नेपालको अथतन्त्र श्रीलंकाको अवस्थामा पुग्ने चेतवानी समेत दिए ।

कार्यक्रममा बोल्दै पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रवहादुर क्षेत्रीले आर्थिक विकासको वातावरण बनाउन पार्टीहरु गम्भीर नभएको बताए ।

बेरुजुको मात्रा वढेको, सुशासन कायम हुन नसकेको, पूँजीगत खर्च नबढेको बताउँदै क्षेत्रीले अर्थमन्त्रालय र राष्ट्रबैंकबीच समन्वय हुनुपर्ने बताए । कृषी क्षेत्रमा उत्पादकत्व बढाउनको लागि अनुदान किसानको हातमा पुग्नुपर्ने समेत उनको सुझाव छ ।

यस्तै, पूर्व अर्थसचिव रामेश्वर खनालले अर्थमन्त्रालय र राष्ट्रबैंकबीच समन्वय नहुँदा पछिल्लो समय समस्या आएको बताए । बैदेशिक कर्जाले शुरु गरिएका आयोजनालाई समयमा नै सम्पन्न गर्नुपर्ने बताउँदै खनालले उत्पादनशील क्षमता बढाउन र चालु खर्चमा सन्तुलन ल्याउनुपर्नेमा जोड दिए ।

यसैगरी राष्ट्रबैंकका पूर्व गभर्नर डा. तिलक रावलले राम्रोसँग काम गरिरहेका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर बर्तमान सरकारले गलत गरेको बताए । राज्यले नै तस्करीलाई प्रोत्साहन गरेको आरोप लगाउँदै डा. रावलले विलासिताका सामान आयातलाई रोकेर निर्यात बढाउनुपर्ने बताए ।

यस्तै, परिषद्का अध्यक्ष तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले समाजवादी अर्थतन्त्र निर्माणका लागि पार्टी भन्दा माथि उठेर बौद्धिक हस्तक्षेप गर्नुपर्ने बताए । साथै उनले राष्ट्रिय पूँजी निर्माण गर्न, छरिएको पूँजीलाई एकीकृत वनाउन, उत्पादन वढाएर आयात घटाउन र समाजवादी अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले नेपालको अर्थतन्त्रको अहिलेको अवस्थाका बारेमा प्रस्तुती गरे ।

परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा परिषद्का उपाध्यक्ष विधान आचार्यले स्वागत, उपमहासचिव सुशील विकेको धन्यवाद ज्ञापन र सञ्चालन महासचिव इ. गजेन्द्रप्रसाद थपलियाले गरेका थिए ।

Share News